विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन , अध्यक्षमा विवश पोखरेल

विराटनगर ।  विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो ।

बैठकले सरला चापागाईंलाई उपाध्यक्ष र सदस्यसचिवमा साहित्यकार दिङ्लाली कान्छो (दिनेशराज सुवेदी)लाई मनोनयन गरेको छ । कार्यपालिका बैठकले माया पौडेल आशावादी (नृत्य÷गीतसंगीत), गंगा सुवेदी (ललितकला), प्रा. भूषण ढुंगेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य÷रंगमञ्च) र शिवनारायण पण्डित सिंगललाई (मातृभाषा) कार्यसमिति सदस्यमा मनोनित गरेको छ । 

मेयर नागेश कोइरालाको प्रस्तावमा अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको नाम कार्यपालिकाले अनुमोदन गरेको थियो । त्यस्तै प्राज्ञसभा सदस्यमा प्रा.डा. हरिहर भण्डारी, हाँस्यव्यङ्ग्यकवि लक्ष्मण नेवटिया, कवि गोकुल अधिकारी, गायक रामा मण्डल, साहित्यकार हरि कट्टेल, कवि भेषराज पोखरेल, साहित्यकार रामबाबु दाहाल, निर्देशक तथा कलाकार केशव रायमाझी, साहित्यकार डा. विमला श्रेष्ठ, कवि सविता गौतम दाहाल, साहित्यकार शुभलक्ष्मी लम्साल र कलाकार इन्द्र परियारलाई कार्यपालिका बैठकले मनोनित गरेको छ । 

महानगरले प्रज्ञा प्रतिष्ठान गठनका लागि गत पुसमा सम्पन्न नगर परिषद्बाट ‘विराटनगर प्रज्ञा प्रतिष्ठान ऐन–२०८०’ पारित गरेको थियो । सोही ऐनका आधारमा कार्यपालिका बैठकले प्रतिष्ठान गठन गरेको हो । पहिलोपटक गठन गर्दा कार्यपालिका बैठकले सिधै प्रतिष्ठान गठन गर्न सक्ने ऐनमा व्यवस्था छ ।

त्यसपछि भने प्रमुखको संयोजकत्वमा सिफारिस समिति गठन गरेर प्रतिष्ठान गठन गर्ने व्यवस्था छ । सिफारिस समितिमा उपप्रमुख, कार्यपालिका सदस्यमध्येबाट २  जना, भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिमध्ये महानगर प्रमुखले तोकेको २ जना सदस्यसहितको सिफारिस समिति रहने ऐनमा व्यवस्था छ । 
प्रतिष्ठानले विराटनगरका भाषा, साहित्य, कला, संस्कृतिलगायतका क्षेत्रमा कार्य गर्ने मेयर कोइरालाले बताउनुभयो । त्यस्तै कार्यपालिका बैठकले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहमा कार्यरत कर्मचारीको तह वृद्धिसमेत गर्ने निर्णय गरेको छ ।

स्थानीय सरकारी सेवा ऐन (गठन तथा सञ्चालन) ऐन २०८० मा भएको व्यवस्थाअनुसार २३ जना कर्मचारीहरूको तह वृद्धि गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । सहायकस्तर पाँचौंदेखि अधिकृतस्तर छैटौं तहमा १२ जना र अधिकृतस्तर सातौंदेखि अधिकृतस्तर आठौंमा ११ जनाको तहवृद्धि गरिएको उहाँले बताउनुभयो । 
 

प्रतिक्रिया

सम्बन्धित