के अब गरिबले उपचार नपाएरै मर्नुपर्ने दिन आएको हो ?

इटहरी । कोभिड १९ को संक्रमण भईहाले पनि सरकार छ भन्ने झिनो आशामा बसेका नागरिकहरुको आशाको त्यान्द्रो समेत मंगलबारबाट चुटिएको छ । त्यसैपनि नागरिकहरु कोभिडको त्रासमा रहेका छन । त्यसमाथि सरकारको पछिल्लो निर्णयले नरामैरी तर्साएको छ । सरकारले कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै हात उठाएपछि नागरिकहरुमा बाँकी रहेको एउटा झिनो आश पनि मरेको छ ।

स्थानीय निकायहरुले गर्दै आएको पिसिआर परिक्षण पनि रोकेका छन । प्रयोगशालाहरुले स्वाब लिन नमान्ने गरेको भन्दै उनीहरुले परिक्षण रोकेका छन । संक्रमितहरु आफै निजि अस्पतालमा पुगेर परिक्षण गराईरहेका छन । संक्रमण भईहाले पनि तनि तहको सरकारले केही गर्छ भन्ने आशापनि रित्तिएपछि बिपन्न समुदायका नागरिकहरुलाई झन समस्या भएको छ । बिपन्न बर्गले न त अब २ हजार तिरेर पिसिआर परिक्षण गराउन सक्छन न त उनीहरुले दैनिक ६ हजार ६ सय तिरेर निजिमा उपचार नै गर्न सक्छन । अब उनीहरु सँग एउटै बिकल्प छ, मृत्यु कुर्नु, सरकार गैरजिम्मेवार बनिदिँदा आज यो अबस्था सिर्जना भएको हो । आफना नागरिकप्रति अलिकति पनि उद्धार नबन्दा नागरिकहरुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

प्रदेश १ सरकारले संक्रमितको निशुल्क उपचार गर्ने बताएपनि भएका सरकारी र कोभिड अस्पतालमा बेड नै खाली नभएपछि र संक्रमित भर्ना नै हुन नपाएपछि कसरी संक्रमितको उपचार होला ? त्यसमाथि प्रश्न उब्जिएको छ । साथै भर्ना हुन पनि आफन्त,नातागोता,पार्टीका कार्यकर्ता हुनुपर्ला,त्यो झन समस्याको बिषय बनेको छ । प्रदेश सरकारको नारा र भनाई उत्कृष्ट भएपनि ब्यबहार र काम गराई नागरिकले देखेकै,बुझेकै छन । यहि बिचमा प्रदेश १ का राजधानी विराटनगरका निजी अस्पतालले कोरोना संक्रमितको उपचारका लागि शुल्क निर्धारण गरेका छन् । आइतबारबाटै निजी अस्पतालले शुल्क निर्धारण गरेका हुन् ।

विराटनगरमा नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, न्यूरो अस्पताल र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा संक्रमितको उपचार भइरहेको छ । कोशी अस्पताल प्रदेश १ सरकारले सञ्चालन गरेको हो । अन्य अस्पताल निजी क्षेत्रबाट सञ्चालित हुन् । निजी अस्पतालले आइतबारबाटै शुल्क लिन थालेका हुन् । कोशी अस्पताल कोभिड–१९ को शुल्कका विषयमा प्रदेश सरकारले निर्णय गरेको छैन । अर्काे निर्णय नभएसम्मका लागि पुरानै निर्णय (निःशुल्क) यथावत रहने प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की बताउँछन ।

कुन अस्पतालमा कति शुल्क ?

विराटनगरका तीन अस्पतालमध्ये दुई अस्पतालले संक्रमितको उपचारको शुल्क तोकेका छन् । न्यूरो अस्पताल र विराट मेडिकल कलेजले संक्रमितको उपचारको शुल्क तोकेका हुन् । नोबेलले बुधबार शुल्क निर्धारण गर्ने तयारी गरेको छ । न्यूरो अस्पतालले जनरल वार्डका लागि दैनिक ६ हजार ६२५ शुल्क तोकेको छ । आईसीयूका लागि दैनिक शुल्क १५ हजार शुल्क तोकेको छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार भेण्टिलेटरमा बस्नुपरे दैनिक ३० हजार तिर्नुपर्छ । ‘अस्पतालले तोकेको शुल्कमा चार पटकको खाना र अन्य सुविधा पनि जोडिएको छ,’ आचार्यले भने, ‘सामाजिक विकास मन्त्रालयले पत्र पठाएपछि २ गतेबाट नै शुल्क लिन थालेका छौं ।’ न्यूरोले ११ भदौदेखि कोभिड १९ अस्पताल सञ्चालन गरिरहेको छ । २३ भदौमा प्रदेश १ सामाजिक विकास मन्त्रालयसँगको सम्झौतापछि निःशुल्क सेवा सुरु भएको थियो । न्यूरोमा ४९ वटा बेड सञ्चालनमा छन् ।

विराट मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि जनरल वार्डमा उपचारका लागि ८ हजार रुपैयाँ शुल्क तोकेको छ । जनरलको क्याबिनमा बस्दा १२ हजार ५०० शुल्क तोकिएको छ । विराट मेडिकल कलेज कोभिड(१९ को आइसोलेशन इञ्चार्ज सुनिल देवका अनुसार आईसीयूको दैनिक शुल्क ३५ हजार तोकिएको छ । भेण्टिलेटरमा बस्नुपरे दैनिक ५० हजार शुल्क लाग्नेछ ।

विराट मेडिकल कलेजमा १६० वेडको कोभिड १९ अस्पताल छ । जसमा १८ वटा आईसीयू र ७ वटा भेण्टिलेटरको सुविधा रहेको उनले बताए । नोबेल मेडिकल कलेजले बुधबार शुल्क निर्धारण गर्ने कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । ‘सरकारको निर्णयपछि उपचार शुल्क लाग्छ,’ उनले भने, ‘शुल्क कति लिने भन्ने निर्धारण भएको छैन । निजी अस्पतालले शुल्क लिएपनि प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा निःशुल्क उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित