देशदेशान्तरका २०१ जना स्रष्टा ‘नइ कृति रत्न’ अलङ्कारद्वारा विभूषित

सुन्दरहरैँचा/ नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले विभूषित गरेको छ । समारोहमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा.मुकुन्दशरण उपाध्याय, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, गौरवी नारी भद्रकुमारी घले र महाप्राज्ञ वैरागी काइँलाकाे बाहुलीबाट स्रष्टाहरूलाई ‘नइ कीर्ति रत्न’ समर्पण गरिएको थियो । सोही अवसरमा सम्पूर्ण स्रष्टा र नइ प्रकाशन, त्रिमूर्ति निकेतन र वानीरा फाउन्डेसनका सदस्यहरूबाट संयुक्त रूपमा भगवती बस्नेतद्वारा सम्पादित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन : कीर्ति तथा आकृति’नामक दुईवटा ग्रन्थको लोकार्पण गरिएको थियो ।

नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन , कर्मबाट पुर्याइएको विशिष्ट योगदानको कदर गर्दै नइ प्रकाशनबाट नेपाली भाषासाहित्यका २०१ जना स्रष्टाहरुलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गरिएको समारोहका अध्यक्ष प्रसाइले जानकारी दिइन् ।

जसमा मोरङ सुन्दरहरैँचा नगरपालिकामा स्थाइ बसोबास गर्नुहुने सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेलाई नइ कीर्ति रत्न अलङ्कारद्वारा विभूषित गरिएको छ। लामो समयदेखि नेपाली भाषासाहित्य कला संस्कृतिका लागि आफ्नो जीवन समर्पित गर्नुहुने स्रष्टा छवि वैरागी घिमिरेका अहिलेसम्म नौ ओटा कृतिहरू प्रकाशित भएका छन् । घिमिरेद्वारा लिखित नवौं कृति किनारीकृत माइली नामक खण्डकाव्य अहिले नेपाली साहित्य जगत्मा पाठकहरूले मन पराएका छन । विमोचन भएको तीन महिनामा तेस्रो संस्करणमा छलाङ मारिसकेको साहित्यकार घिमिरेले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित