कविता : “प्रजातन्त्र को लहर “

प्रजातन्त्र ल्याउंछौं ,
निरंकुशताको अन्त्य गरी छाड्छौं
भनी अग्लो ठाउँ चढेर
जोशिलो भाषण खुब छाँट्ने !
मान्छे त मान्छे कुकुरलाई पनि
पत्यारै लाग्ने !
तपाईं जनता देशका मालिक बन्ने !
आउनुस्,
सबै मिली देशलाई स्वर्गाम्मे बनाएरै छाड्ने !
घिउ भात खाने अनि रेशम कपास लाउने,
लौ त्यसैले हाँसी हाँसी तपाईं प्राण दिनुस् ,
हामी तपाईंलाईं सुन्दर शान्त नेपाल दिने !
अन्याय,पिड़ा नामको बिरालो त
छेउमै पर्न न दिने !

खुशियाली नाऊ गरेकी चेली त
तपाईंसंगै घरजम गरी बस्ने !
छोराछोरी उच्च शिक्षा पढ्ने ,
अनि ठूला ठूला अफिसर बन्ने ,
कोही हाकिम
कोही सरकारी जागिर खाने ,
यस्तै चट्ट रसिला र स्वादिला
सपना देख्नु भाको र देखाइएको थियो हैन र !
प्रजातंत्र को नाममा !
कस्तो पो होला प्रजातन्त्र भनेको त ए बा !
ए !! यस्तै पो हुंदो रै छ ! प्रजातन्त्र भनेको त !
खै दिनहूँ तैं छाड़ र मै खाऊं
नत्र भागबन्डा लाएर भए पनि खाऊँ,
तर जसरी भए पनि खाऊँ !
झारेर हुन्छ की मारेर हुन्छ,
सरकार मा एक पटक जाऊँ
त्यस पछि त हुन्छ सब आफ्नै दाऊ ।

भाइबहिनी, इष्टमित्र नातागोता ले पार्नु पर्छ कुर्सी जती सब भरिभराऊ।
बल्ल तल्ल पारेको मौका,
सके सम्म खाऊँ, डकार आए पछि पनि खाऊँ।
देशको मोल भाऊ कहिले बाहिर त कहिले भित्रै गरेर आऊँ ।
यति छिटो देश विकास गरेर अहिले
आफ्नै सोह्रपुस्ते बन्दोबस्त चैं अनि गरी सक्नु कहिले !
रुँदै गरोस् श्रीमती छोरा छोरी जो सुकै शहीदका भोकैले ,
पिल्सि राखोस् जनता निमुखा देशका अभावैले ,
बिदेशिनु परोस् जती नै दिदी बहिनी दाजु भाइहरुलाई पठाएर टाढा टाढा पेटैले,
उसुल्नु पर्ने छ सोझासाझा जनतासित
कर बाक्लै दरले ,

मबाट दर्रो केही होला भन्ने भर भने पटक्कै न पर
जसरी भए नि अटाई न अटाई भूंड़ी मेरो टन्नै गर,
पहिला एउटा भर्नु पर्ने अब थुप्रै ईनार भर
बुझी राखौं है ,सोझासाझा जनताका लागी
घर घर चलेको यही नै हो प्रजातन्त्र को सुहाउँदो , स्वाद को लहर !!!
हैन र ?

इन्दु तोदी, धरान

प्रतिक्रिया

सम्बन्धित