बालन्दा (कथा)

dinesh-poudeal
दिनेश पौडेल

प्लेटफार्ममा निकै मानिस थिए । कति त आफ्नो झोलाको सिरानी लाएर लम्पसार सुतेका थिए । चिसोचिसो भए पनि जाडो भन्नुपर्ने गरी चिसो थिएन । सरिता र म पनि भुइँमा तन्ना ओछ्याएर बसेका थियौँ । बिहानको चार चालीसको कोरोमान्डल एक्सप्रेस आइपुग्न अझै एक घण्टा बाँकी थियो ।

‘….जातले व्यापारी भए पनि मेरा ससुरा खेतीपाती गर्थे । गाई पाल्थे र धर्मकर्ममा रमाएर बस्थे । हाम्रो घर त्यही सुन्दर गाउँमा थियो ।’ बूढीले आफ्नो पावरवाला चस्मा मिलाउँदै कथा टुङ्ग्याउने हिसाबले भनिन् ।

‘बालन्दा गाउँको बारेमा कुरा गर्नुभो, त्यो गाउँ यहाँबाट कति टाढा छ नि ?’ मैले बूढीका सबै कथा सुनिसकेपछि सोधेँ ।
‘यहाँबाट कति पनि टाढा छैन, कहीँ छैन बाबू बालन्दा गाउँ अब । त्यो अतीतको गर्भमा छ । त्यो हाम्रो हृदयभित्र छ …। हीराकुण्डको नाम तपाईँले सुन्नुभएको छ ?’ बूढीले भनिन् ।

‘छ नि । एकदम विशाल र सुन्दर छ रे नि त त्यो ताल । म पुगेको चाहिँ छैन ।’ मैले भनेँ ।

अचानक बूढीको अनुहारमा आक्रोश र पीडाको हल्का लहर फिँजियो । उनी पुनः आफ्नो विगतमै फर्किन्– ‘हाम्रो बालन्दा गाउँलाई सरकारले त्यही हीराकुण्डमा डुबायो ।’

‘बालन्दाको पूर्वपट्टि सर्वदा खोल्सो थियो । खोल्सापारि सानो जङ्गल थियो । कुइया वन भन्थ्यौँ । अनि होचो पहाड थियो, कारपली । कारपली पहाडको टुप्पाबाट घाम झुल्कन्थे । सर्वदा खोल्सावारि हाम्रो गाउँ । गाउँमा हामी चालीस–बयालीस घर थियौँ । वरिपरि खेत । सर्वदाको पानीले गाउँ सिँचेको थियो । सबैका घर खपडाले छाएका थिए । कालो र रातो माटाले लिपेर घरआँगन चिटिक्क पारेका हुन्थ्यौँ । घरघरमा इनार थिए, तर गाउँभरिका मानिस हामै्र इनारको पानी खान्थे । गाईबस्तु कुइया वनमा चराउन लग्थ्यौँ, बेलुका फर्कँदा उतैबाट एकएक भारी दाउरा ल्याउँथ्यौँ । त्यति सुन्दर गाउँ संसारमा अन्यत्र कहाँ छ होला र ?’ बूढी आफैँलाई भन्न थालिन् ।

‘पश्चिमपट्टि गोलोकपहाड छ । त्यतापट्टि चाहिँ हामी उति जान्नथ्यौँ । देसार, पानडरी, बिनका, गुजा र भाखर पहाड थिए । पहाडको फेदमा मानिसहरूका सुन्दर गाउँ थिए– पद्मपुर, लखनपुर, पेटा, नालपली, भीमवाडा, सरनपुर, लहबी, दामपली, बनेली, धैबाडा, कल्याणपुर, शिवखेर, कालपुखुरी र अरूअरू । शिवरात्रि, बालाचतुर्दशी र होलीमा संसारभरिका मान्छे हाम्रै गाउँमा ओइरिन्थे । बेलपहाडदेखि सम्बलपुर आउने मूल सडकको यतापट्टि थियो हाम्रो घर ।’ बूढीले दाहिने हात पश्चिमतिर झट्कार्दै भनिन् । ती पुराना दिनतिर फर्कँदा उनका आँखा परपरका अग्ला घर र टेलिफोनका टावरहरूतिर केन्द्रित हुन्थे ।

‘तीन सय गाउँ डुबे । तीन सय पचास मन्दिर डुबे । वैशाख–जेठमा हीराकुण्डमा पानीको सतह सबैभन्दा तल झर्छ । त्यस बेला हाम्रो गाउँको त्यो अग्लो शिव मन्दिरको गजुर देखापर्छ । गाउँको नामोनिशान नभए पनि गाउँको शिवमन्दिर देखिन्छ भनेर त्यो हेर्न बर्सेनि जान्थ्यौँ । उडिसाभरि छरिएका हाम्रा गाउँलेहरूसँग भेटघाट हुन्थ्यो । ससुरा बितेपछि त्यता जाने क्रम बन्द भयो ….।’ उनका आँखा आकाशमा उडेका चरालाई चिन्न खोजेझैँ परपर एकोहोरिए ।

‘कति भो नि सहर पस्नुभएको ?’ मैले सोधेँ । सरिता र म उडिसा राज्यको पश्चिमी खण्डमा पर्ने रायगडा सहरबाट लगभग सवा सय किलोमिटर पश्चिमका टिकिरी र रामिबेडा गाउँ घुमेर फर्किरहेका थियौँ । त्यहाँको उत्कल अल्युमिनियम खानीमा हाम्रो भाइ खानी–इन्जिनियरको रूपमा काम गथ्र्याे । ऊ त्यहाँ भएको मौकामा यसो उडिसाका भित्री गाउँ–सहर पनि घुमिने, भाइसँग पनि भेटघाट हुने भनेर हामी त्यता गएका थियौँ । भुवनेश्वरको यस स्टेसनबाट कलकत्ता अनि कलकत्ताबाट सोझै घर फर्कने सिल्सिलामा हामी त्यसबेला भुवनेश्वरको रेलवे स्टेसनको प्लेटफार्म नम्बर ५ मा थियौँ ।

‘एक जुग भो नि । छपन्नमा बालन्दा छाडेका, बाबू त जन्मनु नै भएको थिएन होला ।’

‘छपन्नमा कहाँ जन्मनु नि आमा, म त हिजोअस्तिको मान्छे पो त ! चौसट्ठीको …!’ मैले हाँस्तै भनेँ ।

‘मेरो बिहे भएको एक वर्ष मात्र भएको थियो । पैँतालीसको नवम्बरको कुरा । त्यस दिन इब नदीको किनारको सानो जङ्गलमा मेरी नन्द र म दाउरा खोज्न गएका थियौँ । घर फर्कँदा दुवैजनाले एकएक झोला बयर पनि लिएर आएका थियौँ ।

‘घर आइपुग्दा हामी सुकुम्बासी भइसकेका रहेछौँ । सरकारले यहाँ विशाल बाँध बाँध्ने, र डुबानक्षेत्रमा पर्ने हामीलाई मुआब्जा दिने निर्णय गरेछ । पैँतीस माइल लामो बाँध बाँधेर तीन सय गाउँ डुबान गर्ने गरी यस बाँधको परिकल्पना गरिएको रहेछ । गाउँभरिका घरमूलीहरू हाम्रो दलानमा भेला भएका थिए ।

बाह्र माइल पर बग्ने महानदीले हामीलाई डुबाउन लागेको थियो ।

‘छत्तीसदेखि नै यस बाँधका बारे कुरा उठिरहेकै थियो । गरिब र दलितका मुक्तिदाता भनेर चिनिएका डा. अम्बेडकर साहेबले नै पैँतालीसमा यस बाँध निर्माणको निर्णय गरेका हुन् । अठचालीसमा भारतका मुक्तिदाता नेहरूले यहाँ शिलान्यास गरे र त्रिपन्नमा निर्माणकार्य सम्पन्न भयो, अर्थात् हाम्रो उठिवास भयो । त्यहाँबाट बिजुली बल्यो, नहर खनेर तलका मानिसको खेतीपाती हराभरा भयो तर हामी यता लाखौँ जिउँदै मारियौँ ।

‘सुरुमा एक सय गाउँ मात्र डुब्नेछन् भनिएको थियो, तर काम सम्पन्न हुँदा तीन सय गाउँ विस्थापित भए । हामी त हेर्दाहेर्दै सुकुम्बासी भयौँ । हाम्रो घर, हाम्रो खेत र मन्दिर विशाल दहमा डुबे । हाम्रा भाग्य, रहर, सपना, आशा र आस्था पनि डुबे । भारत स्वतन्त्र, स्वाधीन भयो । स्वाधीनताको स्वादचाहिँ हामीलाई चखाए, स्वतन्त्रताको परिणाम हामीलाई भोगाए ।

‘स्वतन्त्रता सङ्ग्राममा भगतसिंहहरू सहिद भए, मर्नचाहिँ हामी म¥यौँ ।’

‘हीराकुण्ड बाँध त भारतको शान हो । यहाँ डुबानमा पर्ने सबै किसानलाई आकर्षक मुआब्जा दिइयो होला नि हैन र ?’ सरिताले सोेधिन् ।

प्लेटफार्ममा मानिसहरूको घुइँचो बढ्दै आयो । रातो सर्ट लगाएका कुल्लीहरूको चहलपहल पनि बढ्न थालेको थियो । बिहानै हुनाले तातो चिया बेच्नेहरू कराइरहेका थिए– ‘हे ! चाय चाय ! गरम चाय !!’

‘केको आकर्षक मुआब्जा हुनु नि नानी ! दिने भनेर घोषणा गरिएको रकम जमिनको वास्तविक मूल्यको तीस–चालीस प्रतिशत मात्र थियो । त्यो पैसा पनि घोषणा गरिएको भन्दा दस वर्षपछि मात्र हामीले पायौँ । हाम्रा ससुरा कर्मचारीलाई घुस दिन नमान्ने, सरकारले दिनुपर्ने रकम नदिएर धर पाउँदैनन् भन्ने उहाँको सोच थियो । त्यै भएर मुआब्जा पाउन पनि कहिले हीराकुण्ड बजार, कहिले सम्बलपुर त कहिले भुवनेश्वर धाउँदा–धाउँदा उहाँ हैरान हुनुभयो । अनेक कागतपत्र, अनेक सिफारिस, अनेक सबुत–प्रमाण र अनेक विवरण । एउटै प्रमाण पनि बीस ठाउँमा दस–दस पल्ट पेस गर्नुप¥यो । वकिल र सरकारी कर्मचारी कसरी काम गर्छन् तपाईँहरूलाई थाहै छ, के भनिराख्नुपर्छ र । बालन्दाको त्यो हाम्रो पच्चीस एकडको सुनजस्तो अमूल्य जग्गाको दाम हामीलाई बाटाखर्च मात्र पुग्ने गरी दिइयो ।’ बूढीले शान्त भावमा भनिन् ।

‘के फलाउनुहुन्थ्यो नि ?’ मलाई त्यताको खेतीपातीबारे जान्न मन लाग्यो ।

‘धान, सस्र्यूँ, तिल, गहत, जवार, चना, मटर, बदाम, रागी, मकै र गहुँ कति हो कति फल्थ्यो । आँप, कटहर, लिची, नरिवल र मेवा पनि कति हो कति हुन्थ्यो । उखु, मौवा र अम्बा त मानिसले खाएरै सक्तैनथे । तरुल, आलु, सिमी, खोर्सानी, लौका, घिरौँला, तितेकरेला, पालुङ्गो, धनियाँ, सौँफ, मेथी र जिरा पनि मनग्गे फल्थ्यो । फलफूल र सागसब्जीको कहिल्यै दुःख थिएन ।’ बूढीले रसिला आँखा पार्दै भनिन् ।

मैले भनेँ– ‘तर त्यस बाँधको चर्चा भारतमा मात्र होइन विश्वभरि भयो । त्यस बाँधले उडिसालाई आधुनिक युगमा प्रवेश गराउनेछ, उडिसालाई युरोपको समकक्षमा पु¥याउनेछ भनेर व्यापक परिचर्चा भयो । यस बाँधका कारण अम्बेडकर, नेहरू र सिङ्गै भारतको इज्जत बढ्यो । भारतभर समृद्धि र सपनाको लहर पैmलियो । होइन र ?’

‘के हुन्थ्यो ? उडिसाको गरिबी जस्ताको तस्तै छ, अभाव उस्तै छ, दुखियाको दुःख उस्तै छ । कोहीकोही मोटाए, कोहीकोहीले सहरमा नयाँ घर बनाए, त्यत्ति न हो । यता तीन सय गाउँमा चलेको रुवाबासी कसैले सुनेन । विकास, आधुनिकता र सम्पन्नताको सपना देख्नेहरूको कोलाहलका बीच हाम्रो रोदन शून्यमा हरायो ।’ उनी अझ दुःखी देखिइन् । मेरो तर्कले उनलाई थप चोट पुर्याएको थियो ।

‘तपाईँहरूलाई थाहै छ, उडिसामा मईको गर्मी ज्यानमारा हुन्छ । बर्सेनि सयौँ मानिस गर्मीले निसास्सिएर मर्छन् । हजारौँ बिरामी हुन्छन् । त्यस वर्षको मई पनि उग्र गर्मी थियो, पचास डिग्री नाघेको थियो होला । बीस–बाइस तारिखको कुरा, ससुराले बेलुका पसिना पुछ्तै घोषणा गर्नुभयो– ‘अब जति लडे पनि हामीले केही पाउनेवाला छैनौँ । अर्काे हप्ता झरौँ बालेश्वरतिर । मुआब्जाको पैसाले अलिकति जमिन किनेको छु त्यहाँ …।’ यति भनेर बूढीले हामी दुवैलाई पालैसँग हेरिन् ।

‘हिँड्ने दिन हामी सधैँभन्दा चाँडै उठ्यौँ । सासू र मैले घरआँगन बढारकुँडार ग¥यौँ, लिपपोत ग¥यौँ । घरमा खाट, पलङ, कुर्सी र दराजहरू थिए । काठका ठूलाठूला सन्दुक र बाकसहरू थिए । काठका भाँडा र ठेकाहरू थिए । माटाका गाग्राभरिभरि पानी राख्यौँ । घरमा काँचो माटाका धानचामल राख्ने विशाल भाँडा थिए । ती भाँडाभरिभरि चामल, धान र गहुँ थिए । तिनलाई ठीकसँग छोप्यौँ ।

‘काँचो माटाका भाँडा भनेका कस्ता हुन्छन् ?’ सरिताले सोधिन् ।

‘पोखरीको चिम्ट्याइलो माटो छानेर ल्याउनुपर्छ । सनपाट काटेर धुलो बनाई माटोसँग मुछ्नुपर्छ । कैयौँ दिनम्म त्यो माटो भिजाएर राख्नुपर्छ । हरेक दिन अलिअलि गर्दै भाँडो अग्लो बनाउँदै जानुपर्छ । फरबरीतिर थालेर अप्रेलतिर बनाइसक्नुपर्छ । तलको भाग सुकिहाल्छ तर माथिल्लो भाग गिलै हुन्छ । अन्त्यमा त्यसको मुख साँगुरो पार्नुपर्छ । यति गरेपछि त्यो भाँडो जुगजुग थाम्छ ।’

४ नम्बर प्लेटफर्ममा ट्रेन आयो । उत्रने मानिसहरू फटाफट आकाशे पुलतिर बढे भने चढ्नेहरू हतारहतार आफ्ना पोकापुन्तुरा झुन्ड्याउँदै आफ्नाआफ्ना डिब्बामा चढिहाले । ट्रेन हिँड्नुअगावै प्लेटफार्म शान्त र शून्य भइहाल्यो ।

‘अर्काे सोमवार बाँध थुन्ने कार्यक्रम थियो । अल इन्डिया रेडियोमा पटकपटक त्यस कार्यक्रमको भव्य आयोजना भएको सूचना दिइयो । राज्यका मुख्यमन्त्री हरेकृष्ण मेहताब प्रमुख अतिथि भएर आउने भएका थिए । ‘उत्कल केशरी’ भनेर उनलाई संसारले सम्मान गथ्र्याे । भारतीय राष्ट्रिय काँग्रेसका उनी ठूला र प्रभावशाली नेता थिए । भारतीय स्वतन्त्रता सङ्ग्राममा उनको ठूलो योगदान थियो । त्यत्रा मानिस आउने भनेपछि बाँधक्षेत्रमा मानिसको चहलपहल बढ्ने नै भयो । बाँध बन्ने क्रममै बनेको हीराकुण्ड बजार बिहेघरझैँ सिँगारिएको थियो रे ।

