दशैँ र ढिकी


(कविता)
दशैँ र ढिकी
-रेखा सुवेदी

दशैँको सङ्घारमा
बिहान घामको लालिमा नछरिइ
खित्का छोडेर
हाँस्न सुरू गर्दथ्यो ढिकी
ढ्वाक ढ्वाक ढ्वाक

आमा संगिनी हाल्दै निकाल्थिन्
ओख्लीबाट दशैँका चिउरा
दिदीहरू पैतालामा ठेला उठिञ्जेल दबाउथे छोड्थे
ढिकीको पुच्छर

फेरि पनि फर्केर दशैँ आयो
न छ ढिकी
न छ आमाको पाखुरामा तागत

आजकाल दशैँ आउँछ जान्छ
विज्ञापनका ठूलाठूला होल्डिङ बोर्डहरू
लिएर

अब ढिकी र उसको खित्का पुरिएको छ
चिहानभित्र

प्रतिक्रिया

सम्बन्धित