‘हाम्रो उज्यालो समाज राष्ट्रिय कार्यक्रम नेपाल’ देश र जनताको मुहार फेर्ने अभियान

समाज अहिले निकै गाह्रो अवस्थामा खडा छ । समाजमा मानवता, अनुशासन, इमान्दारिता हराउँदै गएको छ । देश र समाजको विकासको लागि हामीले केही गर्नुपर्छ भन्ने भावना हराएको छ । मानिसमा भगवानप्रतिको अनादर बढ्दो छ । यसैकारण बाढी पहिरो, दुर्घटना, जनधनको क्षती, आगलागी, भुकम्प, आत्महत्या, बलात्कार, झगडा, आन्दोलन, लागुपदार्थ आदिको समस्या बढ्दै गइरहेको छ । विदेशबाट दाजुभाई दिदीबहिनीहरु खाली हात दुःखका साथ फर्किरहेका छन् ।

यहाँ कुर्सीको पछाडी कुद्ने, नेता, भ्रष्ट कर्मचारीहरु छन् । देश निर्माण गर्नका लागि अगाडी बढेर कार्य गर्ने, जनतालाई रोजीरोटी दिने सम्भावना नै नरहेको अवस्था छ । ४० वर्ष यता विदेशका अनुपातमा यहाँ विकास, शिक्षा, स्वास्थ्य अति नै कमजोर अवस्थाबाट गुज्रिरहेको पाइन्छ । अब नेपालमा जनचेतना जगाउन राजनेताको आवश्यकता भएको छ ।

जसरी परापुर्व कालदेखि राणा तथा राजाहरुले आफ्नो अस्तीत्वमात्र बचाउन लागेका थिए, हाल आएर त्यही प्रवृत्तीमा यहाँका पार्टीका नेता तथा कार्यकर्ता तल्लीन छन् । राजनीतिक कार्यकर्ता भई देश विकासका नाममा व्यक्ति विकासमा यहाँका सामाजिक व्यक्तित्वहरु, कर्मचारीहरु राजनीतिको खोल ओढेर लागेको प्रष्ट देखिन्छन् ।

यस्ता समस्यालाई समाधान गरी देश र जनताको मुहार फेर्न विभिन्न नीति तथा कार्यक्रम गर्न साह्रै आवश्यक छ । यो कार्यक्रमले फुल्दै गरेका कर्णधारहरुलाई बाटो बनाउन प्रगती गर्न सिकाउन सजिलो हुनेछ । तत्कालै अगाडी बढ्ने गरी हाम्रो निर्देशिकाअनुसार जनता जनाअधिकार कार्यक्रममार्फत् दुई वर्षदेखि नै राम्ररी सेवा पाउनुहुनेछ । १९ वर्ष उमेर पुगेका सबै युवाहरुलाई रोजगारी दिने अभियानमा छौं ।

हाल यहाँ कोभिड १५ महामारी पश्चात् झन् रोजगारी गुमाउनेको संख्या उच्च दरले वृद्धि भएको समयमा वैदेशिक रोजगारीबाट समेत धेरै संख्यामा रोजगारी गुमाई आएका हाम्रा दाजुभाई–दिदिबहिनी समेतलाई सरकारबाट कुनै ठोस निति तथा कार्यक्रम आउन नसकेको तथा कुनै पनि सम्बोधन नगरिएको अवस्था छ । यसै विषम परिस्थितिलाई मध्यनजर गर्दै हाम्रो उज्यालो समाज राष्ट्रिय कार्यक्रम नेपाल लागु गर्ने तयारी गरेका छौं ।

देश विकासमा हामी १०० वर्ष पछि परिरहेको अवस्था छ । हामी सधैँ ठुला ठूला सपना मात्र देख्छौँ । सो साकार पार्न न त जनता अग्रसर हुनुपर्ने देखिन्छ, न त सरकार नै । अब भने हामी राजनीतिबाट पिरोलिएकाहरु नयाँ जीवन जिउन तयार बनौं । कार्यक्रम लागु गरी नयाँ नेपालको अनुभुती गरौं । हामीले धेरै संगठनहरु हेर्यौं । अब यो अभियानमा सहभागि भएर केही गरौं ।

समस्या

देशमा प्रजातन्त्रदेखि हाल लोकतन्त्र ल्याउदाँको वस्तु स्थिती हामीले मुल्याङ्कन गरेकै छौँ । यस बिचमा नेता, कर्मचारीहरुले देश विकासका नाममा गरेका भ्रष्टाचारको दलदलबाट आजसम्म पनि हामी मुक्त हुन सकेका छैनौँ । एनजिओ आइएनजीओले विभिन्न शिर्षकमा करोडौँ रकम दुरुपयोग गरी आफनो खल्ती भर्ने काम मात्र गरेको छ ।

राणा, राजाहरुको मोज र सोखहरुको इतिहास पढेर नेता र कर्मचारीले त्यही गरिरहेका छन् । हामीले उनिहरुसँग सेवा भनेको अहिलेसम्म १० प्रतिशत पनि प्राप्त गर्न सकेका छैनौँ ।

हामीकहाँ सम्भावनाहरु धेरै छन्, तर उचित मुल्याङ्कन, व्यवस्थापन गर्न नसक्नु बिडम्वना हो ।  हामी पुर्वकालदेखि नै सञ्चालनमा आएको सैद्धान्तिक शिक्षाको अवधारणाअनुसार शिक्षा पाइरहेकाछौँ । फलस्वरूप हाम्रो शिक्षण पद्धतीबाट खासै कुनै प्रकारको व्यक्तिगत विकास नदेखिएको पाइन्छ । जबसम्म जिवन उपयोगी, व्यवहारीक शिक्षाको सुरुवात हुँदैन, तबसम्म हामी सबल, सक्षम व्यक्ति हुन सक्दैनौँ ।

हरियो वन नेपालको धनको मूल नारा कागजमै सिमित हुनपुगेको छ । त्यही वन जंगलभित्र प्राकृतिक रुपमा उत्खनन हुन नसकी करोडौँ मुल्य बराबरको प्राकृतिक जडिबुटी, खनिज पदार्थ त्यसै खेर गइरहेको छ । जडिबुटी कौडीको भाउमा बिक्रि गरेर त्यसै जडिबुटीबाट निर्मित औषधि धेरै मूल्य तिरेर खरिद गर्नुको पिडा पनि छ ।

यस्तै फोहोरमैला व्यवस्थापनमा राज्य चुकेको छ । जसले नेपालीको स्वास्थ्य बिगारेको छ । यस्तै नेपालको छविलाई पनि अन्तर्राष्ट्रिय तहमा समस्यामा पारीरहेकोछ । यस्तै फोहोरमैला तथा प्रदूषणको कारण जलवायु परिवर्तनका कारण मौसममा अस्वभाविक परिवर्तन आइ त्यसको सोझो असर कृषि र कृषि प्रणालीमा परेको छ । जसबाट निम्नवर्गीय किसान, मजदुरहरु सबैभन्दा बढी पीडित बनेका छन् भने देशवासीलाई पनि अन्न तथा फलफूलको अभाव हुने र प्रदूषित हुने समस्या बढेको छ ।

भगवान शिव परमात्मा ईश्वरको शक्तिले हालसम्म जनधन रक्षा गरीरहनु भएको छ । तर मानिसहरु भगवान छैनन् भनी ख्याल नगरी व्यवहार गर्ने गरेकाले जनताले नै ठूलो क्षती बहन गर्नुपरेको सबैलाई थाहा नै छ ।

कलियुगका कारणले होला पण्डीतहरुले हामीलाई विभिन्न बहानामा हामीलाई ठगिरहेका छन् । पौराणिक कालमा कृष्णजी, राम, विष्णु, शंकर, सिद्धार्थ गौतम नाम भएका मानिसहरुले त्यस बेला राम्रा कार्य गरेकाले त्यो समयमा आफ्नो नाम देवताका रुपमा स्थापित गर्न सफल भएका हुन् । तर उनिहरु भगवानका रूपमा स्थापित गराउन पण्डितहरुले पुराणलगायत विभिन्न कार्य, तथा पुस्तकहरुमा छपाई प्रवचन भनेर झुक्याईरहेका छन् ।

यी सबै गलत प्रचार हुन् । उनिहरु मानिसमात्रै हुन्, भगवान भनेका १ मात्र शिव परमात्मा हुनुहुन्छ । हामीले वहाँको बन्दना सधैभरी गर्नुपर्नेमा मानिस मरीसकेका लाई बन्दना गर्छौं । हामीले यी सबै समस्याहरु र त्यसका कारणहरुलाई बुझ्न जरुरी छ । बुझ्न सक्यौं भने मात्र केही गर्न सक्छौं ।

सम्भावनाहरु

हाम्रो स्थानीय सरकार ७५३ वटा छन् । सात प्रदेशमा सबै ठाउँमा स्थायी वा अस्थायी जनता छन्, ठूलाबडादेखि साना गरिबसम्म छौँ । हाम्रो संसार सबै कुरा मिलेको छ । हाम्रो वडा कार्यक्रम यसरी नै सबैमा लागु गरिनेछ ।

अर्को कुरा, विश्वमा प्रकृतिको धनी हाम्रो देश नेपाल, हामीसँग प्रकृतिले दिएको प्रचुर मात्रामा दिएको उपहारको मात्र संरक्षण तथा सदुपयोग, उत्खनन् गर्ने हो भने सो प्राकृतिक सम्पदाले नै विश्वमा हामी अगाडी रहन सक्छौँ ।

विश्वमा जल सम्पदाको दोस्रो धनी हाम्रो देश, पर्याप्त विद्युत् उत्पादन गर्ने सम्भावना छ । विद्युत उत्पादन गरी विश्व बजारमा विक्रि वितरण गर्ने हो भने देश मात्र नभई हामी जनतालाई समेत हरेक प्रकारको आम्दानीका साथै ठूलो मात्रामा बेरोजगारीको समस्या हल हुने थियो ।

यसभन्दा ठूलो आम्दानीका बाटाहरु धेरै छन् । विदेशबाट नेपालको प्राकृतिक सौन्दर्य हेर्न नेपाल हेर्न, घुम्न पर्यटकहरु आउँछन् । आकाश मार्ग भएर काठमाण्डौको ठमेल, पोखराको ताल मात्रै हैन, हामीले देखाएको दृश्यपनि मन पराएर फेरी फेरी आउनेछन्, बधाइ पनि दिनेछन् । उनिहरु थप सुझाव र ज्ञान थपीदिएर जानेछन् । हामीलाई थप उर्जा समेत मिल्नेछ ।

सिचाई पुर्याउन सके हाम्रा खेतबारी हराभरा रहीरहनेछन् । विदेशतिर ठाउँठाउँमा २०–२५ किलोमिटर उभो पनि पानी खोलावाट तानेर उन्नती प्रगति गरेका छन् । हामी पनि गर्न सक्छौं ।

हामीले तिरेको करको मुल्याङ्कन नगरी भ्रष्टचार गरेका छन् । तर हामी वडावासीहरु सक्रिय भएर लाग्न सके ५५ प्रतिशत कन्ट्रोल गर्न सक्ने वातावरण हामी बनाउँदछौँ । गुण्डागर्दीलगायत विभिन्न विकृतिहरु पनि समाप्त भएर जानेछन् । शिक्षाको उचित विकास हुनेछ । हामीले जडीबुटीलाई चिनेर देशमै प्रशोधन गरी औषधी बनाउने काम गर्नुपर्छ । साथै शिक्षालाई व्यवहारिक बनाउनुपर्छ ।

हरेक विकास निर्माणमा भष्ट्राचार कमिसनको जालोले देशलाई झल खोक्रो बनाइरहेका छन् । यस्तो कार्य रोक्न सक्षम भएर देश विकासका हरक समयमा खवरदार गर्न सकिए चाडै देशको मुहार फेर्नेकुरामा हामी विश्वस्त छौं ।

हाम्रा आफ्नै गाउँमा रहेका खोलानालामा भएका ढुङ्गा वालुवा विभिन्न ठेकदार वा दलालहरुले घुमाई रहेका छन् । हामी त्यसलाई रोकथाम गरी विकास निर्माण हानै हातबाट ठेकदारलाई पस्त नदिई ५–७ हजार जनसमुदायवाट दरिलो पक्का कार्यक्रम, राम्रो बनाउन सकिन्छ त्यस कुराको समिक्षाको बारेमा केही थप गर्न निति नियम बनाउँदै जानुहुनेछ । हामीले स्थानीय कानुन पनि बनाउन सकिनेछ ।

हाम्रा देशका धेरै मानिसहरु पैसा कमाउन विदेश जानु भएको छ । त्यहाँ गई विकाश निर्माणको धेरै कार्यहरु अनुभव गरीरहनु भएको छ । वहाँहरुलाई साथमा लिएर देश विकासमा लाग्ने हो भने वहाँहरुको विदेसिने वाध्यता अन्त्य हुनुको साथै देशले कोल्टे फेर्ने कुरामा दुई मत नै छैन ।

हामी विभिन्न स्रोतवाट धनी छौ । तर ठूलाबडाको दिमागमा गोबर घुसेको छ । पढा लेखा डा. लेख्नुहुनेहरुका बुद्धि थाहा पाइसकेका छौँ । उहाँहरुको सोच देश र जनताको हितमा छैन । हामी आफै मिलेर गर्न सके ठूला ठूला आयोजना र कारखानासमेत खोल्न बनाउन सक्छौँ । तब मात्र हाम्रो हैसियत हुनेछ । घण्टा–घण्टाको समयलाई मुल्याङ्कन गर्ने समय आइसकेको छ । हाम्रा कार्यक्रम अति नै महत्वपूर्ण छ साथै आगामी भविष्य उज्वल हुँदै जानेछ ।

कार्यक्रम कसरी अघि बढाउने ?

सेवाको भावना ठूलो सानो नसम्झी गर्नु सबैको दायित्व हो । हामीले आफ्नो अधिकार मानव अधिकार खोज्न ठूलो बाटो समातेका छौं । स्थानीयकरण भई सात प्रदेशमा विभाजन भईसकेको अहिलेको अवस्थालाई मध्यनजर गर्दै ७५३ वटै स्थानिय निकायअन्तर्गत सबै वडाहरुलाई अग्रसर बनाई विदेशी नितिअनुसार काम गर्दै जनतामाझ प्रत्येक घरबाट एक सदस्य अनिवार्य रुपमा सम्मिलित गराई हप्तामा ४ दिन प्रत्येक दिन दिनको २ घण्टाका दरले आफ्नो क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरु (जस्तैः सरसफाई, स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, जलवायु परिवर्तनका साथै अन्य विकास निर्माणका कार्यक्रम) गर्नेछौं । हामी जनस्तरबाटै यो कार्यक्रम गरी स्थानिय सरकार, जनप्रतिनिधि, नेता, कार्यकर्ता तथा समाजमा उदयमान व्यक्तिकोसमेत साथ लिइ ८० प्रतिशत नागरिकहरुलाई समेट्नेछौं ।

वडाका प्रत्येक घरका १ जना जनता सदस्य बनाइ वार्षिक सेवा शुल्क १०० उठाई सयौँ वर्षलाई हुने लालखाता खडा गरी वडामा बसोबास गर्ने जनप्रतिनिधी, शिक्षक, व्यापारी, वुद्धिजीवी, किसान, मजदुर, कर्मचारीहरु नछुटाई, प्रत्येक घरबाट १ जना सदस्य हाजीर भई सामाजीक सेवा विकास कार्यक्रम अगाडी बढाउनुपर्छ । राजनितिक परिवेशवाट टाढा भई प्रत्येक टोल तथा गाउँबाट कम्तिमा ५ जना पुरुष र ५ जना महिलाको मूल समिति र अन्य बाँकी सबै साधारण सदस्य नाम दर्ता गर्नुपर्नेछ ।

हाम्रो नीति, कार्यक्रमलाई चीन, कोरीया, भारत, मलेसिया, जापान, सिंगापूरजस्तै बनाउन आवश्यक छ । प्रत्येक महिनामा १६ दिनलाई हप्तामा ४ दिन समय दिएर सफलता हाँसिल गर्न बिहान ६ बजेबाट ८ बजेसम्म दैनिक २ धण्टालाई अनेक नसम्झी अग्रसर हुनुपर्नेछ ।

हामी कार्यक्रम सुरु गर्दा ३ पटक भगवान शिव परमात्माकी जय, ईश्वर भगवानकी जय, ॐ नम शिवायकी जय भनी एकै आवाजमा स्वर मिलाएर जप्ने । त्यसपछि अगाडी बढेर २० मिनेट स्वास्थ्यको विषयलाई ध्यान दिई जनचेतना आदानप्रदान भलाकुसारी गरी अरु कार्यक्रम अगाडी बढाइनेछ ।

कार्यक्रम लागु गर्नको लागि सबैको सहभागिता हुनेछ । छलफलबाट नीति नियम बन्नेछन् । तपाइहरुकै सहभागितामा कार्यक्रम सञ्चालन हुने हुँदा कार्यक्रमलाई सफल बनाउन तपाइकै भुमिका मुख्य हुनेछ । कार्यक्रम अवहेलना गर्नेलाई हामीले बनाएको स्थानिय कानुनमा उल्लेखित गरी नीति नियम बनाउनुहोला ।

३ महिनासम्म हाजिर हुन नमान्नेहरुलाई रु. ५००० सम्म जरिमाना गरीलिए पछी पनी नआउने हरुलाई २५ प्रतिशत थप गर्दै जाने कडीकडाउ नियम बनाएपछि अनुशासन कायम हुन्छ । त्यसो गर्दा पनि अटेर गर्नेलाई समाजले गर्ने सेवा सुविधा र वडाको कामहरुबाट वन्चित गर्न सक्ने प्रावधान बनाउनुहोला ।

अनुरोध

सेवा नै धर्म हो । यस संस्थालाई अगाडी बढ़ाउनका लागि सम्पूर्ण स्थानिय निकाय, जनप्रतिनिधि, जनसमुदाय तथा विभिन्न विचार लिई पार्टी, विभिन्न क्षेत्रमा कार्य गरिरहन भएका प्रतिष्ठित नागरिक, पत्रकारज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु ।

यस कार्यक्रममार्फत् सबै नेपाली माझ देश विकासको अवधारणाको विकास गरी समृद्ध राष्ट्रको सपना पुरा जनतामाझ विभिन्न कार्यक्रम आयोजना गर्दै उक्त सोँचलाई व्यवहारीक जीवनसँग जोडी विकास निर्माणमा सहभागी हुनका लागि आग्रह गर्न चाहन्छौँ ।

यो कार्यक्रम नेपाललाई एक सफल देश र नेपालीलाई सफल नागरिकको रुपमा परिचित गराउनका लागि मात्रै नभई हाम्रा पिढीहरुलाई समेत समेटी भोली आउने हरेक समस्याहरुसँग जुध्न योग्य बनाउन समेत सहयोगी हुने विश्वास हामीले लिएका छौँ ।

साथै भविष्यमा आउने बेरोजगारीको समस्यामा पूर्ण रुपले सहयोग गर्न सफल हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौँ । नेपाल सरकारले बागमति सरसफाई कार्यक्रम आयोजना गर्दा कति समय र रकम खर्च गर्यो, त्यसको सिमा नै छैन । तर हामी गाउँ वडाका वासिन्दाहरु सबै सक्रिय भए लाग्ने मात्र हो भने पनि खोला नाला मात्र हैन बाटो, फोहोर मैलो दैनिक सरसफाईलाई सही सदुपयोग गर्न गराउन हामी सक्षम हुनेछौं ।

हाम्रा कार्यकमहरु धेरै भन्दा धेरै छन् । हाम्रो कार्यक्रम भनेको पिडित जनताको भावनाबाट उत्पति भएको हो । हाल साधारण कार्यक्रम मात्र ल्याएका छौँ । अरु कार्यक्रम अझै बाँकी छन् ।

जसरी थोपा थोपा मिलेर समुन्द्र बन्छ, हामी पनि सोही अवधारणा लिएर वडावासीहरुलाई जागरुक भएर लागेमा देश तथा जनताको विकास हुने पक्का छ । कार्यक्रम पूरा हँुदै जाँदा विश्वका समृद्ध मुलुक चाइना, सिंगापूर जस्तै उज्यालो समाज निर्माण गर्न सक्षम हुनेछौँ ।

– डिल्लीराम श्रेष्ठ मकाजु,  (फोन नं. : ९८५२०६०२०९)

प्रतिक्रिया

सम्बन्धित