क्षेत्रिय सभापति भएर नेपाली काँग्रेसलाई गतिशील बनाउँने हिम्मत लिएको छु : राजेन्द्रप्रसाद ढकाल

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ३ बाट क्षेत्रिय सभापतिका उमेद्ववार राजेन्द्रप्रसाद ढकालसँग मणिराम दाहालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

यहाँ कहिले देखि र किन नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएको हो ?

जब म २०५४ सालमा एसएलसी पास गरेर क्याम्पसमा गएँ, तब त्यहाँ अनेरास्ववियुको ज्यादतीहरु देखेँ मैैले, त्यसको विरुद्ध ने.वि.मा लाग्नुपर्छ भनेर म २०५४ सालमा ने.वि. संघमा आबद्ध भएँ । त्यसपछि २०६० सालमा सुकुना बहुमुखी क्याम्पसमा ने.वि.संघको स्ववियु सदस्य पनि भएँ । त्यसपछि म वि.सं. २०६२ सालमा नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमिति सदस्यमा रहेर काम गरेँ । गत तेह्रौँ महाधिवेसनमा नेपाली कांग्रेसको तर्फबाट तत्कालीन क्षेत्र नं. ८ को प्रतिनिधित्व गर्दै जिल्ला कार्यसमिति सदस्य भएर हालसम्म त्यसैमा काम गरिरहेको छु ।

यहाँ नेपाली काँग्रेसकाे १४ औं महाधिवेसनमा मोरङ क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा उम्मेदवार हुनुकाे कारण के होला ?

यहाँले महत्वपूर्ण कुरा उठाउनु भयो । तत्कालीन क्षेत्र नं. ८ र ३ मिलाएर समायोजन गरे पछि पार्टीको नेतृत्वमा जो आउनु भएको छ, उहाँहरुको नेतृत्व गराइ, पार्टीलाई विधान भन्दा बाहिरबाट पार्टी चलाएको जस्तो मैले अनुभव गरेँ, पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी भएको पनि महसुस गरेकाले अब यसरी चल्दैन, देशको हरेक राजनीतिक परिवर्तनमा नेतृत्व गरेको, देशको पुरानो पार्टी, यसलाई दरिलो र बलियो बनाइयो भने मात्रै नेपाली जनताले सुख पाउँछन्, त्यसकारण यस पार्टीलाई विधि विधान सम्मत चलाउनु पर्छ भनेर हिम्मत बाँधेर म उमेदवार बनेको हुँ ।

यहाँलाई क्षेत्रीय सभापतिमा विजयी गराउनु पर्ने खास कारण के होला ?

मैले अघि नै भनिहालेँ, जसरी यो पार्टी चल्दैछ, यसरी चल्नु हुँदैन, यसको नेतृत्वमा परिवर्तन हुनुपर्छ, नत्र कांग्रेस पार्टी चल्दैन, जनताले विश्वास गर्दैनन् भनेर कार्यशैलीमा परिवर्तन ल्याउनु जरुरी छ भन्ने लाग्छ । म पार्टीको मात्र नभएर यस समग्र क्षेत्रको र यहाँका जनताको नेता पनि हुँ । त्यसकारण, कांग्रेसलाई सही दिशा दिनु पर्छ, र सही दिशा दिने कुरामा यहाँका आम नेपाली कांग्रेसको नेता, कार्यकर्ता र शुभेच्छेकहरुको साथ पाएँ भने म गर्न सक्छु भन्ने एउटा अठोट लिएर क्षेत्रीय सभापतिको रुपमा अघि बढ्ने हिम्मत गरेको छु ।

यहाँले सामाजिक काम पनि गर्नुभएको छ । के कस्ता सामाजिक कामहरु गर्नुभएको छ, समग्रमा जानकारी गराइदिनु होस् न ।

राजनीति गर्ने मान्छेको काम नै समाजसेवा हो । हामीले जानेसम्म, सकेसम्म गर्ने सेवा नै हो । त्यसमा पनि यो दुई वर्षदेखि विश्वव्यापी रुपमा जुन कोभिड महामारी फैलियो, त्यसमा मैले अलिक बढी केन्द्रित भएर मैले यस क्षेत्रका जनताहरु, यस क्षेत्रका कार्यकर्ताहरुको सारो गारो अप्ठेरो जस्तै मास्क, सेनिटाइजर, खाद्यान्न, जनचेतना कार्यक्रम आदि उपलब्ध गराउन लागि परे। यस अवधिमा लगभग एकदिन पनि म घरमा बसेको छुइन । सधैँ सेवामा जुटिरहेकै छु ।

यस्तो सामाजिक काम गर्नुपर्छ भन्ने सोच तपाईमा कसरी आयो ?

राजनीतिमा आउँछु भनेको सेवा गर्छु भन्ने भावले आउनु पयो । राजनीति व्यापार होइन । राजनीति भनेको विशुद्ध समाजसेवा हो । मेरो परिवारको बारेमा भन्दा पनि यस क्षेत्रका जनताको बारेमा सोच्नु पर्छ, सेवा गर्नु पर्छ भनेर नै राजनीतिमा आएको हुँ । सेवा गर्छु गर्न सक्छु भन्ने सोचाइले नै म राजनीतिमा आएको छु । म सेवामा लागिनै रहन्छु ।

कतिपयले राजनीतिलाई व्यवसाय बनाएका छन्, तपाई चाहिँ गोजीको पैसा खर्च गरेर राजनीति गर्नुहुन्छ । किन यसो गर्नुभएको हो ?

व्यापारीले लगानी गर्छ, त्यसबाट लाभ लिने उसको धर्म पनि हो । तर म व्यापारी होइन, म मेरो मनले गर्छु, मैले सकेको गर्छु, । यसबाट मलाई सन्तुष्टि मिल्छ र सन्तुष्टि लिइरहकै छु ।

अहिले नेपाली कांग्रेसको क्षेत्रीय अधिवेसनको गतिविधि के कस्ताे छ ?

हामी ने.का. काे चौधौँ अधिवेसनको क्रममा छाै अहिले । यस क्रममा पहिला वडाको अधिवेसन सम्पन्न भयाे । गाउँपालिका र नगरपालिकाहरुको अधिवेसन सक्यौँ । हामी प्रदेश, क्षेत्र र जिल्ला हुँदै केन्द्रको अधिवेसनको तयारीमा छौँ । यही वडा तथा नगरपालिकाको अधिवेसनमा पनि विकृति देखिएका छन् । आन्तरिक प्रतिस्पर्धा मात्रै नभएर बाह्य प्रतिस्पर्धा पनि महसुस गरेका छौँ । देख्नु भयो नि यहाँ केही साथीहरु कोइराला समूह भनेर ब्यानर राखेर गर्नुहुन्छ, म चाहिँ नेपाली कांग्रेसको उम्मेदवार हुँ, प्रत्यासी हुँ, म यो वा त्यो गुटको भन्दा पनि कांग्रेसको हुन चाहन्छु, । यो गुट वा त्यो गुट भन्दा पनि नेपाली कांग्रेसलाई एक बनाएर देश र जनताको भरोसाको एउटा पार्टी बनाउन सक्छु कि भन्ने हिम्मतका साथ अघि बढेको छु । यो अधिवेसनको कुरामा अलिक अस्वस्थ प्रतिस्पर्धा जस्तो देखिँदैछ । यो गलत हो । निकट भविष्यमै हाम्रा चुनावहरु आउँदैछन् त्यसमा चाहिँ नेपाली कांग्रेसलाई अलिक असर गर्छ कि ! अझै पनि केही बिग्रेको छैन । सक्षमलाई नेतृत्व दिऊँ । जो जो अहिले प्रतिनिधि भएर आउनुभएको छ, उहाँहरुलाई स्वतन्त्र भएर आफ्नो नेता छान्न दिऊँ, समस्यै छैन ।

कस्तो खालको अस्वस्थ प्रतिस्पर्धा भएको देख्नु भएको छ पाटी भित्र ?

गुटको नाममा केही नेताहरुले जो हामी कांग्रेसको जग बनाउन चाहन्छाै । त्यो जग नै खल्बल्याउने खालको परिस्थिति अहिले जो बनेको छ त्यही नै अस्थस्थ प्रतिस्पर्धा हो । र म यसका लागि नेताहरुलाई भन्दा पनि आम कार्यकर्ताहरुलाई सजग हुन आह्वान पनि गर्दछु ।

 यहाँ युवा हुनुहुन्छ, राजनीति पनि गर्नुहुन्छ, अहिले युवाहरुमा गुनासो छ नि, राजनीतिमा ठाउँ पाइएन, अवसर पाइएन भन्ने जुन गुनासो छ नि, युवा नेता हुनुका नाताले त्यसमा के भन्नुहुन्छ ?

यो पनि अर्को महत्वपूर्ण कुरा उठाउनु भयो । एउटा कुरा के छ भने हामी आफूलाई युवा भन्छौँ, परिवर्तनको संवाहक भन्छौँ, तर हामी पनि कसैको आश्रित भएर हिँड्छौँ । हामी आफ्नो भिजन दिँदैनौँ । मैले आज क्षेत्रीय सभापतिको उम्मेदवारी घोषणा गर्दै गर्दा भोलि मेरो नेताले तँ बस् भन्दैमा म बस्दिनँ । म यो क्षेत्रको प्रतिनिधि हुँ । त्यसकारण, युवा उमेरले मात्रै भएर हुँदैन, युवाजस्तो हुनु पयो । स्वाभिमान आफ्नो कायम राख्नुपयो । त्यसकारण के छ भने युवाहरुलाई अवसर नभएको होइन, तर युवाहरुले हिम्मत गर्नुपयो । जससम्म तपाई हिम्मत गर्नुहुन्न, राजनीतिमा होस् कि अरु क्षेत्रमा, तपाईलाई कसैले नेता बनाइ दिँदैन । तपाई आफू बन्ने हो, यसमा तपाई नै लाग्नु जरुरी छ । त्यसकारण यहाँ हामी नेताको पनि भर नपराै । आफू नेता बन्ने अभियानमा कसैको भर नपरौँ। आफ्नो अभियान लिएर जाआै अडिग भएर लाग्नुुस् । राजनीतिमा अडान मुख्य कुरा हो । तपाई धेरै सोचेर बोल्नुस्, बोलिसकेपछि अडान राख्नुस् । तर युवाहरुलाई राजनीतिमा वितृष्ण पनि आइरहेको छ । आ राजनीति यस्तै हो, यो फोहोरी खेल हो । यदि राजनीति फोहोरी खेल हो भने हामी युवा हौँ, स्वीमिङ कस्ट्युम लगाएर भए पनि त्यो फोहोर सफा गर्ने दायित्व हाम्रो हो । फोहोर छ भनेर हुँदैन नि । अँध्यारो छ भनेर चुप लागेर बस्ने र ! एउटा टुकी बालियो भने पनि त्यहाँ वरिपरि उज्यालो त हुन्छ । यसकारण युवाले नै हो परिवर्तन गर्ने । अग्रजहरुको अनुभव, साहस मिल्यो भने केही पनि असम्भव छैन ।

 यहाँ नेपाली कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा विजयी हुनुभयो भने के के गर्नुहुन्छ ?

क्षेत्र नं. ३ को क्षेत्रीय सभापति भएँ भने म पार्टीको विधि विधान र अनुशासन भित्र रहन्छु । पार्टीको विधान अन्तर्गत अनुशासनमा रहेर पार्टीको कार्यक्रमहरु सञ्चालन गर्ने, जनचेतनामूलक कार्यक्रमहरु ल्याउने, युवाहरुलाई राजनीतिमा आउन प्रेरणा दिने, युवाहरुलाई व्यवसायमा पनि संलग्न गराउने गर्नेछु । राजनीति त्यसै हुदैन, व्यवसाय सँगसँगै राजनीति पनि सँगसँगै लाने हो । सेवा हो । मैले जसलाई पनि के भन्छु राजनीतिमा कस्तो प्रवृत्ति हावी भो भने हामी सिधै माछा दिन्छौँ, त्यो माछा लगेर खान्छ, भोलिपल्ट छैन । म बल्छी दिन चाहन्छु । उसले माछा मारेर खान सिकोस्, कहिले पनि मेरो भर पर्नु नपरोस् । हाम्रा नेताहरुले सिधै माछा नै दिने बानी लगाइरहेका छन्, तिनलाई चिर्नुपर्छ । नेपाली कांग्रेलाई नेपालको १६५ वटा क्षेत्रमध्ये एउटा उत्कृष्ट क्षेत्र बनाउँछु भन्ने हिम्मत गरेको छु ।

 यहाँलाई पार्टीको संगठन चलाउन सक्छु जस्तो लाग्छ ?

चलाउँछु । तर सभापति हुँदैमा म मात्र सबैथोक होइन । यो क्षेत्रका कांग्रेसका सम्पूर्ण कार्यकर्ता, शुभेच्छेक र यहाँका जनताको साथ पाएँ भने परिवर्तन असम्भव छैन । मैले सबैबाट साथ पनि पाएकै छु, जहाँसम्म लाग्छ मैले आजसम्म निःस्वार्थ सेवा गरिरहेकै छु । भोलि पनि निःस्वार्थ सेवा गर्छु भन्ने मेरो आत्मविश्वास छ । सबै साथीहरुले अघि बढ्नुस् भन्नु भएको छ, म तयार छु ।

हामी कुराकानीको अन्तिम प्रसंगमा पुगेका छौँ, अन्त्यमा मिडिया मार्फत के भन्न चाहनुहुन्छ ?

यो मिडिया मार्फत म के भन्न चाहन्छु भने केही साथीहरु जोड जोडले चिच्याएर कसेको नैतिकता, इमान्दारिता माथि प्रश्न उठाउने काम गर्दै हुनुहुन्छ । आफूले आफूलाई मसिहा ठान्नुहुन्छ, म उहाँहरुलाई यति भन्न चाहन्छु, सत्य चिच्याउनु पर्दैन । सत्य आफै सत्य हुन्छ, प्रमाणित गर्नु पनि पर्दैन, म त्यो गर्न पनि चाहन्न र तपाईहरु नेता बन्न चाहनुहुन्छ भने आफ्नो कार्यक्रम लिएर जानुस्, आफ्नो भिजन लिएर जानुस्, जनताको मन जित्नुस्, तपाई स्वतः नेता बन्नुहुन्छ । कसैको विरोध गरेर नेता बन्ने सपना देख्नुभएको छ भने त्यो बन्द गर्नुस् र कसैको नैतिकता माथि प्रश्न उठाउने काम बन्द गर्नुस् । सत्य चिच्याउनु पर्दैन ।

 महत्वपूर्ण समय दिनुभयो । यहाँलाई धन्यवाद ।

यहाँले पनि यहाँको मिडिया मार्फत आफ्नो कुरा राख्ने मौका दिनुभयो । यहाँलाई तथा यहाँहरुकाे मिडिया टिमलाई पनि धन्यवाद ।

प्रस्तुति: मणिराम दाहाल

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…