“आफ्नै भूगोल” मा फन्को मार्दा : लक्ष्मण आचार्य

कवि लक्ष्मीप्रसाद कोइराला समकालीन नेपाली कविता विधाका एक सिजर्नशील कवि हुन् । उनको पहिलो कविता सङ्ग्रहका रूपमा हालै मात्र ” आफ्नै भूगोल ” नामक कविता सङ्ग्रह बजारमा आएको छ । पेशाले शिक्षण क्षेत्रमा आबद्ध उनी फुर्सदको समयमा साहित्यमा क्रियाशील रहेको देखिन्छ । विशेषतः कविता विधामा रुचि राख्ने उनले छिटपुट रूपमा निबन्ध विधामा पनि कलम चलाएको पाइन्छ । कृतिकारका रूपमा “आफ्नै भूगोल” उनको पहिलो कविता कृति भए तापनि अन्य विधासँग सम्बन्धित् उनका आधा दर्जन जति कृतिहरु प्रकाशोन्मुख अवस्थामा उनीसँग सुरक्षित छन् ।

नेपाली समाजमा पछिल्लो समय देखापरेका सामाजिक राजनीतिक एवम् साँस्कृतिक विषयमा यस सङ्ग्रहमा परेका अधिकांश कविताहरू केन्द्रित रहेका छन् । समयबोध, जीवन र जगतका यावत् अनुभूति र वैयक्तिक र पेशागत अनुभव अनुभूतिका विविध दृष्टिकोणहरू यस सङ्ग्रहमा प्रकट भएका छन्। मञ्जरी पब्लिकेसन्सले प्रकाशन गरेको उक्त कविता सङ्ग्रहमा छोटा र मध्यम आकारका गरी अठ्ठाईस थान गद्य कविताहरू सङ्ग्रहित रहेका छन् । यी कविताहरूमा विविध भाव तथा विषयवस्तुहरूको प्रस्तुति समेटिएको पाइन्छ । कवि कोइराला नेपाली समाजको बद्लिँदो सामाजिक , राजनीतिक एवम् साँस्कृतिक विषयवस्तु एवम् घटनाबाट प्रभावित भएर कविता सिर्जना गर्ने संवेदनशील कवि हुन् ।

अधिकांश कविताको भावभूमि हेर्दा वि.स. २०६२/६३ को जनआन्दोलनको घटनापश्चात नेपाली राजनीतिक एवम् सामाजिक घटना क्रममा केन्द्रित रहेको पाइन्छ । यस कृतिमा कवि कोइरालाले नेपाली समाजको बिगत र आगतको वस्तुस्थितिलाई ग्राम्य भाषाशैलीमा पस्किएका छन् । “ कला कलाका लागि मात्र नभई समाजका लागि पनि कला हो ” भन्ने दार्शनिक मान्यताका पक्षपाती कवि कोइरालाले कतिपय कवितामा दृश्यात्मक भाषाशैली अपनाएका छन् ।

 

समसामयिक घटनाहरूलाई पछ्याउँदा उनका कतिपय कविता भने समाचारमूलक, पेसागत अनुभव अनुभूतिपरक बन्न पुगेका छन् । कतिपय कविता भने विशुद्ध वैयक्तिक , पेशागत अनुभव अनुभूति एवम् पारिवारिक घटनाहरूबाट समेत प्रभावित भएको पाइन्छ । कतै उनी नयाँ युगको आव्हान गर्दछन् भने कतै धेरै भाषणबाजीमा रमाउने र काम नगर्ने नेताहरूलाई सचेत गराउँदै धेरै बास्यौँ भनी कुर्लन पुग्छन् । कविता सङ्ग्रहमा कविले कतै राष्ट्र र राष्ट्रियताप्रति सचेत हुँदै चिन्तित भाव व्यक्त गरेका भने साहित्य सिर्जनामा रमाउन चाहने नव सर्जकहरूलाई जसरी सकिन्छ त्यसरी कुनै न कुनै रूपमा ” जुनसुकै शैलीमा लेख ” भनेर सिर्जनामा लाग्न आग्रह गर्न पुगेका छन् ।

लेख कविता
आफूलाई
मन लागे जतिका
सबै कविताहरू
जुनसुकै शैलीमा लेख ।
( जुनसुकै शैलीमा लेख : पृष्ठ २८)
देशलाई नारी शक्तिको खाँचो परेको भन्दै छोरी चाहियो शीर्षकको कवितामा देशमा महिलालाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेको आशय अभिव्यक्त भएको छ ।

काम गर्ने कालू अनि मकै खाने भालु
उखान घोक्दा घोक्दा धेरै दुःख पाइयो

कालीगोरी जस्ती हुन्छे छोरी चाहियो
छोरी नहुँदा प्रधानमन्त्री धेरै दुःख पाइयो
(छोरी चाहियो : पृष्ठ २४)

बेलाबेलामा छिमेकी देशले लगाएको नाकाबन्दी र देशमा सञ्चालित विभिन्न आन्दोलनले बिथोलेको सामाजिक सद्भाव र उत्पन्न परिस्थितिप्रति संवेदनशील हुँदै वास्तविक फटाहाहरूलाई चिन्नुपर्ने कुरा आग्रह गर्दै ती तिनै हुन् भनी पाठकलाई बोध गराउन अग्रसर हुन्छन् ।

नाकाबन्दी लगाएर
ताली बजाउनेहरू
जङ्गे पिलर उखेलेर
सुस्ता, महेशपुर चिथोर्नेहरू
ती तिनै हुन्
( ती तिनै हुन्…..! पृष्ठ ३२)

आफ्नो वैयक्तिक जीवनमा आइपरेको विषम परिस्थिति र रोगले गाँजेको पारिवारिक अवस्थाप्रति संवेदनशील हुँदै ओ अप्रेसन कवितामा आफ्ना भाव यसरी पोखेका छन् :

प्रायः म पर्खिरहन्छु
अप्रेसन कक्षमा
सावधान सावधान
किनकि ,
त्यो रोगलाई लखेट्न
म तिम्रो प्रेममा
परेजस्तो छु , हो
ओ ! अप्रेसन !!
प्रेममा परेजस्तो छु
( ओ अप्रेसन : पृष्ठ ४४/४५)

त्यसैगरी प्रकृति , राष्ट्र राष्ट्रियताका विविध विषयहरू पनि यस सङ्ग्रहमा पर्याप्त परेका छन् । प्रकृति र मेरो सिकाइ, बाँदरको बिगबिगी , समयबोध, सूचना त्यस्तै कोटीका कविताहरू हुन् । कवितात्मक व्यङ्ग्य चेतसहित कविता रचना गर्नु कवि कोइरालाको अर्को महत्त्वपूर्ण काव्यिक विशेषताको छनक यस सङ्ग्रहमा मज्जाले अनुभूत गर्न सकिन्छ । दादावादी, पर्व, बोकाको हालखबर, लौ हेर पशुपति नेपालको गति शीर्षकका कविताहरूमा समेटिएका भाव विन्यासले कविको व्यङ्ग्य चेतलाई उजागर गरेका छन् । त्यसैगरी राजनीतिक एवम् सामाजिक विकृति विसङ्गतिप्रति खबरदारी गर्दै कवि भन्छन् :

योग्यता र विद्वताको केको मतलब
सर्टिफिकेट भारतका मान्छे हाम्रै पार्टीका
त्यस्ता सुब्बा बढुवा नियुक्ति
सबै राजनीतिक खेल हो
हे भगवान् पशुपति ! तिम्रो अगाडि हेर त
के के भा छ विचित्र छ
( लौ हेर पशुपति , नेपालको गति : पृष्ठ ९७/ ९८)

यस सङ्ग्रहमा परेका कतिपय कविताहरु वैचारिक र कलात्मक दृष्टिकोणले ओजपूर्ण बन्न सकेका छैनन् । विषयवस्तुको छनौटका दृष्टिकोणले भने कविले विविधता ल्याउने प्रयास गर्नु आफैँमा सबल पक्ष भए पनि छनौट गरिएका विषयवस्तुमा कला र विचार पक्षले सशक्त बनाउन नसक्नु कवि कोइरालाको कमजोरीका रूपमा औँल्याउन सकिन्छ । घरैघर सबै घर, डेरावाला घरवाला डेरावाला रे, के गर्छस, लौ आयो होलसेलको माल यस कोटीका कविताहरू हुन् । राजनीतिक र वैचारिक रुपमा आफूलाई प्रगतिशील एवम् प्रगतिवादी कित्तामा उभिएको भनेर चिनाउन खोजे पनि ” अपराध होइन सरकार ” कवितामा उनी वैचारिक रूपमा चिप्लिन पुगेका छन् ।

समग्रमा भन्दा यस सङ्ग्रहमा परेका आम कविताहरू विषयवस्तु र प्रस्तुतिका हिसाबले समसामयिक कविहरूको लेखनभन्दा पृथक रहन नसके पनि अर्थपूर्ण रहेको मान्न सकिन्छ । आकर्षण आवरणको साजसज्जामा प्रकाशित यस कविता सङ्ग्रहको मूल्य समयानुकूल १६५ रुपैयाँ सान्दर्भिक नै मान्न सकिन्छ । कविता कर्ममा रमाउने उनको सिर्जनात्मक प्रयासस्वरुप प्रथम कृतिको रूपमा आएको यस भकारीमा चामल, बियाँ र कंक्रिटका छासमिसे केही बिझाउने पक्ष देखिएका भए तापनि त्यसलाई छुट्याउन सक्ने असल पाठकले खिरकै स्वाद मानेर खानेहरुका लागि खिरकै स्वादको रुपमा हुने र भातको स्वाद मानेर खानेहरुका लागि भातकै स्वादको रुपमा हुने कवितात्मक पठनको भोक शान्त पार्ने प्रयास भने आफ्नै भूगोलका कविताहरुले अवश्य गर्ने छन् । स्रष्टाको सिर्जनात्मक निरन्तरताले पक्कै पनि आगामी दिनमा अब्बल कविता कृति जन्मने छ ; शुभकामना !

(चन्द्रपुर,रौतहटका कवि तथा समिक्षक लक्ष्मण आचार्य शिक्षण पेशामा आवद्ध रहेका छन्)

प्रतिक्रिया

सम्बन्धित