मान्छेहरु के गर्दैछन् ? के गर्दैछन् ?? : लक्ष्मीप्रसाद कोइराला

घोडाहरु कुद्दैछन् ।

कुकुरहरु भुक्दैछन् !

हात्तीहरु लम्कदैछन् !

स्यालहरु कराउँदैछन् !

साँढे गोरुहरु डुक्रदैछन् !

बाघ-बघिनीहरु गर्जदैछन् !

झुसिलकिराहरु निस्कदैछन् !

खै, मान्छेहरु चाहिँ के गर्दैछन् ?

गड्यौलाहरु सलबलाउँदैछन् !

भ्यात्लुङजुका टाँसिदैछन् !

लामखुट्टेहरुले टोक्दैछन् !

ब्वाँसाहरुले कोतर्दैछन् !

बाँदरहरु उफ्रिदैछन् !

पुतलीहरु नाँच्दैछन् !

चमेराहरु झुन्डिदैछन् !

मौरीहरु भुनभुनाउँदैछन् !

चिप्लेकीराहरु चिप्लिदैछन् !

बिरालाहरुले नङर्‍याउँदैछन् !

लाटोकोसेराहरु उलुलु गर्दैछन् !

खै, मान्छेहरु चाहिँ के गर्दैछन् ??

झ्याउँकिरी झ्याउँझ्याउँ गर्दैछन् !

भ्यागुताहरु ट्वार्ट्वार गर्दैछन् !

सुगा-मैनाहरु चिर्बिराउँदैछन् !

छेपाराहरु रङ्ग बदल्दैछन् !

सर्पबिच्छीहरु डस्दैछन् !

रुप्पीहरु कराउँदैछन् !

भालेहरु बास्दैछन् !

मान्छेहरु के गर्दैछन् ?

के गर्दैछन् ? के गर्दैछन् ??

प्रतिक्रिया

सम्बन्धित