भाेजपुरका आधा किसान बंगुर पालनमा आकर्षित : कम समयमै मनग्गे आम्दानी

भोजपुर । जिल्लाका पशुपालक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् । भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी १६ लाख खर्चेर १० माउ पोथी र एउटा भाले बङ्गुरबाट व्यावसायिक रूपमा सुरु गरेको बङ्गुरपालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन गराएको बताए । 

किसान सुवेदीले पालेका बङ्गुर तराईका विभिन्न जिल्लासँगै काठमाडाै‌सम्म बिक्री हुन थालेपछि उनी उत्साहित भएका छन् । सबै खर्च कटाएर वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको उनले बताए । स्थानीय जातको बङ्गुरभन्दा उन्नत जातको बङ्गुरबाट चाँडो आम्दानी लिन सकिने उनले बताए । उनले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बङ्गुर पालेका छन् । स्थानीय जातका बङ्गुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बङ्गुर एक सयदेखि एक सय ८० किलोम्म हुने गरेको छ । 

खेतबारीमा रमाउने किसान सुवेदीले बङ्गुरपालन मात्र होइन, फलफूल खेती पनि गरेका छन् । उनका खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन् । यो याममा एभोकाडोबाट पाँच लाख आम्दानी गर्ने लक्ष्य उनले सुनाए । स्वदेशमै श्रम गरे विदेशिनु पर्दैन भन्ने सन्देश युवा वर्गमा प्रवाहित गर्नुपर्नेमा जोड दिएका छन् । यसैगरी भोजपुर नगरपालिका–९ का भोला तामाङले पनि व्यावसायिक रूपमा बङ्गुरपालन सुरु गरेका छन् । उनले मोक्तान कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यवसाय थालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित