नेता गजुरेलको ‘झुल्केको घाम’ लोकार्पण

काठमाडौँ, १३ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलको कथा सङ्ग्रह ‘झुल्केको घाम’ लोकार्पण भएको छ । यहाँ आज आयोजित कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलगायतले लोकार्पण गर्नुभयो । साझा प्रकाशनले प्रकाशित गरेको गजुरेलका कथा सङ्ग्रहमा १० कथा सङ्ग्रहित छन् । उहाँले धेरै कृति लेखेको भए पनि जम्मा तीन कृति मात्र प्रकाशनमा आएको कार्यक्रममा बताइयो । यसअघि उहाँका ‘मधु’ खण्डकाब्य र ‘प्रतिरोध’ कथा सङ्ग्रह प्रकाशित भएका थिए ।

गजुरेलका कथामा वैचारिक अभिव्यक्ति, राष्ट्रिय स्वाभिमान, सामाजिक यथार्थता, कम्युनिस्ट आन्दोलनका एकता र विभाजन, संविधान निर्माण र वर्तमान राजनीतिक विकृति र विसङ्गति आदिका विषयवस्तु छन् । त्यस्तै उहाँले १० वर्षे माओवादी द्वन्द्वताका भारतको जेलमा करिब सात वर्ष बिताएको क्षणलाई समेत कथाको रुपमा प्रस्तुत गरिएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चाले आयोजना गरेका कार्यक्रममा अध्यक्ष वैद्यले राजनीतिक र सामाजिक रुपान्तरणका लागि साहित्यकार, कलाकार र राजनीतिज्ञ सँगसँगै हिँड्नुपर्ने बताउँदै भन्नुभयो, “हाम्रो विचार फरक छ भने पनि केही यसले फरक पर्दैन ।” नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले समीक्षा गर्दै कथा सङ्ग्रहलाई “सामाजिक यथार्थ र अग्रगमनका लागि निस्किएको खोज हो” भन्नुभयो ।

अर्का समीक्षक कृष्णसेन इच्छुक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले कथा सङ्ग्रह बढी राजनीतिक बनेको टिप्पणी गर्दै सङ्ग्रहमा शास्त्रीय ढङ्गका कथा नभएर विचार उत्तेजक कथा भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित