प्रशान्त विचरण

उच्छृङ्खल, क्षुद्रगलौज र तुच्छ विचारलाई
सुन्न मन पराउँदैनन् मेरा दुवै यी कानहरू
घृणा मानेर हरेक तिक्ततालाई
नलेख् भनेर अराउँदैछन् मेरा जुम्ल्याहा मनहरू
बरु जुरुक्क उठ्न हतारो लाउँछ
अविलम्ब टिपोट गर्न झकझक्याउँछ
पल्टिरहेको /सुतिरहेको
एउटै मेरो सामथ्र्यवान् कलम
सुन्नै नपरोस् भन्छ ऊ
सारै लाजमर्दो मान्छ ऊ
कसैको तिरस्कारयुक्त र तिक्तपूर्ण वचनलाई
त्यसैले मलाई हली हुन अराउँछ
मभित्रको कोही मलाई
एक्कासि उचालिन्छ हलो वनेर
एउटै मेरो नियास्रो कलम
फाली बनेर पाइन माँग्छ कलमको निब
हिलोआली पछिको सुन्दर रोपो
हलहलाउन चाहन्छ असारमा
र, फक्रिन अराउँछ सयपत्रीको फूलजस्तै
अक्षरका थुँगाहरूमा
गोडमेल गर्न लाउँछ शब्दजाललाई
टल्किन सिकाउँछ शब्दकलामा
अशोभनीय अश्रुतालाई उखेल्न रमाउँछ
कटाक्ष र कठोरतम् वाणीलाई उच्चारणमा
घटाउन उत्सुक छ अन्तर्मनभित्र
गुम्सिएका, गुजुल्टिएका, कचपल्टिएका
अशिष्ट शब्द शब्दावलीलाई प्रशान्त विचरणमा ।

================
पदम दाहाल
मादी, न.पा. ६, संखुवासभा
हाल: लोकन्थली, भक्तपुर
९८४२०९९८३१

प्रतिक्रिया

सम्बन्धित