मायाको डोरी बाँध्ने बुढासुब्बा

भ्यालेन्टाईन डे कसरी मनाउँदै हुनुहुन्छ ? कोहि प्रेमजोडीसँग डेटिङ जाँदै होलान्, कोहि हातमा फुल र उपहार बोकेर प्रेमी प्रेमिकासँग प्रेम दर्साउँदै होलान् । बुढासुब्बा मन्दिर क्षेत्रमा भने भ्यालेन्टाईन डे मात्र होईन अरुबेला पनि मायाको डोरी बाँध्नेहरुको भीड लाग्छ । धरानको विजयपुर स्थित बुढासुब्बा मन्दिर धेरैका लागि धार्मिक स्थल होला तर युवापुस्ताका लागि यो धार्मिक भन्दा बढी मायाको डोरी बाँध्ने ठाउँ हो । बुढासुब्बा मन्दिर छेउमा बाँस झ्याङ छ । अधिकांश बाँसका टुप्पा छैनन् ।

शिकार खेल्दै त्यहाँ पुगेका बुढासुब्बाले आफ्नो गुलेली र मट्याङ्ग्रा त्यहिं छाडेर समाधी लिएको किंवदन्ती पाईन्छ । गुलेलीको बाँस भएकाले बुढासुब्बाका बाँसमा टुप्पा नभएको कथा पाईन्छ । त्यस अवसरको क्षेत्रमा ठूला मट्याङ्ग्राहरु भेटिने हुनाले पनि यस्ता किंवतन्दीलाई बल पुगेको छ । तिनै टुप्पा नभएका बाँसमा केही वर्षअघि सम्म मन्दिर पुग्ने युवायुवतिले आफ्ना प्रेमीका नाम खोप्ने चलन थियो । बाँसमा नाम खोपिएको प्रेम अमर हुन्छ भन्ने विश्वास गरिन्थ्यो । बाँसमा नाम लेख्ने युवायुवतिको संख्या दिनानुदिन बढ्दै भयो । जथाभावि नाम खोप्दा बाँस सुक्ने र मर्ने क्रम सुरु भयो । त्यसपछि मन्दिर व्यवस्थापन समिति र स्थानीयले बाँसमा खोप्न बन्देज लगाएर बाँसको वरिपरी तार जालीले छेके । तर प्रेम गर्नेलाई कस्ले छेक्न सक्छ र ।

उनिहरुले नयाँ उपाय निकाले डोरी बाँध्ने । अहिले बुढासुब्बाका बाँस वरिपरि मन्दिरको प्रसादका रुपमा प्रयोग गरिने मालाका डोरी बाँधिन थाल्यो । केहि वर्षअघि बाट सुरु भयो डोरी बाँध्ने प्रचलन अहिले यति व्यापक भएको छ कि, बाँस झ्याङ वरिपरि रंगीचंगी डोरी नै न.डोरी देखिन्छ । डोरीले झपक्कै छोपेको छ बाँसको तल्लोभाग । बुढासुब्बा मन्दिर छेउका स्थानीयवासी लक्ष्मण श्रेष्ठ भन्छन् ‘बुढासुब्बा आउने युवायुवतिहरु प्रेमीका नाममा डोरी बाँध्दा आफ्नो प्रेम सफल हुन्छ भन्ने विश्वास गर्छन् । त्यसैले यहाँ आउने अधिकांश युवायुवति डोरी बाँधेर फर्किन्छन् ।’

मन्दिरको बाँस वरिपरि मायाको डोरी बाँधेपछि आफ्नो प्रेम सम्बन्ध दिगो हुने विश्वास गर्ने युवायुवति प्रसस्त भेटिन्छन् । त्यसैले त झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी लगायतका जिल्लाबाट समेत बुढासुब्बामा मायाको डोरी बाँध्न धेरै जना आईपुग्छन् । प्रेम जोडीहरु मन्दिरमा पुजा गरेर एकअर्कालाई माग्छन् अनि डोरी बाँधेर आफ्नो मायाको सम्बन्धपनि यस्तै कसिलो हुने विश्वास गर्छन् । भ्यालेन्टाईन डेको यो मौसममा त बुढासुब्बा वरिपरी प्रेम जोडीहरुको बाक्लै उपस्थिति देखिन्छ । बुढासुब्बासँगै विजयपुरको पञ्चकन्या, पिण्डेश्वर, तिनधारे, दुईधारे, दन्तकाली लगायतका ठाउँमा डेटिङमा रमाउनेहरु भेटिन्छन् । विजयपुरका वासिन्दा गोविन्द मैनाली भन्छन् ‘विजयपुर धर्म गर्नेका लागि र प्रेम गर्नेका लागि उत्तिकै प्रसिद्ध छ ।’

प्रतिक्रिया

सम्बन्धित