मायावी राजनीति र तेजहीन नेतृत्व

पेशल आचार्य
पेशल आचार्य

नेपालको राजनीति सँधै मायावी रहिआएको छ । पञ्चायत, प्रजातन्त्र र गणतन्त्र कालका ठूल्ठूला राजनीतिक परिवर्तनदेखि लिएर अनेक खाले विद्रोह र आन्दोलनले यो प्रमाणित गरिसक्यो । यस्तो लाग्छ –‘नेपालका सबै परिवर्तनहरूको परिणति भनेकै ‘खोदा पहाड निक्ला चुहा’ भएर गयो । यसै सन्दर्भमा ‘जसका लागि गोठ बनायो उसकै पुच्छर बाहिर’ भन्ने उखान झल्झली याद् आउँछ । आएर के गर्नु ? मनोताप हरण गर्ने भए पनि उखानले चुलो बल्दैन, चुलो बाल्न त अहिलेका सन्दर्भमा ग्याँसै चाहिन्छ ।

राजनीतिमा भएको देखिँदैन र देखिएको हुँदैन । अख्तियार प्रमुख लोकमानसिँह कार्की विरुद्धको महाभियोगको छिनोफानो गर्न तीन प्रमुख राजनीतिक दलहरू जतिजति ढिलो गरिरहेका छन् उतिउति यसले ‘रात रहे अग्राख पलाउँछ’ शैलीमा अनेकानेक जरामा आफूलाई फैँलाउँदै नीतिकथाकी पात्रा ‘सुरसा’को मुखझैँ बाइरहेको छ भन्ने सुनिन्छ । कतै यसले प्रमुख दलमा विभाजनको भाँजो हालेर संसदमा सो प्रस्ताव फेल भयो भने रक्तवीज भई उठी स्वतन्त्रताको बालीमा पसेको साँडे भई बेमिसाल डुक्रन सक्छ । त्यसो हुन गयो भने राजनीति आफैँ मायावी हैन, यसलाई क्रियाशील गराउनेहरूले नै मायावी बनाएका हुन् भन्ने सन्देश जनतामा जाने खतरा बढेर गयो ।

प्रवृत्तिका हिसाबले देशमा तीनथरी मानिसहरू छन् –खोले, झोले र मुख नखोले ।

पहिलोथरी ‘खोले’हरूलाई बिहानबेलुकीको खोलेकै चासो हरघडी रहन्छ । मुखमा माड लगाउनै तिनीहरू अहोरात्र चिन्तित हुन्छन् । फुटबलका ‘म्याच फिक्सिङ्’ हुन या देशको ‘राजनीतिक फिक्सिङ्’ तिनीहरूलाई पत्तोफाँट हुन्न । समाजशास्त्रीय चेतले भन्छ –‘अपवादलाई छाडेर जसको आर्थिक अवस्था न्यून हुन्छ उसका सन्तान धेरै हुन्छन् । ठीक उल्टो जसको आर्थिक स्थिति दरो हुन्छ त्यसका थोरै देखिन्छन् ।’ व्यक्ति र परिवारको अर्थको मापनले मानिसको परिवारिक सदस्यसंख्या निर्धारण हुन्छन्÷भएका छन् । कम्तिमा पनि नेपालमा त्यो देखिएको छ ।

दोस्राथरी मानिसहरू ‘झोले’ हुन्छन् । राजनीतिमा मात्र झोले कार्यकर्ता हुँदैनन् । समाज विभिन्न अवयवहरू मिलेर बन्छ । समाजिक परिवृत्तमा भएका ‘पावर एक्सरसाइज’ गर्ने हरेक क्षेत्रका टाउके र लाउकेहरूका अनन्त छिचीमिराझैँ झोले कार्यकर्ताहरू हुन्छन् । यो समूहकाहरूले भन्न जानेको र अनुकूल थेगो भनेकै ‘हुन्छ, हजुर र हवस्’ नै हो । समाजिक परिवेशमा रहेका यिनै झोलेका झुण्डले धेरैजसो क्रान्ति, वगावत् र विद्रोह गर्ने हो । ती र तीहरूमध्ये कतिपय शिक्षित र अर्धशिक्षित हुन्छन् । परिवर्तनखातिर लड्नेभिड्ने अनि जीतका जितौरीहरू यिनीहरूका कोटका खल्तीमा र घरका भँडारमा समेत भित्रिन्छन् । यो वर्ग ‘ताक परे तिवारी नत्र गोतामे’ पाइनको हुन्छ ।

राजनीतिमा दल अदलुबदलु र विचार परिवर्तन गर्न सक्ने अनि दिनलाई रात र रातलाई दिन भनाउन सक्ने मठाधीशहरूका यिर्दगिर्दमा गणेश शैलीमा घुम्ने भएकाले यो वर्ग ‘खोले’ खाँदैन अपितु फाइदाका ‘जूवाका खाल’मा च्याँखे भने थाप्छ । वासमती राइसको उदरपूर्ति गर्दै मल निस्काशन गर्नसक्ने यो वर्ग नेपालाँ धेरै ठाउँमा सुल्सुले भृत्तिमा पसेको छ जसरी चालममा ढुङ्गा, बेसारमा पिठो, मसलामा काठको भुस, घिउमा बोसो, तोरीमा कोदोझैँ नियालेमा दृश्य र माथिबाट मात्रै हेरेका खण्डमा अदृश्य जो हुन्छ । यो वर्ग आफ्ना मालिक वर्गको ‘सलामी, गुलामी र मलामी’मा हरघडी चिन्तित रहन्छ ।

सिजनअनुसारका अभिनयमा पारङ्गत यो वर्ग ठेकेदार, डफेदार, पेटी कन्ट्रयाक्टर, कटकिन्दार, होलसेलर, डिलर, ब्रोकर, वितरक र रिटेल सबैजसो चालमा आफूलाई मालिकका आज्ञाकारी अनुचर प्रमाणित गर्न सक्षम हुन्छ । कतै यो निजामति कर्मचारीका रूपमा, कतै फ्रेन्चकट दारी आकृतीय प्राध्यापकका टाइमा, कतै कालोकोटधारी वकिलका नोखमा, कतै नाफखोर बेपारीका आकृतिमा र कतै चालीसा लागेका विद्यार्थी नेताका मुखुण्डाहरू लगाएको सूत्रधारका गेटअपमा पाश्र्वमा ‘खाइदेऊ सगोत्री’ भई देखिन्छ । जो आफ्ना स्वार्थमा निर्णय गराउन सँधै हतारोमा हुन्छ र कुदेको कुदेई गर्छ । यिनीहरूले प्रायः निजी स्कुल, कलेज, फाइनान्स, सहकारी र सेयर बजारमा आफ्ना सञ्जाल विच्छ्याएका हुन्छन् । तर मार्न तरक्की गर्ने यो वर्ग बहसमा ‘अगर, मगर, लेकिन, बट, किन्तु र तर’ धेरै भन्छ । थेगो र ठेक्का लिन रौसिन्छ । राजधानी र देशैभरि गोष्ठी राजनीति गरेर यसले ‘गोष्ठी रोजगारी’ आफू र आफू मातहतका लागि दिलाउँछ ।

तेस्रो वर्ग भनेको ‘मुख नखोले’ हो । यो हिजो सत्तामा थियो । आज पनि कुनै न कुनै हिसाबले सत्तामा छ । भोलि पनि यो सत्तामै हुन्छ । ‘अङ्ग्रेज चले गए लेकिन अङ्ग्रेजी छोडकर’ भन्ने हिन्दी उखानझैँ यसले आफ्ना सन्ततीलाई भरसक हाइस्कुलको शिक्षा नै विदेशमा नभए पनि देशका नामीदामी भनिएका प्राइभेट स्कुलमा दिलाएर विदेशका हाई प्रोफाइल कलेज र विश्व विद्यालयबाट दीक्षित गराउँछ । सके त्यो पुस्ता विदेश बस्छ नसके देश फर्केर अकूत धन कमाउने डिरेक्सनमा लाग्छ । यो वर्गलाई देश संघीयतामा जाओस् कि धर्म सापेक्ष होस्, चुनाव नहोस् कि बाल मतलब हुँदैन । यो वर्गसँग शक्ति र मनी पावर दुवै अकूत हुने भएकाले चर्चित बैंक, आइएन्जिओ, हस्पिटल, एलाइट स्कुल, जल विद्युत् कम्पनी, ट्राभल एजेन्सी, मनी चेन्जर, विमान कम्पनी, तारे होटल र उच्च रिजोर्टहरू हुन्छ । यिनीहरू ‘एनी हाउ पैसा कमाऊ’ ध्याउन्नमा रहन्छन् ।

देशमा ‘खोले’ जनताले देशविरुद्ध हानीनोक्सानी गर्न सक्ने हैसियत राखेको छैन । बरू ज्यादात्तर राष्ट्रियताको भावना यिनैमा देखिन्छ । माटोलाई नमन गर्ने यो वर्ग फाटो के हो भन्ने रत्तिभर जान्दैनँ । वर्तमानको मायावी राजनीति र तेजहीन नेताहरूको कुरूप राजनीतिक रवैयाले जनतालाई वाक्कदिक्क बनाएको छ । समाज विश्लेषकहरूका शब्दमा –‘गरिब देशको सरकार कन्ट्रयाक्टर र अपोजिसन भनेको ठेकेदार हो ।’ भागशान्ति जय नेपाल गर्ने मामलामा या सेवासुविधा बढाउने मुद्दामा कतै पनि सरकार र प्रतिपक्षका नेताहरूको दन्तबझान सुनिँदैन । फाइदाकारक राजनीतिक मुद्दामा मात्रै यिनीहरू न्वारान देखिको बल लगाएर घाँटीका नसा सुक्नेगरी बाझाबाझ गर्छन् । संसारमा अहिले ‘¥याडिकल डेमोक्रेसी’का कुराहरू उठिसके । यथास्थितिको संक्रमणमै रूमल्लीरहन चाहने पुराना वैचारिक मेखाला लगाएका कौन्तेय भनाउँदाहरू नै अहिलेको नेपालको दिशाहीनता, दण्डहीनता, अनिर्णय र अकर्मण्यतालाई चुइगम तन्क्याएझैँ लम्ब्याउन चाहन्छन् किनकि अवसरका माछाहरू पनि पानी धमिलिएकै बेला बढी मर्छन् ।

बेसाएको विचारअनुकूल राजनीति पन्प्याउन प्रदेशका लागि अन्त्यहीन बखेडा गर्नेहरू नै देश बिर्सिंदै जानेहरू मध्ये हुन् । तिनीहरूलाई यो थाह छैन कि देशभित्रै प्रदेश छ अथवा देश रह्यो भने मात्र प्रदेश रहन्छ । अङ्गीकृतको गीत लेख्दै ‘फिजीकरणको भद्दा रिमिक्स’ संगीतमा नाचेर समूल नेपाल औ नेपालीको भलो कवै हुँदैन । यो वा त्यो बहानामा हिँसात्मक तबरले ‘नेपाल बन्द’ गरेर दैनिक ४अर्ब घाटा व्यहोर्न बाध्य गराउने अनि अन्त्यहीन राजनीतिका गुलदस्ता नेपाली जनताका नाउँमा भँजाउन खोज्ने भनेकै अस्थिरताका खाल्खाले मतियार नै हुन् ।

इन्भर्टरको उज्यालोमा रमाउने लोकमानभन्दा लोड सेडिङ्लाई पत्तासाफ गर्दैजाने भिजन र मिसनमा हराएको बिजुलीको चहकलाई सुलभ गर्ने कुलमान नै देशका खाँटी छोरा हुन् तर अब पावरका कसिमनखोरहरूले उनलाई राजदूत बनाएर देशबाहिर धकेली फेरि मायावी अँध्याराको साम्राज्य फैल्याउँन बेर पनि छैन ।

अन्त्यमा, शिक्षित, काबिल र चुस्तदुरूस्त सक्षम युवा पुस्ताले अहिले हामीले भोगेको र व्यहोरेको ‘हाइ लेबल’मा भैरहेको कुराजनीति र लोकतान्त्रिक समाज निर्माणमा बाधा अवरोध पुग्ने गरी नीतिनिर्माण तहमा ‘दलगच्चा झार’झैँ तालमा मौलाइरहेको ‘सिण्डीकेट राज’लाई तोड्न पनि मुलुकमा तीन चरणका चुनावहरू अब सडकमै ओर्लेर माग्ने बेला टरी सक्यो । ‘भर्चुअल’ दुनियाँका श्वेतपटमा मात्र क्रान्ति र बगावत खोज्ने होइन न कि देशैभरि या समग्र विश्वका कुनाकुनामा छरिएर रहेका तमाम मेहनतकश र राष्ट्रवादी नेपालीमा चेतनाको उभार भरेर नयाँ वैचारिक शैलीले नेपाल आमाको मुहारमा कान्ति ल्याउनु परेको छ । ‘युवा देशका लागि र देशका लागि युवा’ भन्ने मूलनारा ‘ग्लोकलाइजेसन’ गर्दै पुराना र थोत्रा पन्थबाट बाहिर निस्कन अबेला भैसक्यो । युवा पुस्तामा चेतना भया ।
।।समाप्त।।

प्रतिक्रिया

सम्बन्धित