रातो गुलाफ (कविता ) – इन्दु नेपाल याेन्जन

एउटा रातो गुलाफ
तिम्रो लागि
यही दिन
कुरिरहेको थियो
गुलाफ सँगसँगै
एउटा मन
तिम्रो लागि
कुरिरहेको थियो ।।

प्रेमिल सुस्केराहरु
तिमीमा समाहित हुन
मन र मुटुबाटै
उत्साहित थियो
त्यसैले यो दिन
पर्वहरुको पनि पर्व बनेर
तिमीलाई पाउन
कुरिरहेको थियो ।।

हजारौं ताराझै
चम्किलो बनिरहेको थियो
मन भित्रको एउटा संसार
जहाँ तिम्रो पाइलाहरु
बिस्तारै(बिस्तारै
भित्र्याउन आतुर बनेर
एउटा रातो गुलाफ
पर्खाइमा
कुरिरहेको थियो ।।

यो रातो गुलाफ
सबै मेरा मनका
यी हर्कतहरु
तिमीलाई आलिंगन गर्दै
इतिहास बन्ने गरि
चुम्नको लागि आतुर थियो
एउटा अनन्त
प्रेमरूपी राजमार्ग कोरेर
दुई मुटुमाथि
खालि खुट्टा
रगतका पानाहरुमा
नमेटिने गरि डोबहरु
सृजना गर्दै निस्सन्देह
रातो गुलाफ बोकि
तिमी र म भित्रै
धेरै टाढा(टाढा सम्म
सँगसँगै, यात्रा गर्न मन थियो
साच्चै आजकै दिन
(रातो गुुलाफको फुल दिन मन थियो ।।
( प्रेमिका भन्न मन थियो ।।

प्रतिक्रिया

सम्बन्धित