सरकार परिवर्तनले मात्र हुदैन, जनतालाई महशुस हुने काम देखाउ

बिश्वब्यापीरुपमा संकट निम्त्याएको कोरोना भाइरसको संक्रमण हटी नसकेको अवस्थामा हाम्रो मुलुकमा भने राजनीतिक परिवर्तन भै सकेको छ । निर्वाचन मार्फत जनताले पाँच बर्षका लागि दिएको मतको अवधी नसकिकन नेकपा एमालेका अध्यक्ष खडगप्रसाद ओलीले नेतृत्व गरेको सरकार परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातमा पुगेको छ । अहिले राजनीतिक परिवर्तन के–का लागि भन्ने देखाउनका लागि अघिल्लो सरकारले भन्दा अहिलेको सरकारले जनताका लागि प्रत्याभुति हुने खालका काम गर्नु जरुरी देखिन्छ । यसो गर्न सकिएन भने फेरी हात्ती आयो हात्ती आयो फुस्सा जस्तो हुन सक्छ ।

हरेक क्षेत्रमा सल्लाहकार राख्ने परिपाटी नेपालमा नयाँ होइन, सानो संस्था देखि ठुलो निकायसम्म मात्र होइन राजनीतिमा पनि सल्लाहकार राख्ने गरिएको छ । दक्ष सल्लाहकार राख्नुको सट्टा आफन्त र आफुलाई पछ्याएकाहरुलाई राख्दा त्यसले कहिलेकाँही आफनै काम गराईमा समेत नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले पहिलो काम भनेको आफन्त र झोले भन्दा बिज्ञताका आधारमा सल्लाहकारहरु नियुक्ती गर्न जरुरी देखिन्छ । सल्लाहकार राम्रा भने मुलुकका लागि केही काम गर्न सकिन्छ ।

अर्को काम भनेको सुशासन । यो राज्यका सवै तह र तप्कामा देखिनु आवश्यक छ । भाषणमा सुशासन काम गर्ने बेलामा कुशासन देखाउन थालियो भने यो पनि जनतको हितमा हुन सक्दैन । मुलुक यति बेला कोभिड महामारीको जोखिमबाट बाहिर निस्कन सकेको छैन । त्यसैले हरेक नेपाली नगारिकका लागि कोभिड बिरुद्धको खोप लगाउने अभियान पहिलो प्राथमिकतामा राख्न जरुरी छ । अघिल्लो सरकारले शुरु गरेतापनि अव बाँकी रहेका सवै नेपालीलाई खोप लगाउने जिम्मा बर्तमान सरकारले लिन आवश्यक छ ।

जनताको ढाँड सेक्ने गरी हुने महंगी नियन्त्रण पनि अहिलेको सरकारको चुनौती हो । लामो समय देखि शिथिल अवस्थामा अर्थतन्त्र पुगेको छ । गत बर्ष र यसबर्षको कोभिड महामारीका कारण थिलथिलाृ भएको अर्थतन्त्रलाई पुन चलायमान बनाउनका लागि पनि सरकारले बिशेष ध्यान दिन जरुरी छ ।
राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीको मनोवल उच्च राख्नका लागि सरकारले बिशेष काम गर्न जरुरी देखिन्छ । बिधि र प्रक्रिया मिचेर हैन, आस्थाका आधारमा हैन सवैलाई समान ब्यवहार देखाउन जरुरी छ । जुन राजनीतिक दलमा आस्था भए पनि कर्मचारीले गर्ने भनेको जनताको लागि सेवा नै हो ।

भष्ट्रचार नियन्त्रणका लागि पनि सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी हुन्छ । भष्ट्रचार नियन्त्रणका नाममा तल्लो तहका कर्मचारलाई दुख दिने होइन कि मुलजरो पत्ता लगाएर माथिल्लो निकायबाट नै कारवाही प्रक्रिया शुरु गर्नु पर्छ । सरकारमा सहभागी मन्त्रीहरुबाट नै यस्ता कार्य भएको पाइएमा जोगाउने होइन तत्काल बर्खास्त गरी साधारण पार्टी सदस्य समेत नरहने गरी कानुन अनुसार कारवाहीको भागिदार बनाउनु जरुरी छ । आफनालाई च्याप्ने र अर्को पक्षलाई कारवाही गर्ने परिपाटीको समेत अन्त्य हुन आवश्यक छ ।

शिक्षा र स्वास्थ्य नागरिकले पाउने अधिकार हो । सरकारले शिक्षा र स्वास्थ्य नागरिकलाई निशुल्क हुने काम गर्न जरुरी देखिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच देखिएको छैन । यस तर्फ पनि सरकारले पहल कदमी लिन जरुरी देखिन्छ । यस कार्यमा सरकारका साथै सवै राजनीतिक दल, सरोकारवाला निकायहरु एकजुट भएर लाग्नु पर्छ ।

सार्वजनिक संस्थाहरुमा आफना होइन काम गर्न सक्ने योग्य र क्षमतावान ब्यक्तिहरुलाई नियुक्ती गर्दे जनताको काममा जिम्मेवारी बोध गर्ने र नगराउने कार्यालय प्रमुखलाई कारवाही गर्ने कार्य पनि सरकारी तहबाट हुनु पर्छ । यसो गर्न नसकिएमा केही बिकासका नयाँ कार्यहरु समेत प्रभावकारी बन्न सक्छन । तोकिएका ठुला बिकास निर्माणका कार्यहरु समय मै सक्ने बातावरण मिलाउने, निर्माण ब्यवसायीका समस्या समाधान गर्ने तर सो अनुसार काम नगरी बिकास निर्माणका कार्यमा ढिलाई गर्ने जुनसुकै निर्माण ब्यवसायीलाई कारवाही गर्दे धरौटी जफत, ठेक्का रद्ध सहित कालोसुचीमा राख्ने काम पनि गर्न जरुरी देखिन्छ ।

कृषि, पर्यटन र उर्जालाई प्राथमिकतामा राखेर योजनाहरु निर्माण गर्ने कृषकलाई प्रोत्साहन गर्दे युवाहरुलाई समेत यस तर्फ आर्कषण गर्ने कार्यहरुको शुरुवात सरकारी तहबाट हुन जरुरी छ । कोभिड महामारीसँगै अहिले बैदेशिक रोजगारीमा गएका युवाहरुमा पनि कृषि मोह देखिएको छ, यस्ता युवाहरुलाई स्थानीय स्तरमा नै कृषि पेशा गर्न सक्ने वातावरण मिलाउन सकियो भने कृषि पेशालाई ब्यवसायिक बनाउन सकिन्छ । कृषकका उत्पादनमाथि बिचौलिया हाबी हुन नदिने, सकेसम्म सरकारले नै बजारीकरण गरि दिने, माटो अनुसारको बाली लगाउनमा कृषकलाई सहयोग र सुझाव दिने जस्ता कार्यहरु पनि सरकारी पक्षबाट हुने ब्यवस्था मिलाउनु पर्छ ।

अवको सरकारको मुख्य चुनौती भनेकै जनताको हितमा काम गरेर देखाउने हो, जनताले अपेक्षा गरेका कुराहरु कुनै पनि सरकारले सहजरुपमा पुरा गर्न सकेका छैन । त्यसैले भागबण्डा पुर्याउने नाममा मन्त्रालय फुटाएर ठूलो आकारको मन्त्रिमण्डल बनाउने होइन, कोरोना संकटका कारण जोखिममा परेका नागरिकका भावना अनुसार काम गरेर देखाउन नै उचित हुन्छ ।

(लेखक बिगत दुई दशक देखि भोजपुरमा रहेर पत्रकारिता पेशामा संलग्न हुनुहुन्छ )

प्रतिक्रिया

सम्बन्धित