लजाजु रुख र पातहरु

एकदिनको कुरा हो
हाम्रोतिर वर्षा रोइरहेको थियो
माथि आकाशतिर ढुङ्गा लडेर
पहिरो गइरहेको थियो
छानामाथि तिर
मकैका फुल उठेर
हाँडी पढ्किरहेको थियो
खोरको खसी भोकाएर
खाजा मागिरहेको थियो ।

त्यसैले खेतबारीतिर
यसो गएकोमात्र के थिएँ
देवकाले जन्मदिनमा रोपेका
नेभारो र कदमका रुखहरु
र चिनीचम्पाका पातहरु
हावासँगै सुस्तसुस्त
गीत गाउँदै र नाच्दै थिए ।
तिनीहरुका लागि म हो,
या घाँसका लागि हो !
त्यो सङ्गीतको धुन र सुन्दर नर्तन देखेर
म आफैँ आत्मविभोर थिएँ
म आफैँलाई बिर्सिएर
कुनै अनन्त आनन्दका लहराहरुमा
म खेलिरहेको थिएँ
अकस्मात ! मलाई देखेर
रुखका पातहरु लजाउँदै
मुन्टो फर्काउँदै लुके,कारण बुझिन,
हेरिरहेँ, निकै बेर हेरिरहेँ,
तर केही बुझिन ।

एकै छिनपछि
तिनीहरु मेरा हातमा आएर
नाच्न थालेछन्-म गाउँन थालेछु
तिनीहरू गाउँन थालेछन्
म नाच्न थालेछु
अनि पालैपालो समाएर
मैले अँगालोभरि घर ल्याएछु ।

केही दिनपछि
पहिले मैले भेटेका,देखेका
ती सङ्गीतका पारखी,गायकहरु
ती हरिया बोटबिरुवाहरु ,
नेभारो र कदमका रुखहरु
अनि चिनीचम्पा केराका
ती लजालु पातहरु
घाँस र दाउरा भएर
गर्ल्याम-गर्ल्याम्ती ढलेछन् ,
हरिया डाँडाहरु रङ उडेर फुस्रीएछन्
वर्षाॠतुले रिसाएर कुट्दाकुट्दै
म समाचार सुन्न पुग्छु
पहिरो गयो रे !
मेलम्ची बग्यो रे !
अहो ! कस्तो विपत् !

प्रतिक्रिया

सम्बन्धित