विश्व महिला खुल्ला कविता प्रतियाेगित्मक कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिकाे आयाेजनामा अमेरिकाबाट कविता वाचन कार्यक्रम सम्पन्न भएकाे छ।

१११औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्य पारी समितिले विश्व महिला खुल्ला कविता प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियाे । उक्त कार्यक्रमको लागि-“महिला जिवनमा आधारित “ विषयमा कविताहरू आव्हान गरिएको तथा छनौट समितिबाट छानिएका प्रतियोगीहरूले अनलाइन जुम मार्फत बाचन गरेका थिए ।

संसार भरिका महिला कविहरु सहभागी भएको कविता वाचन कार्यक्रममा ८७ वटा रचना प्राप्त भएको थियाे । कविता वाचन पछि, छनौट समितिले अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगिताको निर्णयले सुनाइएको थियो । प्रतियाेगितामा कल्पना तामाङ उत्तर अमेरिका प्रथम , माेरङ सुन्दरहरैंचाकी चेली बिन्दा पराजुली-जापान एसिया द्वितीय तथा तथा विष्णुमाया विभु- नर्वे, युरोप तृतीय भएका थिए । प्रतियाेगितामा प्रथम , द्वितीय तथा तृतीय हुनेले क्रमश ५ सय , ३ सय र २ सय डलर प्राप्त गरेका छन् । उनिहरु लाई निर्णय सुनाई हार्दिक बधाई ज्ञापन समेत गरिएको थियो ।

संसारभरि बाट कवियात्रीहरुकाे सहभागिता रहेको कार्यक्रममा प्रतियोगीका वाचन तथा सृजनाहरूले सभा नै राेचक बनेको थियो । “महिला प्रतिको सामाजिक सोचको परिवर्तन र समान लैङ्गिक समाज स्थापना अपरिहार्य आजको आवश्यकता” माथि जोडदार दिइएका रचनाहरूले समाजको पृतीस्तात्मक सोच अनि ज्यादती, ब्यवहार, क़ानून, पुलिस, प्रशासन, सरकार, व्यवस्थापनको परिवर्तन कुराहरू विभिन्न छन्द तथा गद्य रचनामा सुनाइएका थिए ।

प्रतियोगी कविहरूको प्रभावशाली वाचन शैलीका कारण प्रस्तुत कविताहरूमा निकै राम्रो पाइन चढेको थियो । प्रतियोगी श्रष्टाहरू तीन वटा महादेशका तथा विभिन्न सामाजिक, आर्थिक, शैक्षिक क्षेत्र अनि पेशाका थिए । उक्त प्रतियोगिताका लागि साहित्यकार सीता पाण्डे, समालोचक लीला लुइँटेल र सुप्रसिद्ध कवि लालगोपाल सुवेदीलाई निर्णायकका रूपमा मनोनयन गरिएको थियो ।

बोर्ड अफ ट्रस्टीकी अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियाे । पुरस्कृत तथा वाचनका लागि छनोट गरिएका रचना पुरस्कृत बाहेक चौध-पन्ध्र वटा कविता पनि पुरस्कृत कविताकै हाराहारीका अब्बल रहेको धारणा साहित्यकार सीता पाण्डेले बताइन् । गद्य कवितामा विम्ब तथा प्रतीकको योजना कौशल र छन्द कवितामा पद लालित्य सहितको परिपाकबाट कविता कति बुलन्द बनेको छ भन्ने आधारमा अन्तिममा कुन कविता प्रथम, कुन द्वितीय र कुन तृतीय भनेर छुटाइन्छ भन्ने अनुभव बाँड्दै अन्तर्मनको सरस्वतीले अह्राए बमोजिम अत्यन्त कडा परिश्रमबाट पुरस्कारका लागि कविता चयन गरिएको धारणा कवि लालगोपाल सुवेदीले उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन अनेसास महिला समितिकी संयोजक उर्मिला निर्दोषीले गरेकी थिइन् । उनले सुरुमा कार्यक्रम माथि महत्त्व दिँदै “सन्तुलित साथै स्वच्छ समाज निर्माण’मा महिलाका सोचाइ र सृजनाका विषयहरूले समाजमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले ‘आमाहरू हरेक बच्चाका पहिलो शिक्षक, हरेक महिलाहरू घर गृहस्थीको मुटु तथा महिलाहरू नै समाजका मेरुदण्ड भएको उल्लेख गरिन् । निर्दाेषीले महिलाका सृजनाहरू समाजका दर्पण र उनीहरूको अन्तरमनका भावनाहरूका साथै सामाजिक पथप्रदर्शक भएकोले यस्ता प्रतियोगिताहरू समय समयमा अरू संस्थाहरूले पनि गर्नुपर्ने जोड दिइन् ।

अनेसास केन्द्रीय अध्यक्ष प्रकाश माइला पौडेलले शुभकामना सन्देश दिँदै कार्यक्रमको तारिफ गरेका थिए । कार्यक्रममा बोर्ड अफ ट्रस्टीका उपाध्यक्षहरू पुरु सुवेदी तथा पदम विश्वकर्माले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अनेसासका महासचिव सर्वज्ञ वाग्लेले सबै उपस्थित महानुभावहरू, सहयोगीहरू, पुरस्कारको रकम सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा विभिन्न साहित्यानुरागी, अग्रज कवि, कवयित्री तथा अनेसास केन्द्र र अनेसास बोर्ड अफ ट्रस्टीका अधिकांश व्यक्तित्वहरू साथै छनौट समितिका निर्णायक लगायतकाे ठुलो सहभागिता रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित