यहाँ (कविता )

दलाल लाल छन् सबै सुपुत्र पुत्र खै यहाँ ?
बगाल गाल माल छन् हजार जार झैँ यहाँ ।
अगाधको खुसामदी यहीं प्रशस्त आँसुरी
दुरुस्त एक सायरी म लेख्छु बोल बाँसुरी ।१।

पखाल फाल दुस्मनी खुलस्त पार खोतल
विढङ्ग नग्न छन् यहाँ विरूप रूप दोगल !
सफेद राख फेदमा धराप खाप हुन्छ कि !
सरोज रोज रागिनी विमोह दाख हुन्छ कि ! ।२।

कृपालु पाल सृिष्ट यो कृतार्थ बन्छ विश्व यो
नपार शुन्य शुन्यता नपाल त्रास त्रस्तको
अनन्त उर्वरा उचो अपुर्व ज्ञान पुर्वको
विशुद्ध आत्मबोधको छ चित्तशुद्धि शुद्धको ।३।

विलापले छ लाभ के ? प्रहार हार हुन्छ त्यो
प्रवाह वाह उत्स भै प्रगाढ गाड बन्छ त्यो
अनिष्ट निष्ठ बन्छ खै बनिन्छ निष्ठुरी तर
अनित्य नै यहाँ सबै छ नित्य के र सुन्दर ? ।४।

समस्त मस्त छन यहाँ विभ्रष्ट भ्रष्ट भेल छन्
चुसेर देश सेर भै बिछट्ट छुट्ट खेल छन्
निशुम्भ शुम्भ दानवी कि चण्डमुण्ड भ्रामरी
छ भास भैरवी सभा प्रभुत्व भूत केशरी ।५।

================
पदम दाहाल
मादी, न.पा. ६, संखुवासभा
हाल: लोकन्थली, भक्तपुर
९८४२०९९८३१

प्रतिक्रिया

सम्बन्धित