लघुकथा : प्रायश्चित - श्रीप्रसाद पोखरेल

"ए मनुवा मलाई किन निमोठेको ?" पुष्पवाटिकामा फूलले मलाई सोध्यो ।
मैले फूललाई भने "हेर तिमीलाई भगवानको शिरमा चढाउँछु नि।"
फूलले चित्त दुखाएर भन्यो "तिम्रो बगैँचामा म अटाउन सकिन हगि ? तिम्रो आँखालाई मैले सुन्दरता पनि दिन सकिन र ढुङ्गामा लगेर मलाई मिल्काउँछौ?
"मेरो आस्थालाई तिमी ढुङ्गा भन्छौ ?" मैले प्रतिप्रश्न गरेँ ।
" हो मेरा पुर्खालाई तिम्रा पुर्खाले सियोले रोपेर कहिले तुरलुङ्ग झुन्ड्याए, कहिले ढुङ्गामा पछारे। तिम्रा आफन्तले मेरा आफन्तलाई पुराणका नाममा जथाभाबी चुँडेर ढोँगीको गला सजाय । "काम सक्यो भाँडो आफल तेरो ठाँडो भनेझैँ" र रछ्यानमा मिल्काए। तिमी पनि मलाई र मेरा सन्तानलाई यसै गर्दैछौ । भन तिम्रा पुर्खा र तिमीले के पायौ ?"
म अन्यमनस्क भएँ । पछुतो मान्दै मैले भने "अहो ! त्यसोभए म प्रायश्चित गर्छु ।"
केही मुस्कानकासाथ "भन प्रायश्चित कसरी गर्छौ ?" फूलले भन्यो ।
म केही बोल्न नसकेर वाटिकामा "फूल टिप्न मनाही छ" भनेर बोर्ड राखिदिएँ ।

प्रतिक्रिया

सम्बन्धित