कविता : मनको कुनामा – कमला प्रसाई

मनको कुनामा अन्यायको विरूद्ध
ज्वाला जन्मन्छ त्यहीँ ज्वाला भित्र नयाँ युगको शुरूवात हुन्छ,
अत्याचार गरेर स्रष्टाको जीवन क्रुर बनाउने मान्छे
ठुलो छाती बोकेर स्रष्टाकै भिडमा हिडिरहेको हुन्छ।

मैले सुनेकी छु,
मैले देखेकी छु!
यो मान्छे लाजले आफ्ना गल्तिहरु छुपाउन
जे पनि अभिनय गर्न जान्दछ
शरीर ढाक्न एकसरो कपडा लगाएर
अरुलाई झुट र वनावटी कुराले ढाक्न जान्दछ!

कमला प्रसाई

विचित्रको छ यो मान्छे !
पिडाको दुखाईमा सुतिरहेको वेला
अत्याचारको रेखा कोर्न खोज्दा
उसका हातहरू फेरि अगाडि बढाउन चाहन्छ!

अनि
कहिले आकाश नै थर्काउने गरी
चिच्याई- चिच्याई आवाज निकाल्दछ
कहिले लाखौं मुटुहरूको ढुकढुकी छाम्ने प्रयत्न गर्दछ
साँच्चै नै यो मान्छे जे पनि जान्दछ!
अपराम्पार छ यो मान्छे
कहिले साधु त कहिले चोर
यो मान्छे जे पनि बन्दछ
यो मान्छे जे पनि जान्दछ।

प्रतिक्रिया

सम्बन्धित