यस कारण मैले बुवाको किरिया गरिन्

yeskaram-maile

मृत्यु दुखद हुन्छ । मर्ने त मरेर जान्छ तर बाँच्नेलाई सोही कारणले असह्य पीडा, अभाव र छटपटि हुन्छ । बाँचुन्जेल दिएको मायाको अनुभुतिले एक्लोपनको महसुस हुन्छ । यतिबेला मलाईपनि यस्तै हुनुपर्ने हो, किनकी मेरा बुवाको मृत्यु भएको दुई दिन हुँदैछ । तर मलाई त्यस्तो अनुभुति भएको छैन, ममा त्यस्तो कुनै अभाव वा छटपटि लागेको पनि छैन । मेरा बुवा दिलबहादुर श्रेष्ठ अर्थात सानेबाबु । उनीले गरेको योगदानको चर्चा गरिदैछ, यतिबेला किनकी उनको मृत्यु भएको केही दिन हुँदैछ ।

यो बेला उनको बिषयमा चर्चा गर्नु वा बखान मात्र गाउँनु उपयुक्त हुन्थ्यो होला । तर म उनको जेठो छोरा भएर उनले हामीलाई बाँचुन्जेल दिएको सास्ती, कष्ट, अन्याय र अपमानका केही शब्द मात्र लेख्दैछु । पिता त्यो पिता हो जसले छोराछोरीलाई सत्कर्म, भबिश्य र जीवन जिउने आधार बनाईदिन्छ । पति त्यो पति हो जस्ले पत्नीको सिन्दुर र चुराको महत्व बुझ्छ । उनीहरुको रक्षा र भविश्यको गोरेटो कोरिदिन्छ । तर दुर्भाग्य दिलबहादुरले हामीलाई यो सब केही दिएनन् । बुवा र पतिको जिम्मेवारीपनि बोध गरिनेन् । सधै अपमान र तिरस्कारको घेराबन्दीमा परिरहे ।

भगवान रामपनि राजा थिए तर उनले बनबास जानुपर्यो । कारण थियो, आईमाई । महाभारतको युद्ध भयो, त्यसको कारणपनि थियो, आईमाई । बिजयको जीवन र भबिश्यपनि दिलबहादुरको आईमाई मोहले ओझेलमा पार्ने प्रयास भयो । मेरो आफ्नै पहिचान छ, म गीत लेख्छु , गाँउछु देशका लागि । धेरै गीतहरुले आफ्नै पहिचान बोकेका छन् शायद दिलबहादुरको पनि आफ्नै पहिचान होला तर उनले हाम्रो पारिवारिक पहिचानलाई नामेट पार्ने काम गरे ।

करिब ९ बर्षको हुँदा आमाको विवाह दिलबहादुरसँग भयो । आफ्नै हिन्दु परम्परा र संस्कृति अनुसार भएको विवाहको दुई बर्षपनि बितेको थिएन् । आमाको माइती धरानमा हो । घरमा श्रीमति हुँदाहँदै उनले अर्को विवाह गरे । भारत र पाकिस्तानबीचको द्धन्दका कारण इनरुवामा एक बंङ्गाली परिवार भागेर आएको थियो । उनीहरु शरणर्थीको रुपमा नेपाल आएको थिए । सोही बंङ्गाली जातिको एक युवतीलाई उनले भगाएर लुकाए । न जात मिल्ने, न रिवाज मिल्ने न त संस्कृति नै मिल्ने । आफ्नो मर्यादा र पारिवारिक दायित्वलाई भुलेका दिलबहादुरले एक नेपाली महिलाको शालिनतालाई प्रहार गर्न थाले । अबोध मेरो आमालाई एक्लो बनाएर महिलामाथिको अत्याचारको सुत्रपात गरे । अग्नीलाई साक्षी राखेर बैवाहिक जीवनमा बाँधिएका त्यो पवित्रतालाई झणभरमा नामेट पारियो । आमाको बिषयमा बोलिदिने को, अनि कस्ले आवाज उठाईदिने ।

किनकी कट्टर देशभक्तको दर्जामा त उनी नै कहलिएका थिए । शक्तिको हरेक हिस्सा उनीहरुको हातमा थियो । त्यहि दिनदेखि दिलबहादुरले चालेको कदमको चपेटामा हामी पर्यौ । मेरो जन्म २००८ सालमा भएको हो । म जन्मिदा आमा २० बर्षको पुगिसक्नु भएको थियो । ठुलोबुवा होमबहादुरले परिवारको झमेला मिलाउने प्रयास गर्नुभयो । दिलबहादुर महोत्तरीको जलेश्वरमा अञ्चलाधिश थिए, त्यो बेला । पतिसँग श्रीमतिले सँगै बस्ने ६ – ६ महिनाको पालो तोकिएको थियो । आमा त एकपल्ट जानुभयो, फेरि उसको (दिलबहादुरको कान्छी श्रीमति) पालो आयो । उसको पालामा गएर कहिल्यै नफर्केपछि अन्तत सबै सम्बन्ध टुट्न थाल्यो । समाज र कागजी रुपमा मात्र रहेको नाता कहिल्यै सुमधुर हुन सकेन । त्यसपछि हामीलाई शत्रुवत ब्यवहार गर्न थालियो ।

प्रसंङ हो, पञ्चायतीकालको । दिलबहादुरको कान्छी पट्टिको दुई छोरीको विवाह समारोह थियो, काठमाण्डौमा । हामीलाई कुनै खबरपनि गरिएको थिएन् । बैवाहिक समारोहमा रत्न मुमाले भनिबक्सेछ, ‘दिलबहादुर तिम्रो दुईवटा परिवार होइन, खै अर्को परिवार त देख्दिन् ।’
त्यो बेला हत्तपत्त हाम्रो खोजी भएछ । मेरो पनि त्यहाँ खोजी भएपछि मपनि पुगे । ढाका टोपी लगाएर तत्कालिन राजा बीरेन्द्रसँग भेट गराईयो । भेटका बेला दिलबहादुरपनि थिए, राजासँग मेरो चिनजान गराउँदै त्यो बेला दिलबहादुरले भने, ‘सरकार पथ्थरको देउता गीत लेख्ने यहि फटाहा हो ।’ त्यो बेला मलाईपनि मुख भरिको जवाफ दिन मन थियो, ‘फटाहाको बाउ महाफटाहा भनेर’ तर मैले आफुलाई सम्हालेर राखे ।
यो त जीवनमा सार्वजनिक भएका केही उदाहरण घटनाहरु मात्र हो । मेरो जीवनमा यस्ता धेरै घटनाहरु छन् जसले उनीहरु प्रति कहिल्यै सम्मान जागेन । एक आइमाईको षडयन्त्रमा फँसेका दिलबहादुरले पुख्यौली प्रतिष्ठालाई पनि यही कारणले ध्वस्त बनाए । उनले त परिवारलाई मात्र होइन, देशका लागि पनि केही सोच राखेनन् । उनी राजावादीपनि होइनन् र देशका लागि केही सोचपनि राखेनन् । कहिले राजाको बिषयमा नकारात्मक टिप्पणी गर्ने अनि कहिले राजाले बन्दुक बोक्न अधिकार दिएको छ भनेर गलत प्रचारबाजी गरे ।
जे होस्, धेरैलाई लाग्न सक्छ । यो ब्याक्तिगत बिषय हो भनेर ।

तर यो सन्र्दभमा ब्यक्ति एक पक्ष हो भने, ती ब्याक्तिले गरेको षडयन्त्र र अन्याय अर्को पक्ष । फेरि जो ब्यक्ति सार्वजनिक रुपमा चासोको बिषय बन्छ भने त्यहाँ ब्यक्ति ठूलो हुन सक्दैन । जब एउटा छोरालाई तिरस्कार गरिन्छ, अग्नी साक्षी राखेर विवाह गरेको पत्नीलाई जिउने आधार समेत दिईदैन भने त्यसको के अर्थ छ र जीवनमा हरेकको कर्तब्य र दायित्व हुन्छ । दायित्वबोध हुनेले मात्र आफ्नो संस्कार र जिम्मेवारी बुझेको हुन्छ । नामको मात्र बुवा भएर कर्तब्य पुरा हुने हैन । त्यसैले दिलबहादुरले बाँचुन्जेलसम्म छोराछोरी र पत्नीप्रति आफ्नो दायित्व र कर्तब्य बुझेनन् । जब बाँचुन्जेल कर्तब्य र दायित्व नबुझ्ने उनीप्रति हाम्रोपनि के दायित्व र कर्तब्य छ र । सुन्दा नमिठो र तितो लाग्न सक्छ, यर्थाथ तितो नै हुन्छ । कर्तब्य र दायित्व नुबुझ्ने उनको काजकिरिया गर्नु मैले पनि आफ्नो दायित्व र कर्तब्य ठानिन् त्यसलै मैले उनको किरिया गरिन् ।पूर्ब प्रवाह डटकमबाट

(स्व.दिलबहादुर श्रेष्ठका जेठा छोरा बिजय श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित