पसिना पुच्दै कविता सुन्दै

मोरङ । झोराहाट नाट्य समूह मोरङको आयोजनामा शनिबार मासिक साहित्यिक शृंखला सम्पन्न भएको छ । नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार गाउँमा कविता साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । हरेक शृंखलामा चारजना कविका कविताहरु वाचन हुने गरेको छ । यो पटकको शृंखलामा इलामका प्रकाश थाम्सुहाङ, धनकुटाका मुकुन्द प्रयास, सुनसरीकी टीका आत्रेय र विराटनगरका कवि मीनकुमार नवोदितले आफ्ना चार–चारवटा कविता वाचन गर्नुभयो । थाम्सुहाङले साँझ शब्दचित्रमा, हरियो ग्रहको मान्छे, जाडोको कथा र उज्यालो यात्रा कविता वाचन गरे ।

त्यस्तै आमा, नानीहरुका प्रश्न, सेतो रंग र बाँसमा शीर्षकका कविता मुकुन्दले प्रस्तुत गरेका थिए । नाटकघरमा खचाखच दर्शकका बीच अर्की कवयित्री समर्पण, आमा बनेको दिन, परदेशबाट र बादलको देश छन्दोबद्ध कविता वाचन गरिन् । पत्रकारसमेत रहेका नवोदितले अन्तिम इच्छा, युद्धको तयारी, देशका नाममा र जून र आमा शीर्षकको कविता प्रस्तुत गरे । गत वैशाखदेखि सञ्चालनमा आएको नाटकघरमा साहित्यिक शृंखलाका साथै नाटक मञ्चनसमेत हुने गरेको छ । गाग्रीण क्षेत्रमा कला र साहित्यको विकास गर्ने उद्देश्यले नाटक मञ्चन र साहित्यिक शृंखला सञ्चालन गरिएको समूहका अध्यक्ष भरत गुरागाईंले जानकारी दिनुभयो ।

pachina-putchdai

सो अवसरमा प्राज्ञ खेम नेपाली, समाजसेवी श्याम पौडेल, मुनाराज शेर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कात्तिक महिनाको शृंखलामा झापाका मेचीपुत्र, उर्लाबारीका कृष्ण उदासी, इटहरीका विराट अनुपम र विराटनगरका धीरज राईको कविता वाचन राखिएको कार्यक्रम संयोजक गण्डकीपुत्रले बताउनुभयो । भोलिदेखि नाटकघरमा नाटक मञ्चनको तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित