‘काजोल खातुन’ को दोश्रो संस्करण लोकार्पित

काठमाडौँ, ११ मङ्सिर । पत्रकार फूलमान वलको कथा सङ्ग्रह ‘काजोल खातुन’को परिमार्जित दोश्रो संस्करणको लोकार्पण भएको छ । यहाँ आज आयोजित कार्यक्रममा विभिन्न राष्ट्रिय दैनिकका सम्पादकहरु अन्नपूर्णपोष्टका युवराज घिमिरे, नागरिकका गुणराज लुइँटेल, कान्तिपुरका सुधीर शर्मा, नेपाल साप्ताहिकका प्रशान्त अर्याललगायतले लोकार्पण गर्नुभयो ।

माओवादी द्वन्द्वकाललाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको कथा सङ्ग्रहमा १३ कथा सङ्ग्रहित छन् । कथा सङ्ग्रहमा भएकामध्ये ‘काजोल खातुन’ विसं २०५८ सालमा चितवनको भण्डारामा भएको द्वन्द्वकालीन घटनामा मारिएकी बालिका काजोल खातुनको कथा तथा कथाकार वलले भारतको हैदरावादमा भएको एक सम्मेलनमा भाग लिन जाँदा त्यहाँ अफगानिस्तानको द्वन्द्वमा परेर शरणार्थी जीवन बिताइरहेकी उस्तै नाम गरेकी एक बालिका ‘काजोल खातुन’लाई भेटेको र सोही कुरालाई समेत मिलाएर कथा तयार पारिएको हो ।

कृतिको समीक्षा गर्दै साहित्यकार मोहन मैनालीले द्वन्द्व साहित्यका रुपमा आएका अधिकांश कथामा मायाप्रेमलाई पनि समावेश गरिएकाले कथा सङ्ग्रह पठनयोग्य भएको बताउनुभयो । समीक्षक शेखर खरेलले द्वन्द्वकालका बेलाका घटनामा आधारित यसअघिका साहित्य सिर्जना एकपक्षीय हुने गरेकोमा यो कथा सङ्ग्रहका कथा भने निष्पक्ष रहेको बताउनुभयो ।

कथाकार वलले यसअघि यही कथा सङ्ग्रह (काजोल खातुन) विसं २०६० सालमा प्रकाशनमा ल्याउनुभएको थियो जसमा नौ कथा समावेश थिए भने यसपटक चार कथा थपेर दोश्रो संस्करण प्रकाशित गरिएको हो । कथाकार वलले पुराना कथा पनि केही परिष्कार र परिमार्जित गरेर छापिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित