साँढे र किर्नाको रजाइ

निम्न वर्गलाई चुहिने छानाभित्र कोचेर
धनाढ्य उच्च वर्गका भनाउँदा शासकहरु
पासका नाममा
बिनाकाम कुकुरले पुच्छर हल्लाए सरि
चिल्लो गाडीमा खै केके जाति हल्लाउँदै
लखरलखर ओहोर दोहोर हिँडदै
आधुनिक भव्य रङ्गीन महलमा
विभिन्न सभा सम्मेलनमा भाग लिई
राष्ट्रका ढुकुटी रित्याउन
उत्प्रेरित हुँदै
पथभ्रष्ट मनोवल धारि गिरोह
डामेको साँढे विध्वंश मच्चाउँदै
हुङ्कार गरीरहेछ ।
हिजोसम्म आफ्नै सच्चा परिश्रमले
एक छाक टार्न अनि आफ्नै आङ्ग ढाक्न नसक्ने
ती जोगीको गेरुवस्त्र धारणा गर्ने मगन्तेहरु
आज आएर महान् समाजसेवक रे !
वाह ! कस्तो आश्र्चाय
दु:खीका रगत चुस्ने किर्नालाई आजकाल
के भूत सवार भएको हो
हिजोसम्म गरिबलाई किर्नाले रगत चुसे जस्तो
तनतनती चुसेर कहिल्यै नअघाउने
ती सडकमा भुक्ने भुस्याहा झोलेहरु
आफैँ मागेर गुजारा चलाउने मगन्तेहरु
आज आएर समाज सेवकको खोक्रो बोक्रो
धारण गरेर गरिब गुरुवाका नाममा
आफैँ भिक्षा माग्दै अनि पछि उल्टै
छलछाम जालझेल षड्यन्त्र रच्दै
धमिलो पानीभित्र माछा मार्दै
पानीमाथिको ओवानो बन्ने कला सिक्दै
आफ्नै रगत र पसिनाका पौरखमा
रम्दै रमाउँदै बाँचेकाहरुलाई
त्यहीँ घृणित किर्नाका अपवित्र हातबाट
दान थाप्ने बाध्यात्मक परिस्थिति
सिर्जना गर्दै महान् मनकारी दानी
समाजसेवक बनि रहेछ ।
कस्तो लाज पचेको लबस्तरो कुलाङ्गार किर्नालाई
देउता सम्झि पुज्ने दिन आए छ यहाँ
हुँदा खाने सर्वसाधारण आफ्नो जहान पाल्न
घरबाट बाहिर निस्केमा

खै ! कुन्नि के–के जाति सर्ने
हुने खाने दलालका नाइके निस्कदा चाहीँ नसर्ने
क्या ! गज्जब छ हगि तिमीहरुको
सोझा इमान्दारलाई मुर्ख बनाउँदै
आफ्नो स्वार्थसिद्ध गर्दै रगत चुस्ने प्रवृत्ति
चुस किर्ना हो चुस अझैँ बेस्सरी चुस
तिमीले सक्दो आफ्नो बुद्धिले भ्याएसम्म
मिलेसम्म आफ्ना वरिपरि घुमि रहने
झोले गेरुवस्त्र धारि झिँगालाई पनि चुसाउ
सुण्ड मुण्ड झुण्ड सबै मिलेर चेस गरि
ढ्याउ ढ्याउ डकार्दै छाड्ने गरि चुस
रन्थनिदै मात्ने गरि चुस
भई रहेको तिम्रो शरीर
चार टुक्रा फाट्ने गरि चुस
यदि केही गरि धेरै रगत पसिना चुसेका कारणले
असैह्य भै पचाउन नसकेर
पश्चतापका रोग लाग्यो भने
चिन्ता नगर दिनको एक गाँस कटाई कटाई
जम्मा गर्दै उपचार गराउने
हामी गरिब असहाय छदै छौँ नि !
जो आफ्नो गाँस बाँस कपास
कटाएर भए पनि
तिमीहरु जस्ता घातक स्वेच्छाचारीलाई
बचाउनका निम्ति आफ्ना इच्छा
पलपल मार्न तयार छौँ ।

प्रतिक्रिया

सम्बन्धित