सुन्दरहरैंचामा गजल महफिलले ततायाे साहित्यिक माहाेल : नाट्यकर्मी भरत गुरागाईँ सम्मानित

सुन्दरहरैंचा / सुन्दरहरैँचामा साइकल राइडर्स ग्रुपकाे आयोजनामा भएको गजल महफिलकाे दोस्रो शृङ्खला-तथा स्रष्टा सम्मान कार्यक्रमले साहित्यिक माहोल तताएकाे छ । विराटचाेकमा रहेकाे डाक्टर डेभिड क्याफेमा आयोजित गजल महफिलमा मोरङका स्रष्टा छवि वैरागी घिमिरे, काठमाडौँका आँचलकुमार शर्मा तथा धनकुटका स्रष्टा ईश्वर दाहाल रहेका थिए । तीन जना गजलकारले तीन तीन चरणमा आ –आफ्ना चर्चित गजल वाचन गरेका थिए । गजलकारले शास्त्रीय बहर तथा मुक्त बहरका गजलहरू वाचन गर्दा दर्शकहरुले तालीद्वारा स्वागत गर्दै जाेडदार हुटिङ समेत गरेका थिए ।

गजल महफिलले साँझकाे चिसाे चिसाे माैसममा सुन्दरहरैंचाकाे साहित्यिक माहाेल तताएकाे थियाे । कार्यक्रममा सहभागी भएका दर्शक स्रोताहरुले स्रष्टाले सुनाएका गजलकाे खुलेर स्वाद लिदै उत्साहित समेत भएका थिए । राम्रो उपस्थिति रहेको उक्त कार्यक्रममा प्रतिनिधि रूपमा सहभागिताका गजल समेत वाचन गरिएका थिए । गजल महफिलमा प्रतिनिधि सिर्जना वाचन अन्तर्गत पत्रकार मणिराम दाहाल ,कवि किशोर कोइराला, कार्यक्रमका विशिष्ट अतिथी तथा साहित्यकार अमृतप्रसाद आचार्यले समेत आफ्ना गजल रचना सुनाएका थिए ।

गजल महफिल कार्यक्रममा स्थानीय राजनीतिकर्मी तथा कलाप्रेमी सुरेन्द्रबहादुर थापा प्रमुख अतिथी थिए । विशिष्ट अतिथिमा नगर उपमेयर धना तामाङ, प्रेमप्रसाद भट्टराई,डम्बरुबल्लभ भण्डारी,मीनकुमार नवोदित रहेका थिए । कार्यक्रममा नगर कार्यपालिका सदस्य नगर कर्मचारीहरू साथै विराटनगर, धरान ,इनरुवा ,बेलेपुर, बेलबारी ,केराबारी ,लेटाङ ,इटहरी ,विर्तामोड धनकुटासम्मका २ सय ५० भन्दा बढी साहित्यप्रेमी स्रष्टा सर्जकहरूको उपस्थिति रहेको थियो ।

गजल महफिलमा पर्शुराम खतिवडाले आमन्त्रित महानुभाव समक्ष स्वागत मन्तव्य व्यक्त गरेका थिए । माेफसलमा गजल पारखीलाई लक्षित गरेर साहित्य कलाकाे विकास गर्ने उदेश्यका साथमा गजल महफिल भएको थियाे । कार्यक्रमलाई सहज बनाउन सहजकर्ताद्वय यादव भट्टराई तथा रमेश न्यौपाने लगायतको महत्त्वपूर्ण भूमिका रहेको थियाे । आयाेजक राइडर्स ग्रुपका उपाध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भने नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेले गरेका थिए ।

साथै कार्यक्रममा हरेक वर्ष नेपाली भाषासाहित्य, कला ,संस्कृतिका लागि विशिष्ट योगदान दिने स्रष्टा सम्मान तथा गजल महफिलकाे अवसरमा यसपटक वरिष्ठ नाट्यकर्मी तथा पूर्व शिक्षक भरत गुरागाईँ लाई नगद पुरस्कारकाे साथमा सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । सम्मानित भएका गुरागाईं मोरङको झोराहाटमा ५ दशक अघि जन्मिएर विगत लामाे समय देखि निरन्तर रूपमा नेपाली भाषा साहित्य, कला र संस्कृति क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । उनका ‘रात र युद्ध’ तथा ‘खोज्दै जीवन’ दुई वटा कविता सङ्ग्रह, ‘पर्खाल’, ‘पासवर्ड’, ‘घरभित्र अर्को घर’ र ‘देश हराएको छ’ जस्ता नाटकहरू प्रकाशित छन् । गुरागाईंले देश तथा विदेशमा समेत गएर नाटक मञ्चन गरेका छन् । उनले साहित्य कलाको जगेर्नामा होमिएर झोराहाट नाट्य समूह गठन गरेर कला सहित्यको जगेर्नामा लागि रहेका छन् । झोराहाट नाट्य समूहले पछिल्लो समय प्रदेश न. १ को मात्र नभएर पुरै देशको ध्यान खिच्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित