लघुकथा : एक संकल्प

‘जय नेपाल सर’ हाकिमको ढोकैनिर पुगेर प्रवेशले गोडा बजारेर सलाम गर्यो । हाकिमले अनुहारनै नहेरी मुखले मात्र सलाम फर्काए । ‘ नौ महीना बढी भयो सर घर नगएको , घर पनि पश्चिम हो , यस पटक पनि घर जाने लिस्टमा मेरो नाम छुटेछ , चाडपर्व भएकोले मात्र जान खोजेको हुँ ! पाँच दिन मात्र भए पनि पुगेर आउँथे हजुर !” उसले एकै स्वाँसमा रिपोर्ट गर्न भ्यायो ।

“तेरो मात्र घर छ ? तँलाई मात्र चाडवाड आएको छ ?” हाकिम पुलुक्क हेरेर कड़किए ।हाकिम रिसाउँदा चुप बस्नु पर्छ भन्ने प्रवेशलाई राम्रोसँग थाहा थियो । ‘एक सय पचास जना लगातार घर गइरहेका छन् हजुर ! मेरो घर अलि टाढा भएकोले यो बेला जाने भनेर बसेको , नाम सिफ़ारिस नभएकोले यहाँ आएको हुँ , हजुर !‘ एक छिनको मौनता तोड़दै प्रवेशले भन्यो ।

‘तेरो समस्या पिरमर्का सबै तलबाट मिलाएर ल्याएपछि मात्र मैले स्वीकृत गरेको छु ,त घामड रहेछस् त्यसैले तेरो परेन होला, हेर्दै घामड जस्तो छस् तैले साथीहरु उचाल्छ्स्” केही सम्झे जस्तै गरिसकेपछि अड्कलको भरमा हाकिमले हकारे प्रवेशलाई । सलाम गरेर नबोली चुपचाप प्रवेश बाहिरियो ।

सधैँभरी सामेलीको ब्रिफिंगमा समस्या सुनवाई नभए सिधै मेरो कार्यकक्षमा आउनु भनेकोले मात्र प्रवेश हाकिमको कोठामा गएको थियो ।सरुवा हुदा उसको मात्र दरबन्दी टाढा परेको थियो ।सबैको घर नजिक नजिक भएकोले निरन्तर घर आऊँ जाऊँ गरिरहन्थे ।तारन्तार घरबाट फोन आउँदा पनि राष्ट्र र जनताका लागि काम गर्ने सिपाही बेलाबखतमा मात्र घर आउन पाउँछ नि ‘ भन्दै सम्झाउथ्यो घरमा ।

‘ प्रबेश अस्ति तैले सबै साथीहरूसँग गरेको, पढनु पर्छ , ड्राइभिङ , कम्प्यूटर सिक्नु पर्छ , हातमा कुनै न कुनै सीप भयो भने काम सजिलो हुन्छ भनेर ब्यारेंकमा गरेका कुराले अनर्थ पो लागेछ त ! साथी बिमलले एकै पटकमा कुरा टुङ्ग्यायो ।प्रवेश निशब्ध भो ।

‘हो हजुर त्यो प्रवेश काम त जानेको छ तर घामड रहेछ , हुन त कार्यालयको सबै काम उसले गर्छ , कम्प्यूटर ड्राइभिङ सबैमा पोख्त छ , कुनै योजना तयार गर्नु पर्यो भने छिनमै तयार गर्छ , भाषण त झन् कति राम्रो गर्छ ,अधिकृतको तयारी पनि गरेको छ तर साथीहरु उचाल्छ हजुर ! धेरै पढे भन्ने घमण्ड हो की हजुर ! बिल्लादरको प्रमुखले हाकिमसँग गरेका कुरा बिमलले पनि सुनिरहेको थियो ।

‘त्यसलाई कार्यालयबाट दिने सबै सुबिधा बन्द गरीदिनु ‘हाकिमले एक तर्फ़ी कुरा सनेर उर्दी जाहेर गरे । ‘ हास् हजुर ‘ बिल्लादर प्रमुख झन्नै बिमलसँग ठोकिन जोगिएर बाहिरियो ।
प्रवेशको कुरा लगाएकोमा बिमल निराश थियो ।प्रवेश र बिमल धेरै बेर एकैखाले कुरा गरे । एउटा पूर्वको अर्कों पश्चिमको भएपनि दुबैमा मिलती थियो । सही कामको सही मूल्यांकन हुन नसकेकोमा दुबै खिन्न देखिन्थे । बिल्लादार प्रमुखले किन किन सधैँ प्रवेशको खेदो खन्न थाल्यो ? उसको कुरा हाकिमले पटक्कै सुनेनन् ।प्रवेशले जागिरबाट राजिनामा दियो ।

आज जिल्लामा हुन गइरहेको जिल्लाको सुरक्षा कसरी मजबूत बनाउने भन्ने विषयको बैठकमा सुरक्षा प्रमुख, जन प्रतिनिधि, सरोकारवाला सबै उपस्थित भइसकेका थिए ।जिल्ला समन्वय समिति सभापति आएपछि कार्यक्रम शुरु भयो ।जिल्लामा शान्ति सुरक्षा कायम राख्ने , चाडपर्वलाई लक्षित सुरक्षा योजना ल्याउने , लगाएत विषयमा छलफल गरी केही निर्णयहरु पनि भयो । कार्यक्रम सकिए पछि चियापानमा सबै सरिक थिए।

‘आरमै हुनुहुन्छ सर ? प्रहरी प्रमुखलाई पछाडिबाट कसैले सोधेको सुनियो ।प्रमुखले ठीक भएको जानकारी स्वरूप टाउको मात्र हल्लाए । ‘ म पनी पन्ध्र बर्ष पहिला तपाईको जस्तै प्रहरी सेवामा थिए तर अचानक राजिनामा दिनुपर्यो ।आफ्नै ज़िल्लामा आएर जनताको सेवाका लागि राजनीति गरेँ ,अहिले जिल्ला समन्यव समितिको अध्यक्ष भएको छु ।यो तपाईको देन पनि हो है सर ! हाँस्दै धेरै कुरा बिस्तारै भने सभापतिले । प्रहरी प्रमुख अचम्म परे ।

‘तपाई पूर्व हुँदा मेरो कामको जस दिनु भएन ।सुबिधाबाट बंचित गर्नु भो , बाध्यताले निस्केको थिएँ ठिकै भएछ ,त्यही बेलाको संकल्पले काम गरे होला सायद आज खुशी छु ‘ हाँस्दै फेरि कुरा जोडे सभापतिले ।

‘त्यही प्रवेश हो हजुर ? प्रहरी प्रमुख अकमकिएर सोधे ।प्रवेश फिस्स हाँसे मात्र । खाँदै गरेको चियाको कप टेबलमा राखेर प्रहरी प्रमुख सभापतिलाई सलाम गरी कार्यक्रम स्थलबाट बाहिरिए ।

हरीचन्द्र ढकाल
काठमान्डाैं, हाल धनकुटा

प्रतिक्रिया

सम्बन्धित