कविता : उम्दा युवाहो जुट

काम्ने लुग्लुग हात धर्खर हुँने नाडी न दिन्छन भर
टेक्दैनन् सहिठाउँमा पयरले आँखा नदेख्छ्न् पर
डाँडाका शशि घामले शिशिरका पत्ताहरूले अब
सक्दैनन् अब देश हाँक्न यिनले उम्दा युवाहो जुट

हाई प्रेसर बाथले सुगरले छन् ग्रस्त रोगीहरू
हौँ भन्ने सतिसाल र्‍याल चुहिने छन् धुर्त ढोँगीहरू
चिन्ताग्रस्त दिमाग सोच्छ कसरी ठानौँ बनी उत्सुक
सक्दैनन् अब देश हाँक्न यिनले उम्दा युवा हो जुट

राेहिणि रसिक

फेरिन्छन् घरका निदाल जसरी डाँडा पुराना भए
फ्याकिन्छन् जसरी नकाम कपडा भाडा पुराना भए
फ्याक्नै पर्दछ देशका अरिहरू ठान्नेहरू हो उठ
सक्दैनन् अब देश हाँक्न यिनले उम्दा युवा हो जुट

ती शिद्धान्त विचार वाद अमिला तीता कुहेका फल
टल्कन्नन् कहिल्यै भए विफल ती सारा पुराना दल
नेता भ्रष्ट अवैध तस्कर खुनी पालेर के मिल्छ र
सक्दैनन् अब देश हाँक्न यिनले उम्दा युवा हो जुट।

साच्चै देश बनाउने यदि भए उस्दादका पाखुरा
छोडौँ बेच्न मिलेर नागरिकता रोपौँ नयाँ आकुरा
कारागार सहस्र थुन्न सकिने पारौँ तयारी उठ
सक्दैनन् अब देश हाँक्न यिनले उम्दा युवाहो जुट।

छोडौँ बन्न गुलाम वेचिन कतै सम्पत्तिको लोभमा
बोकौं राष्ट्रिय सार्वभौम सरिता त्यागेर सम्मोहन
आशा केन्द्रित जिन्दगी कति जिऔं केही गरौं लौ उठ
सक्दैनन् अब देश हाँक्न यिनले उम्दा युवा हो जुट।

– विराटनगर

प्रतिक्रिया

सम्बन्धित