‘यता हाम्रो गाउँमा चाहिँ मानिस मरेको घरमा झैँ शोक थियो । कतिपय मार्चमै गाउँ छाडेर गइसकेका थिए । अप्रिल लाग्नुअघि गाउँ छाड्नेका लागि सरकारले ट्रकको पनि व्यवस्था गरिदिएको थियो तर अटेर गरेर बस्ने हामीजस्ताका लागि कुनै प्रबन्ध गरिएन ।

‘पल्लो गाउँकाहरू तीनचार दिनपछि मात्र घर छाड्दै थिए । यतापट्टिका गाउँमध्ये हाम्रै गाउँ सबभन्दा पहिले डुब्ने भएको थियो । बाँध थुनेको तेस्रो दिनमा हाम्रो गाउँ सधैँका लागि डुब्दै थियो । टोलको बीचमा हामीले पुज्ने गरेको, हामीले हरेक आँधीहुरीमा, बिहे र पर्वमा, आपत् र खुसीमा गुहार्ने भगवान् शिवजीको मन्दिरसमेत डुब्दै थियो । दुर्गापूजा, कुमारपूर्णिमा, दीपावली, प्रथमाष्टमी, वसन्तपञ्चमी, महाशिवरात्रि, रथयात्रा, गजलक्ष्मीजस्ता हाम्रा पर्वहरू डुब्दै थिए । सबै कुरा डुब्दै थियो । महाप्रलयपछि जे हुन्छ त्यही भइरहेको थियो त्यहाँ ।

‘दुर्गेश महापात्र भन्ने एकजना मोटामोटा छिमेकी थिए । उनले भने– ‘शिवमन्दिर यहाँबाट उठाएर डाँडाको टुप्पामा राखौँ ।’
‘त्यो डाँडो पनि डुब्दै छ ।’ दुर्गेशका काका दत्तात्रेयले भने ।

पीडितहरूका बीच क्षतिपूर्तिको रकम होइन, सरकारले जति जग्गा अधिग्रहण गर्छ प्रत्येक किसानलाई कम्तीमा त्यति नै हीराकुण्डले सिञ्चित जग्गा उपलब्ध गराउनुपर्छ र घर पनि बनाइदिनुपर्छ भन्ने माग दत्तात्रेय महापात्रले सर्वत्र उठाइरहेका थिए । हीराकुण्ड–पीडित सङ्घका सचिव थिए उनी । सङ्घको आवाज भुवनेश्वर, कलकत्ता र दिल्लीसम्म पु¥याउन उनी सफल भएका थिए । उनैको प्रयासले पीडितहरूको क्रन्दन उडिया, बङ्गाली, हिन्दी र अङ्ग्रेजी भाषामा छापिने पत्रिकाहरूले महŒव दिएर छापेका थिए ।

‘तर जति गरे पनि हात लाग्यो शून्य । सट्टाभर्ना जमिन पाउने त कुरै छाडौँ, दिने भनिएको रकम पाउन पनि सरकारी कर्मचारीलाई मोटो रकम घुस दिएर मात्र सम्भव थियो । कसैले केही गरेन ।’
‘मन्दिर सारियो त ?’ सरिताले सोधिन् ।

‘के सारिन्थ्यो, सारिएन । मन्दिर त के मूर्ति मात्र उठाएर डाँडामा लग्न समेत कसैको जाँगर थिएन ।’ बूढीले शान्त भएर भनिन् ।
‘गोठमा गाईहरू थिए । ससुराले ती गाईगोरु फुकाएर उता गोकुल पहाडको जङ्गलतिर धपाइदिनुभयो । गाईबस्तु उफ्रँदै र रमाउँदै गोकुल पहाडतिर लागे, तिनलाई के थाहा भरे साँझ परेपछि फर्की आउँदा घरमा उनीहरूलाई सुम्सुम्याउने कोही हुनेछैन, उनीहरूलाई घाँसपानी दिने कोही हुनेछैन । अबदेखि उता उनीहरूले आफ्नो रक्षा आफैँले गर्नुपर्नेछ । कसैले बाँधेर लग्यो भने उसैको सम्पत्ति हुनुपर्नेछ । मानिसहरूले गाईबस्तुलाई जङ्गलमै रमाउन पाऊन् भनेर गोलोक पहाडको सुरक्षित चरनमा पठाएका थिए ।

‘गोलोक पहाडलाई अचेल गोरु पहाड भन्छन् । गाईबस्तुलाई नुन चटाउन ससुरा चार–पाँच वर्षसम्म नियमित जानुहुन्थ्यो । अचेल त्यो पहाड टापु भएको छ । हामीले छाडेका गाईबस्तुका सन्तान छँदै छन् । गाईलाई हाम्रो उडिया भाषामा ‘गोरु’ भनिन्छ । हाम्रा गाईगोरु, भैँसी, बाख्रा र हाँसकुखुरा हेर्न हीराकुण्ड जानुहोला ।

‘माया त लाग्छ नि, तर ती अब पूरै जङ्गली भए, हामीलाई देख्ता भाग्छन् ।’ सत्तरीको गौपूजनको दिन गोलोक पहाडबाट फर्केर साँझमा ससुराले भन्नुभयो । उहाँ दलानमा बसेर धेरै रुनुभयो ।’ बूढीले टिल्पिलाएका आँखा पुछिन् ।

‘हाम्रो खलबल सुनेर हो वा आसन्न सङ्कटको पूर्वानुमान भएर हो, भँगेराहरू एकदम कराए । हामीले हिँड्ने बेलामा हाम्रो इनारबाट उघाएर अन्तिमपल्ट त्यो मीठो पानी खायौँ । त्यति मीठो पानी मैले यो उमेरसम्ममा अन्त कतै खान पाएकी छैन । अनि बाल्टिन त्यहीँ छाडेर हामी सबै हिँड्यौँ । घरमा गुन्द्रीपिरा, भाँडाकुँडा, काठपात, घाँसपराल, दाउरा, खाटकुर्सी जहाँको त्यहीँ त्यत्तिकै छाडेर हिँडेका थियौँ । घरको ढोकामा ताल्चासम्म नलगाई त्यसै छाडियो ।

गाउँका सबै थिए । पल्लो गाउँका पनि लगभग सबै थिए । कोही बोलिरहेको थिएन । हाम्रा छोराछोरीहरू भने रमाईरमाई अघि बढ्थे । त्यत्रो महाविपत्का बारेमा ती बेखबर थिए । अज्ञानतामा जति सुख केमा छ र !

‘सर्वदा खोलामा काठको बलियो पुल थियो । त्यो तरेर हामी चुपचाप अघि बढ्यौँ ।

‘यो पुल अब कहिल्यै कसैलाई चाहिँदैन ।’ ससुराले आँसु पुछ्तै भन्नुभयो– ‘सबै डुब्ने भए ।’

‘भर्खर खनजोत गरेका खेत, फराकिला फाँट, हरिया वन र सुन्दर सफा पोखरीहरू नाघेर हामी अघि बढ्यौँ । यी सब भोलि–पर्सिपल्टदेखि सधैँका लागि विशाल तलाउको पिँधमा पुग्न लागेका थिए ।

‘अनि इब नदीको विशाल पक्की पुल आयो ।

‘यो पुल पनि अब कहिल्यै कसैले तर्न पाउने छैन । सबैसबै डुब्नेछ !’ ससुरा बर्बराउँदै अघिअघि हिँड्नुभयो ।

‘महाप्रलयअघिको सन्नाटा सर्वत्र छाएको थियो । बेलाबेला ससुरा खोकेको नमीठो आवाज आउँथ्यो र उहाँ छिटो हिँड भनेर हामीतिर फर्केर हकार्नुहुन्थ्यो । देवर र मेरा बूढाले भएभरका ओढ्ने र ओछ्याउने बोक्नुभएको थियो । नन्द, देउरानी र मैले भाँडाकुँडा अनि लाउने कपडाहरू बोकेका थियौँ । सासूले घरको सानो सन्दुक बोक्नुभएको थियो । त्यसमा महŒवपूर्ण कागजात, बाबुबाजेका पालादेखिका पूजा गर्ने गरेका पैसा, शालिग्राम, देवीदेवताका मूर्ति, शङ्ख र पूजाका सामान थिए ।
‘ससुरा आफूले चाहिँ पुस्तकहरू बोक्नुभएको थियो । पुस्तकहरू र पुस्तक पढ्ने खटिया एउटा बर्कीमा कुम्लो पारेर उहाँले बोक्नुभएको थियो । उहाँले सधैँ पढ्ने गर्नुभएका शुकसागर, देवी भागवत, रामचरितमानस, महाभारत, श्रीमद्भागवत, रुद्री, चण्डी र अरू पुस्तकको गह्रौँ भारी उहाँले बोक्नुभएको थियो । वैश्य भए पनि उहाँ ब्राह्मणहरूजत्तिकै शास्त्रहरू पढ्नुहुन्थ्यो ।
‘अनि हीराकुण्ड बजारमा निस्क्यौँ । हीराकुण्डमा आइपुगेपछि गाउँलेहरूले हामीलाई बिदा गरे । यसभन्दा अगाडिको यात्रा हाम्रो एक परिवारले मात्र तय गर्नु थियो ।

‘महायात्रामा निस्केको हाम्रो परिवार सोझै बालेश्वर हान्नियो ।

‘ससुराले सदर जेलखानानेर अलिकति जमिन किनेका रहेछन् । उसबेला जमिन एकदम सस्तो थियो, तर हामीसँग पैसा थिएन । रिनपान र सरसापट गरेर एउटा सानो घर बनायौँ ……।’

उत्कल आल्युमिनियम खानी हेर्न गएका बेलामा हामीले इन्द्रावती जलविद्युत् आयोजनाको बाँधले डुबाएका आदिवासी मानिसका दर्दकहानी सुनेका थियौँ । उठिवास हुने भएपछि कति बहुलाए रे, कतिले आत्महत्या गरे रे । तर आयोजनाले न त कबुल गरेजति रकम क्षतिपूर्ति दियो न त समयमै दियो रे । स्थानीय मानिसहरूका मुखबाट दर्दकहानी सुनेर व्यथित भएका हामीलाई यी बूढी आमैले आफ्नो रामकहानी भनेर झन् विगलित पारिदिइन् ।

बूढी बसेको ठाउँबाट हात टेक्तै उठिन् । कसैलाई खोजेझैँ उनी यताउता हेर्न थालिन् ।

‘कसैलाई खोज्नुभएजस्तो छ नि …?’ मैले सोधेँ ।

‘ठूलो छोरो ट्रेनमा चढाउन आउँछु भन्थ्यो । भन्न त मैले पर्दैन भनेकै थिएँ, तैपनि आयो कि भनेर… …।’

बूढी आमै छोरो आएको छैन भन्ने भएपछि फेरि बसिन् । उनले आफ्नो झोला छामछुम गर्दै कहानी अगाडि बढाइन्–
‘ससुरा बालन्दा छाड्नुपरेकामा विक्षिप्तजस्तै हुनुहुन्थ्यो । हरेक बिहान विधिपूर्वक न्यासध्यान र पूजापाठमा बिताउने मानिस बिस्तारै त्यस्ता कुरामा लापर्बाह हुन थाल्नुभयो । कहिलेकाहीँ त हातमुखसम्म नधोई बिहानको खाजा खानुहुन्थ्यो । ससुराको यस्तो चालाले हामी सबै चिन्तित थियौँ ।

‘मेरा बूढा र देवरहरू सानोतिनो भए पनि काम खोज्न थाले । नभन्दै एउटा ठूलो कपडा पसलमा दुवै भाइलाई काम मिल्यो । आर्जन नगरी जीवन–नौका चल्दैनथ्यो ।

‘अब परिवारको गुजारा चल्न थाल्यो । ससुरा भने झन्भन्दा झ्न थलिनुभो । उहाँ हरेक मौकामा बालन्दाको कुरा गर्नुहुन्थ्यो । खेत–खलिहान, बालीनाली, गाईबस्तु, चाडबाड, पूजाआजा, मन्दिर, खोला, जङ्गल र पानीपँधेराको मात्र कुरा गर्नुहुन्थ्यो । जहिल्यै गाउँमा मनाइने दुर्गापूजा, कुमारपूर्णिमा, दीपावली, प्रथमाष्टमी, वसन्तपञ्चमी, महाशिवरात्रि, रथयात्रा र गजलक्ष्मी उत्सवको मात्र कुरा गर्नुहुन्थ्यो । अनि बालन्दाबाट वास उठाउनेहरूको सर्वनाश होस् भनेर सराप्न थाल्नुहुन्थ्यो । यिनीहरू निसन्तान होऊन्, हामीलाई उठिवास गर्ने पापीहरूलाई दण्डित गरियोस् भनेर बालेश्वर भगवान्सँग प्रार्थना गर्नुहुन्थ्यो ।

‘ससुरा एक दिन साँझमा अबेर घर फर्कनुभयो । मैले उहाँको अनुहारमा हेरेँ– त्यो अनुहार मानिसको नभएर भूतप्रेतको जस्तो थियो । उहाँले एउटा पर्चा देखाउँदै घोषणा गर्नुभयो– सरकारले हाम्रो यो जग्गा टिबी अस्पताल र फायर स्टेसन निर्माणका लागि अधिग्रहण गर्ने भएछ, यी हेर । अब गोवर्धन साहू सकियो । मैले मेरा लालाबालाका लागि केही गर्न सकिनँ । सिद्धियौँ हामी ।’
उहाँ बोल्दाबोल्दै बर्लङ्ग ढल्नुभयो । छोराहरूले रिक्सामा हालेर अस्पताल लगे । पक्षाघात भएछ । एक हप्तापछि घर ल्यायौँ । उहाँ ओछ्यानबाटै अर्धपागलका झैँ बर्बराइरहनुहुन्थ्यो । बोलेको बुझिँदैनथ्यो । सात महिनासम्म दिसापिसाब एकै ठाउँ भयो । सासू र मैले सकेको सेवा ग¥यौँ ।

पैँसट्ठीको चौध नोभेम्बरका दिन, बालेश्वर सहर झकिझकाउ थियो । चाचा नेहरूको जन्म जयन्ती र बाल दिवसको महान् उत्सव चलिरहेको थियो । दिनभरि केटाकेटीहरू झिलिमिली लुगामा सजिएर प्लेकार्ड र ब्यानर बोकी सडकमा निस्के । हाम्रो घर भने त्यसै बेलुका अन्धकार भयो । सासू, दुई छोरा, एक छोरी, एउटी बुहारी र एउटा नाति एकैचोटि अनाथ भयौँ ।’

‘हामी घरका सबैजना मूल कोठामा भेला भएका थियौ । ससुरा केही भन्न खोज्दै हुनुहुन्थ्यो, अरू बेला पनि बोली खासै नबुझिने, त्यसबेला झन् नबुझिने भयो । उहाँले फेरि केही भन्न खोज्नुभयो, सास एकोहोरिन थालिहाल्यो । हामी रुनकराउन थाल्यौँ । रोएर के हुन्छ र, उहाँ गइहाल्नुभयो । मानिसको हंसले कसरी देहत्याग गर्दाे रहेछ मैले उहाँ बित्दा मात्रै राम्ररी देखेँ ।’

‘आज बालेश्वर स्टेडियम छ नि, त्यो सप्पै जमिन हाम्रै त हो । हाम्रो घर त्यहीँ थियो । सरकारले हाम्रो जमिनको मुआब्जा दियो । मुआब्जाको आधाजति पैसाले ससुराको काममा लागेको रिन तिरियो, आधाजति पैसाले अहिले बसेको घर किन्यौँ । केही पैसा हीराकुण्ड–पीडित सङ्घलाई चन्दा दियौँ । सङ्घले आवाज ठीकसँग नउठाएको भए त हामी खालीहात उठिवास हुनेथियौँ नि !
‘जमिन सम्पत्ति होइन रहेछ नानी । जमिन त आज छ, भोलि छैन हुने रहेछ ।’ बूढीले सरितालाई सम्बोधन गरेर भनिन् ।
‘अनि ?’ सरिताले सोधिन् ।

