यादका चाङ (कविता) : भरत गुरागाईँ बर्बरिक

हिँड्दा हिँड्दै भेटियौँ
हिँड्दा हिँड्दै छुट्टियौँ ।
अरु के पो भएको छ र ! 

त्यहाँ भेटिएका थियौँ
जहाँ घाम लागेको थियो,
क्षणिक नै भए पनि
अहिले ग्रहण लागेको छ,
ग्रहणको सुरुङभित्र छिरेको छु । 

साँझले छोप्दै गरेको
निर्जन बाटो थियो र पो सँगै थियौँ,
निराशा थियो, मृत्युबोध थियो,
हातलाई हात चाहिएको थियो
साथलाई साथ चाहिएको थियो,
समथर भूगोल आयो,
आँखाभरि झुलुक्क घाम आयो
एक्लै एक्लै हिँड्न सक्ने भएका छौँ  । 

हिँड्दा हिँड्दै
दोबाटो आयो
चौबाटो आयो
तिमी त्यो बाटो हिँड्ने भयौ
म यो बाटो हिँड्ने भएँ,
हिँड्दा हिँड्दै भेटिएका थियौँ
अब फेरि नभेटिने भयौँ । 

उता निर्बन्ध जिन्दगी छ
यता यादका थोरै चाङ छन् ,
उता उन्मुक्त बाटाहरु छन् 
यता गोरेटो पनि हराउँदै छ,
सबैको लागि बाटोको गणतन्त्र कहाँ हुन्छ र ! 

अब त्यो ऐना तिमीले कहिल्यै हेर्नु पर्ने छैन
जहाँ तिम्रो अनुहारमा
मेरो प्रतिबिम्ब देखिने गर्थ्यो,
त्यो पुस्तक कहिल्यै पढ्नुपर्ने छैन तिमीले
जसको हरेक अध्यायमा मेरो खोजी हुने गर्थ्यो । 

रुख होइन, झरेको पात भएको छु
पहाडमा ठोक्किएको बादल भएको छु
त्यो ओरालो गड्तिर भएको छु
जसलाई हरपल नदीले छोडेर जाने गर्छ । 

थोरै यादका चाङहरु छन् 
जतन गरेर राख्नेछु,
मलाई चितासम्म काम लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित