म कसरी सामन्ति बनेँ ?

दिपेन्द्र परिवर्तित
           दिपेन्द्र परिवर्तित

अहिले समाजिक सञ्जालमा धेरै वहसकाे विषय बनेकाे छ जातियता । प्राय उत्पिडित जातिकाे नेता वा बुज्रुक भन्न रुचाउनेहरूनै जातियताकाे विषयमा ज्यादा उत्तेजित हुने गरेका छन् । वर्गविहिन समाज बनाउन भनेर युद्ध लडेकाहरु नै अहिले उग्र जातिवादि बनेकाे देख्दा लाग्छ कि समाजबाट विभेदकाे अन्त्य सम्भव नै छैन । खास गरि नाक चुच्चाे हुनुलाइ सामन्तिकाे प्रतिककाे रूपमा लिने प्रचलन जातिवादिहरूले अगाडि सारेका छन् । अझ भनाैँ खस अार्य वर्णकाे जाे काेहिलाइ सजिलै भिराइ हाल्ने तक्मा बनेकाे छ सामन्तवाद, फरियावाद र बाहुनवाद । अनेकन वादहरूकाे भिडमा जन्मिएकाे सबैभन्दा कान्छाेवाद हाेला सायद बाहुनवाद । मलाइ लाग्छ वाहुन कुनैवाद वा जात हैन याे त केवल एक मानव समुदाय मात्रै हाे ।  वैदिक धर्मकाे अनुसरण गर्ने बाहुनहरु कुनैपनि हिसाबले सामन्ति हैनन् । यि त सत्कर्ममा विश्वाश गर्ने एक समुदाय मात्रै हुन् । यसकाे मतलब याे हैन कि बाहुनले दमन गरेकै छैनन् । खास समुदायका खास केहि मात्रै शक्ति सत्तामा रहने यथार्तता हामिले पनि नकार्न  सक्दैनाैँ ।

फेसबुकमा जनजातिका लाेकप्रिय एकजना बुद्धिजीवीले स्टाटस हानेछन् बाहुन एलिटहरुकाे कारण समग्र जनजाति उत्पिडित भए तसर्थ एलिटहरुकाे भण्डाफाेर नगरि हाम्रो मुक्ति सम्भव छैन ।मैलो तत्काल यसको प्रतिवाद गरेँ तर साथिले उल्टै मलाई बाहुनवाद र फरियावाद हुँदै नश्लवादकाे प्रतिफल भन्दै मेरो उपहास गरे ।  याे त उदाहरण मात्रै हाे बाहुन हेपिनु परेको समाजमा यस्ता लाखौंलाख उदाहरण छन् जाे बाहिर आएका छैनन् । सहअस्तित्व स्विकार्दै अगाडि बढ्न नचाहनेहरु यसरी जातिकाे विरोध गर्दै विदेशीलाई खुसि पारिरहेका छन् । आफू विभेदमा परेकाहरु अरुलाइ विभेद गर्नुमा मज्जा मान्छन् के यहि हाे लाेकतन्त्र ? मैले पटकपटक यसरी एलिट बाहुनवादकाे तक्मा भिरेकाे छु । कहिलेसम्म हामीले एक अर्काकाे अस्तित्व स्विकार्न नसक्ने यहि प्रश्न म हरदिन ऐना अगाडि उभिएर आफैँलाइ साेध्ने गर्छु ।

बाहुन समुदायका पनि केही सिमित व्यक्ति मात्रै शक्ति र सत्तामा पुगेका छन् सबै बाहुनले सत्ताको स्वाद चाख्न पाएका छैनन् । तथापि यहाँ अहिले यसरी भ्रमकाे खेति गरिँदैछ कि मानाैँ बाहुन बर्षाैँ देखि सामन्ती र शासकीय भुमिकामा छ र उसलाई दमन र उत्पिडनमा नपारि आफ्नो सत्ता स्थापना नै सम्भव छैन । खास गरि जातीयताकाे बीउ राेप्नेहरु के भन्न पछि पर्दैनन् भने बाहुनलाइ लखेटेर वा खेदेर मात्रै उनिहरुकाे पहिचान स्थापित हुन्छ नत्र बाहुनले दमन गरेर बर्षाैँ सम्म राख्ने छन् । यानकि अहिलेसम्म त दमित छाै नै अझै सयाैँ बर्ष यिनले दमन गर्ने छन् । अर्को हास्यास्पद कुरा के पनि छ भने जसले बाहुनवादकाे सत्ताेसराप गर्छ उसकै नेतृत्व आर्य मुलकाे छ । यसरी जनतालाई भ्रममा राखेर आफू सत्ताको माेजमस्तिमा रम्ने सामन्ती चाह भएको केही मान्छे यसरी जुरमुराएका छन् कि बाहुनकाे खेदाे नखनि तिनको मुखमा माड लाग्दैन ।

समाजमा विभेद पक्कै छ । जहाँ धनी र गरिब बिचकाे खाडल पुरिएको हुँदैन त्यहाँ विभेद हुनु कुनै नाैलाे कुरा हैन । तर जात वा जातिको नाममा सिङ्गो समुदाय माथि नै रिस पाेखेर आफ्नो मुक्तिकाे सपना देख्नु जति मुर्खता पनि अरु हुँदैन । इतिहास साक्षी छ कि समाज विकास र रुपान्तरणकाे क्रममा विभिन्न आन्दोलन भए युद्ध भए जहाँ हजारौंको बलिदान भयाे मर्ने सबै जातिका थिए रुपान्तरण सबै जातिको भयो तर सत्तामा उही पुग्यो जसले पुँजी र शक्ति सञ्चय गरेको थियो । यसरी सत्तामा कुनै समुदायको थाेरै हिस्सा पुग्दैमा पुरै समुदाय पुँजिपति वा सामन्ती भनेर व्याख्या गर्नु कत्तिको न्यायाेचित तर्क हाे ? आर्य मुलका केही व्यक्तिले सत्ता चलाइरहँदा मेरा बाकाे काेट फाटेकाे थियो । चुनाव आयो त्यहि बेला गाउँमा नेताहरू भाेट माग्न आए मेरा बाले कहिल्यै ती  नेता सँग  काेट मागेनन् गाउँकाे विकास र समृद्धि मागे तर नेताले सधैं विकासे नाराले नै टाले । अस्ति पनि शान्ति प्रक्रियामा आएको माओवादी जसबाट मेराे बाले विकास र समृद्धिकाे सपना देखेका थिए तिनकै नेता भाेट माग्न गाउँ आएछन् बुढा विश्वस्त थिए यसपटक त पक्कै विकास आउँछ विकासे नारा मात्रै आउँदैन गाउँमा बिजुली र सडक आउँछ , समाजमा विभेद रहँदैन सबै समान हुन्छन् । तर सपना उस्तै रहे पाेहाेर र यसपटक खै केही आएन खाेक्रा आश्वासन बाहेक । सडक त आयो तर त्यहि सडक काल बन्छ कि भन्ने चिन्ता थपियो बिजुलीको पाेल ठडिए घरमा मिटरबक्स जाेडियाे तर कुनबेला बत्ती आउँछ पत्ताे भएन । त्यो विकास बाहुनका लागि मात्रै आएको थिएन सबै जातजातिले उपभाेग गरेका थिए ।

माओवादीका ती नेता कुनै बाहुन थिएनन् तर मेरा बाले उनैलाई भाेट हाले किनकि बालाइ थाहा थियोे कुनै जात हुँदैन । विभेद हटाउनु पर्छ तर विडम्बना चुनाव जिते सँगै जातीयताका नारा यसरी उचालियाे कि मेरो बाकाे फाटेकाे स्टकाेटकाे प्वालले ती नेतालाई नै गिज्याएकाे भान हुन थाल्यो । बाहुन हुनु नै अभिशाप बन्यो । कसैले चाहेर बाहुनकाे काेखमा जन्मने हैन भन्ने कुराकाे समेत ख्याल नगरि हामीलाई जबर्जस्ती सामन्ती बनाइयो । मानाैँ कि हाम्रो शरिरमा बगेको रगत र उत्पिडितकाे रगत मै भिन्नता छ त्यसैले हामीलाई उनिहरु सखाप पार्न चाहन्छन् । मेरा बाले बिहान बेलुकी ज्याला मजदुरि गरेर पालेका हामीलाई सरकारले हाम्रो छुट्टै खाता बनाएर रकम पठाएको छ । यत्ति सम्म संकिर्ण मानसिकता राखेर जातीयताकाे बीउ राेपे कि मानाैँ मानव जातिको ईतिहास नै बाहुनले गायब पारेका छन् । पृथ्वीनारायण र हाम्रो गाउका पुरेत नरनारायण एउटै खान्दानका हैनन् तर पनि किन हाम्रो पुरेत सामन्ती बने ? धर्मको प्रचार गर्ने पाश्चरहरु पुजिने तर आफ्नो माैलिक धर्मको संरक्षण गर्ने बाहुन किन अपहेलित हुने? हरेक दिन मेरो मथिङ्गलमा घुम्ने प्रश्न हाे याे तर म यसको जवाफ काेबाट पाउने बाहुन या जनजाति ! खै मलाई थाहा छैन म कसरी बाहुनकाे काेखमा जन्मिए । मैले स्वास्थ्य पढ्दा सँगै जनजाति साथिले नि एउटै विषय पढेको थियो उसले बाहुनलाइ सामन्ती भन्न जानिसक्याे तर म आफू सामन्ती भएको स्विकार्न सकिरहेको छैन ।