‘अनि के हुनु र ? देवर कलकत्तातिर लागे । बन्दबेपारको पेसा पक्रे उनले । ससुरा बितेको चार महिनामा सासू पनि बितिहालिन् । मेरा बूढाचाहिँ ट्रक चलाउने काम गर्न थाले ।

‘निकै ढिलो गर्छ कि क्या हो ट्रेनले ..।’ सरिता अलिक छटपटाउन थालिन् । मचाहिँ बूढीका कथामै हराइरहेको थिएँ ।
बूढीले भनिन्– ‘चेन्नईदेखि आउँछ यो ट्रेन । तर सधैँ लगभग टाइममै आउँछ । म त सधैँ यसैमा चढ्छु ।’ उडिया जातिकी भए पनि यी बूढीको हिन्दी स्पष्ट थियो । पातलो प्लास्टिक ओछ्याएर झोलाको आडमा बसेकी बूढी आमै दुब्ली र काली भए पनि उज्याली थिइन् । यत्रो उमेर खाएर पनि यिनी हट्टाकट्टा देखिन्थिन् ।

‘दुःखको बेलामा केही आड त माइतीको पनि मिल्छ……….।’ सरिताले बूढीको कथामा टिप्पणी गर्ने हिसाबले भनिन् ।
‘सबै त्यति भाग्यमानी कहाँ हुन्छन् र नानी ! मेरा माइती बेलपहाडमा थिए । हाम्रो उठिवास हुने निश्चित भएपछि तिनीहरू क्रमशः हामीबाट तर्के । हीराकुण्डका कारण हाम्रो संसार डुबे पनि बेलपहाडका मानिसलाई धेरै फाइदा भयो । बेलपहाडको जमिनको मूल्य आकासियो । नजिकै ठूलो कोइलाखानी खुल्यो । उनीहरू हेर्दाहेर्दै साधारण किराना पसलेबाट करोडपति व्यापारी बने । कोइलाको कारोबारबाट मेरा भाइहरू करोडपति बने ।’

‘करोडपति भाइहरूलाई रोइकराइ गर्यो भने केही न केही भरथेग त गरिहाल्छन् नि । एकै रगत हो जे भए पनि ।’ सरिताले थपिन् ।

‘सबैको त्यस्तो हुँदो रहेनछ नानी । कोइलाको कारोबार गर्दागर्दा मेरा भाइहरूको हृदय पनि कोइला भएछ, दिमाग पनि कालै भएछ….. । भो छाडिदिउँ तिनका कुरा । जीवनमा कुनैकुनै सम्बन्धहरू चर्चा गर्न अयोग्य पनि हुने रहेछन् ।’ बूढीले हात झट्कार्दै भनिन् । माइतीको प्रसङ्गले यिनलाई अझ दुःखी बनाएको देखियो ।

उनले अलिक नरम भएर भनिन्– ‘छोरी मान्छेका लागि माइतीको आडभरोस भनेको आमाबाबु हुन्जेलको न हो । त्यसपछि पनि माइतीको भर पाउने चेली को छ र ?’

‘त्यसो त हो नि । भाउजू–बुहारीको सहमति नभई दाजुभाइले केही गर्न मिल्दैन पनि ।’ सरिताले आधा समर्थन जनाइन् ।
बूढी आफ्नै दुनियाँमा पुनः बग्न थालिन्– ‘ट्रक ड्राइभरको पेसा, बूढा हप्ता दस दिनमा बल्ल घर आउँथे । तर कमाइ राम्रो थियो । छोराछोरी राम्रा लुगा लाएर स्कुल जान थाले । देवरका छोराछोरी पनि हामीकहाँ नै बस्थे। केटाकेटी राम्रो बानीबेहोरा भएका हुनाले तिनका बाटाबाट हामीलाई सुख थियो । पढाइमा पनि सबै अब्बल थिए । तर जिन्दगीमा दुःखको भन्दा सुखको आयु छोटो हुन्छ ।’

बूढीले लामो सुस्केरा काढिन् ।

‘यात्रुगण ! कृपया ध्यान दिनुहोला । चेन्नईदेखि हावडा जाने १२८४२ कोरोमान्डल एक्सप्रेस प्लेटफार्म नम्बर ५ मा केही मिनेटमा आइपुग्दै छ ।’ हिन्दी, अङ्ग्रेजी र उडिया भाषामा लाउडस्पिकरबाट आवाज आयो ।

भुइँमा आरामसँग सुतेका मानिसहरू ज¥याकजुरुक उठे । उनीहरू आफ्नाआफ्ना पोकापुन्तुरा सम्हाल्न थाले । प्लेटफार्ममा अचानक हावाहुरी आउन लाग्दा झैँ हडबड सुरु भयो ।

हामी बडो रुचिपूर्वक बूढीको कथा सुनिरहेका थियौँ तर अब उनलाई कथा भनिसिध्याउन हतार भएको थियो । बूढी बाहिरी संसारमा आधा थिइन् भने आफूभित्रको संसारमा आधा थिइन् । उनी फेरि भन्न थालिन्– ‘१९६७ जुन बाह्र तारिख सोमवारको दिन थियो । केटाकेटी सबै स्कुल गएका थिए । देवर–देउरानी एक हप्ता बसेर अगिल्ला दिन मात्र कलकत्तातिर लागेका थिए ।
‘उडिसाको पूर्वी र दक्षिणी खण्डमा गर्मीले मानिसहरू भकाभक ढल्न थालेका थिए । बालेश्वरको बजारमा मात्र अगिल्लो दिन सातजना मानिस गर्मीले ढलेको खबर आएको थियो । म दिउँसोका लागि दाल–रोटी बनाइरहेकी थिएँ । भान्साको गर्मीमा म पसिनाले निथु्रक्कै भिजेकी थिएँ । अचानक ढोकामा दुइटा पुलिस देखापरे । एउटाले सोध्यो– ‘मनोहर साहूको घर यही हो ?’
‘घरमा यसरी अचानक पुलिस देखापर्नु खतराको सङ्केत थियो । म हडबडाएँ । म थर्र काँपेँ अनि भान्साबाट फुत्त निस्केँ । म चिच्याएँ– ‘किन ? के भो हजुर ?’

‘यो घर गोवर्धन साहूका छोरा मनोहर साहूको हो ?’ पुलिसले दोहो¥याएर प्रश्न ग¥यो ।

‘हो । किन ? केही गडबड भो कि हजुर ?’ मेरो स्वर घाँटीभित्रै सुक्यो ।

‘तपाईँका पति ट्रक दुर्घटनामा परेर सिकिस्त घाइते हुनुहुन्छ । उहाँलाई भुवनेश्वरको राजकीय अस्पतालमा राखेको छ ।’
‘मैले कुरो बुझेँ मेरा पति अब बाँकी छैनन् भनेर । म त्यहीँ ढलेँछु । कोको आए, कसरी मलाई भुवनेश्वर लगे, केही याद रहेन । होसमा आउँदाको झल्याकझुलुक सम्झना छ, म अस्पतालमा थिएँ । उहाँका नाकका दुवै पोरामा सेतो कपास खाँदिएको थियो । उहाँ एकोहोरो सुक्खा आँखाले उँभो हेरिरहनुभएको थियो । निधारमा लामो गहिरो चोट थियो ।

‘फेरि म बेहोस भई ढलेँछु । मेरो होस खुल्दा उहाँ बितेको तेस्रो दिन रहेछ । मान्छेहरूले भने, सडकमा अचानक देखापरेको गाईलाई जोगाउन खोज्दा उहाँको ट्रक कट्टक सहरनेर कठजोरी नदीमा खसेको रहेछ । ‘लोग्ने मरेपछि त बाँच्नु र मर्नुमा के अन्तर हुँदो रहेछ र ? अनि त म हरेक दिन मरेँ ।’ बूढीले कथा सकेसम्म छोटो पारेर भन्न खोजिन् । ट्रेन आइपुग्न अब केही मिनेट मात्र बाँकी छ भन्ने बूढी आमैलाई अब स्पष्ट थाहा थियो ।

‘हाम्रा आँखाका डिलबाट आँसु झर्छन् । आँसुका यी नुनिला थोपा झर्नैका लागि बनेका हुन् । तर समय सबै व्यथाहरूको अचुक औषधि हो ।’ बूढी सुस्केरा काढ्न थालिन् । उनीभित्र कति बेचैनी थियो भनेर छेउमा हुने जसले पनि अनुमान गर्न सक्थ्यो ।
‘समय कमजोर भइदियो भने मानिस आफूले पिएको पानी सर्केर मर्छ, ……………. बलवान् भइदियो भने हवाइजहाजबाट झर्दा पनि मर्दैन । सबै ट्रकचालकहरू मर्दैनन् । मेरा बूढालाई दुर्घटनामा परेर जानू भनेर लेखेको थियो होला, गए ।

‘लोग्ने बितेपछि अनाथ भइँदो रहेछ । देवरका छोराछोरीले बालेश्वर छाडे, ती आफ्ना बाबुआमा भएतिरै गए । हाम्रा छोराले स्कुल छाडे, ठूलो छोरो कताकता काम खोज्दै हिँड्यो । छोरीहरू घरमै थन्किए । लोग्ने भनेको दाल–रोटी जुटाउने मानिस हो । तर लोग्ने दालरोटी मात्र होइन रहेछ ।

लोग्ने नभएपछि त देउता, राक्षस, भूतप्रेत, पिशाच सबैले हमला गर्दा रहेछन् । छिमेकी, आफन्त र शत्रुले आक्रमण नगर्ने त कुरै आएन । हिजोसम्मका सहयोगीहरू पछि हट्ता रहेछन् । दयालुहरूको दया पनि लोग्ने हुन्जेलका लागि रहेछ, आफन्तहरूको माया र आडभरोसा पनि लोग्ने रहुन्जेल मिल्ने रहेछ । दाजुभाइको काँध पनि लोग्ने रहुन्जेल पाइँदो रहेछ, साथीसँगीको साथ पनि लोग्ने रहँदा मात्र रहँदो रहेछ । जसले पनि बलेकै आगो ताप्ता रहेछन् ….।’

यति भनिसक्ता कोरोमान्डल एक्सप्रेस ट्वाँ…… गर्दै करायो । अगिदेखि तम्तयार मानिसहरू सल्बलाउन थाले । ट्रेन जम्मा पाँच मिनेट मात्र अडिने हुनाले चढ्ने र उत्रनेहरू सबैले सतर्क हुनैपथ्र्यो । बूढीले कहानी भन्न छाडेर झोला पक्रिन् । बाँकी कथा सुन्नै नपाई ट्रेन आइहाल्यो र हामी आफ्ना झोला झुन्ड्याउँदै तोकिएको डिब्बातिर दौडियौँ ।

प्रतिक्रिया

सम्बन्धित