अनौठा आँखा (कविता)

निमग्न छन् मग्न छन् आँखाहरू
ठानौं अनौठा छन् मानौं मौन छन्
उम्दा बैँसालुको रङमा झुलेर
थुत्न खोज्छन् शुभ्र सौन्दर्यता
चुस्न खोज्छन् सुटुक्क यौवन
लालची आँखा कसैभित्रको मिठास
चाहन्छन् घुट्क्याउन आसक्तिभित्रको आस्वाद
तर जतिसुकै पानी पलाए पनि जिब्रामा
जुठ्याउन सक्तैनन् लुकिसकेको माधुर्यता ।

हरेक प्राणीका ज्योतिपुञ्ज हुन्–आँखा
हरेक मान्छेका अनुपम इन्द्रिय हुन्– आँखा
जसले रात उघार्न उज्यालो बोक्छन्
दिन रित्याउन कालो देख्छन्
नसक्ता रहेछन् आलोपालो एक्ला एक्लै जिउन भने
समुज्ज्वल एक जोडी उन्मुक्त आँखाहरू
लाग्छन् दुरुस्त चुस्त मन मिलनका युगल नाफाहरू
खोल्यो, खुल्दा एकैपटक
चिम्ल्यो, बन्द एकैचोटि
आहा ! अनौठो रहेछ स्वभाव आँखाको
मानौं, हुन् यिनै जीवन्त श्रीसम्पत्ति ।

================
पदम दाहाल
मादी, न.पा. ६, संखुवासभा
हाल: लोकन्थली, भक्तपुर
९८४२०९९८३१

प्रतिक्रिया

सम्बन्धित