मेरो साथि अचेल साइन्स पढ्दै छ उ जनजाति तर म बाहुन बाउकाे ऋण चुक्ता गर्न खाडीमा मजदुर बनिरहेको छु अब म स्वयंम मलाई कसरी सामन्ती भन्ने ? जसले मलाई सामन्ती देखिरहेको छ उसलाई पनि थाहा छैन कि म कसरी सामन्ति बनेँ भनेर मात्रै उ फलाकि रहेछ फरियावाद र बाहुनवाद भनेर । यहाँ जसलाई जे भन्न मन लाग्छ भन्ने छुट छ तर बाहुनले आफ्नाे अस्तित्व जाेगाउने छुट छैन । कुनै पनि सिद्धान्त वाद हुन के के आवश्यक छ त्याे बाहुनकाे पछाडि वाद थप्नेहरुलाइ याद छैन किनकि ती त भ्रमकाे खेति गरेर आफ्नो समुदायको मालिक बन्न चाहिरहेका छन् । हाे हाम्रो समुदायका केही प्रतिशत मान्छे राज्यको मुलधारमा थिए तिनले दमन गरे हाेलान् तर त्यो दमन बाहुनले पनि नभाेगेका हैनन् । संसारमा सबैभन्दा दमित त त्यहि हुन्छ जाे गरिब हुन्छ ।
जनजातिका धेरै मान्छे अहिले मुलधारकाे राजनीति गर्दैछन् तर खै त गाउँका जनजातिकाे जिवनस्तर उकास्सिएकाे ? हामीलाई थाहा छ कि राज्यको मुख्य तहमा पुग्नेहरु सधैं पद र प्रतिष्ठाका लागि भ्रम छर्ने गर्छन् । हामी त्यहि भ्रमलाइ वास्तविकता भन्दै आपसमा लडिरहेका छाैँ । हाम्रो लडाइँले तिनको कुर्सी जाेगिएकाे छ । सामाजिक कुसंस्कार अन्त गर्नुपर्ने ठाउँमा उल्टै थपिएको छ । यसरी लादिएकाे नयाँ कुसंस्कार रहेसम्म समाज समुन्नत हुँनै सक्दैन । हामीले शाेच्ने समृद्धि हाम्राे पालामा आउने त परै जाओस् देशकाे अस्तित्व समेत धरापमा पर्नेछ । त्यसैले आउ साथि बहस जातीय हैन वर्गीय गराैँ समाज विकास र समृद्धिका कुरा गराैँ । सहअस्तित्व स्विकार्दै नवीन समाज निर्माण गराैँ ।
हाे तिम्रो संस्कार र संकृतिकाे जगेर्ना गर्न म पनि लाग्ने छु र मेरो संस्कृति जाेगाउन तिमी पनि लाग । कतै सँगै सुत्दा लात्ती लागेछ भने छिमेकी नगुहाराैँ आपसी समझदारीमै समस्या समाधान गराैँ । केहि गरि मेरो जनैले तिम्रो अपमान गर्याे भने म तयार छु मेरो जनै फाल्न तर कदापि तयार छैन हाम्रो मित्रता टुटाउनु । तिम्रो ल्हाेसार म नि मान्छु यदि तिमिलाइ मान्य छ भने तिमि पनि मान मेरो चाड तर जबर्जस्ती छैन । हाे हामीले हाम्रो सहअस्तित्व स्विकारेनाैँ भने एक दिन न तिम्रो ल्हाेसार रहने छ न मेरो दशैँ । न त तिम्रो पहिरन न मेरो कछाड । त्यसैले आउ हातमा हात मिलाउन बनाउनु छ हाम्रो देश र चिनाउनु छ दुनियाँलाई बुद्ध र सगरमाथाकाे देश भनेर । हामी आपसमा लडेर बुद्धकाे अपमान नगराैँ अनि शिर निहुराउँदै सगरमाथाकाे पनि । कहिलेसम्म हात पसार्ने पराइतिर ? सम्झ त बा आमाको काखमा लाखौंलाख युवाले लडिबुडि गर्न पाएका छैनन् के तिनको पनि मन छैन हाेला र आफ्नै देशमा परिवार सँगै रमेर बस्ने ? त्यसैले अब ढिला नगरि कन बनाउनु छ हाम्रो देश साथी तिमी इट्टा राख म सिमेन्ट घाेल्ने छु तर एकले अर्काको काम प्रति सधैं सम्मान गर्न सिकाैँ । कसैलाई आरक्षण हैन क्षमता प्रदान गराैँ । तिमिलाइ मनलागेकाे तिमी खाउ मलाई मन लागेको म खान्छु तर नखाँउ पराइ देशकाे पसिना । कहिलेसम्म वस्तु आयात गरेर खाने उत्पादन गराैँ अन्नबालि अनि गराैँ सहकार्य । तिमी माक्र्सवाद, माओवाद वा मान लेलिनवाद मलाई पनि छुट छ समाजवाद मान्न तर हामीलाई इतिहासले छुट दिएको छैन कि पराइकाे अस्तित्व स्विकार्न । त्यसैले आउ साथि हातमा हात मिलाउन ।

प्रतिक्रिया

सम्बन्धित