कविता : प्रिय थेवा – इन्दु नेपाल याेन्जन (भिडियाे सहित)

मकै गोड्दै,
बैशाखे मेला
आउने दिन गन्दै
मुस्कुराउँछे डोल्मा
माथि कोक्सा गङको टुप्पोमा
फुलेको गुराँस फूल जस्तै ।।

मकैका कलिला पात हल्लाउँदै
जरिबुट्टेमाथि चौरी गोँठमा
दिनभरि सुनपाती र भैरुङपाती
टिप्ने थेबालाई
सम्झनु डोल्मा
आफुलाई निकै भाग्यमानी सम्झिन्छे
तिङ न्हाङला माया भन्दै
आरुको फूलहरु हेर्दै बर्बराउँछे ।।

दिन निकै बाँकी हुदै गर्दा
भालुखोप सिरानहुँदै
भुल्केसम्म कालो बादल मडारिन्छ
गड्याङगुडुङ बिजुली चम्कन्छ
एकैछिनमा ठुलो संत्रास सृजना हुन्छ
यो एकैछिनको
यो एकैपटकको
प्राकृतिक विपत्ति
डोल्मालाई निकै भारी पर्छ
किनकि गड्याङगुडुङ सहित
चम्किएको निकै ठुलो आवाज
थेवा र थेवाको गोठमा नै बजारिन्छ ।।

बैशाखे मेलामा
आनीका छोरीहरुले चिनाएको मान्छे
उसको खास मान्छे प्रिय थेवा
तिङन्हाङला माया
साङ्गेको मार्गमा लिन हुन्छ ।।

एउटा मिठो स्पर्श
टोलाई रहेको डोल्माको अधरमा ठोकिन्छ
सायद जरिबुट्टे, भुल्के हुदै कोक्सा डाँडासम्म
थेवाको अन्तिम सेलोका टुक्काहरु
सेमला माया, डोल्मालाई
भेट्न आतुर भएर बहेको हुनुपर्छ
निकै गुराँसहरु टिपेर
निकै मिठो सुनपाती र भैरुङ पातीका बास्नाहरु संगालेर ।।

एकैछिनमा गुराँसका फूलहरु ओइलाउँछ
एकैछिनमा आरुका फूलहरु झर्दछ ।।

अब कसरी ती गुराँसजस्तै
मुस्कुराउन सक्छिन डोल्मा
आरुका फूलहरु हेर्दै कसरी
बर्बराउन सक्छिन डोल्मा ।।

(इन्दु नेपाल योन्जन
धरान(११, सुनसरी

प्रतिक्रिया

सम्बन्धित