( कविता ) आमा र कैली गाई : भरत गुरागाईँ बर्बरिक (भिडियाे सहित)

आमा हुनुहुन्थ्यो र
कैली गाई थियो,
सम्झिँदा पनि कथा जस्तै लाग्छ ।

कहीँबाट सस्तोमा
आमाले डोर्‍याउँदै ल्याउनुहुन्थ्यो
लिखा र किर्नाले पुरिएको दुब्लो बाछी,
बर्ख दुई बर्खमै
पुष्ट फाँचो भएको
चिल्लो कैली गाई बन्थ्यो,
हामी नाच्थ्यौँ आँगनमा
बिगौतीले नचाउँथ्यो,
सातपोके बाँध्नुहुन्थ्यो आमा
र भन्नुहुन्थ्यो – गाई र माई एकै हुन् बाबू !
हामी आमाको कुरालाई आदर्श मान्थ्यौँ ।

हामी नाच्थ्यौँ आँगनमा
दारको ठेकीमा पारेको महीले नचाउँथ्यो,
बासी भातमा मही हालेर
नुन छर्किदिनुहुन्थ्यो आमाले
हामी स्वामस्वाम रमाउँदै खान्थ्यौँ,
रातो कोइलामा नौनी चुहाउनुहुन्थ्यो आमा
सायद विश्वास चुहाउनुहुन्थ्यो
र भन्नुहुन्थ्यो – भगवानलाई चढाउनु पर्छ,
धुवाँबाट मगमग बास्ना आउँथ्यो
हामी आमाको कुरालाई धर्म मान्थ्यौँ ।

कैली गाई कहिल्यै लामो समय
रहँदैनथ्यो हाम्रो घरमा
हामी नभएको मौका पारेर आमाले
कैली गाई बेच्नुहुन्थ्यो र
लगत्तै लिखा र किर्नाले पुरिएको
अर्को बाच्छी ल्याउनुहुन्थ्यो,
हामी रित्तो आँगनमा उभिएर
आमे डामे आमे डामे भन्दै
आमासँग रिसाउँथ्यौँ ।

मेरो छोरोलाई कैली गाई थाहा छैन,
लिखा र किर्ना थाहा छैन,
फाँचो र बिगौती थाहा छैन,
सातपोके थाहा छैन,
दारको ठेकी र मही थाहा छैन,
मदानी र नेती थाहा छैन,
कोइला र नौनी थाहा छैन,
उसलाई आमा पनि थाहा छैन ।

अहिले त आमा पनि हुनुहुन्न र
कैली गाई पनि छैन,
जब छोरोले पैसा माग्छ मसँग
अनि म बुझ्ने गर्छु-
आमा किन कैली गाई
पटक पटक बेच्नुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित