प्रदेश १ का १३ स्रष्टा सम्मानित

विराटनगर / प्रदेश सरकारले १३ जना श्रष्टाहरुलाई सोमबार विराटनगरमा सम्मान गरेको छ । उनीलाई मुख्यमन्त्री शेरधन राई लगायतले सम्मान गरे । सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित भएका हुन् । एक लाख राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका स्रष्टा डा. नवलकिशोर राई सम्मानित भए । उनले सम्मानमा प्राप्त राशि मध्ये ५० हजार आरोहण गुरुकुल र ५० हजार कोरोना उपचार कोषलाई हस्तान्तरण गरेको घोषणा गरे । त्यसैगरि, भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका छन् ।

ललितकला तर्फ अनुराधा थापा–मोरङ, साहित्य तर्फ धनकुटाका उमानाथ घिमिरे‘सागर’, मोरङका कविराज पोखरेल, झापाका मुनाराज शेर्मा, खोटाङकी पञ्चकुमारी परियार, पाँचथरका प्रेम ओझा, सुनसरीका शिवनारायण पण्डित ‘सिंगल’ सम्मानित भए । त्यसै गरी साहित्य र कलातर्फ सोलुका डीवी किराँती, रंगकलातर्फ झापाकी कविता नेपाल, चलचित्रकर्मीतर्फ मोरङका केशव रायमाझी, नृत्यकलातर्फ मोरङकी माया पौडेल र गीतसंगीततर्फ मोरङकै वीरध्वज शिवा सम्मानित भए । कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवश्यक रहेकोमा जोड दिएका छन् । २ सय ७ औं भानुजयन्तीको अवसरमा विराटनगरमा १३ जना स्रष्टालाई सम्मान गर्ने क्रममा मुख्यमन्त्री राईले साहित्य, कलाको संरक्षण र विकासका लागि प्रदेश सरकारले एकेडेमी निर्माणको कार्य सुरु गरेको बताए ।

विगतमा यस क्षेत्रका स्रष्टाको खोजी, पहिचान सम्मान गर्न नसकेको बताएका मुख्यमन्त्री राईले प्रदेश सरकारले दत्तचित्त भएर यस क्षेत्रको आवश्यक संरक्षणमा जोड दिने प्रस्टाए । उनले साहित्य, कला, संस्कृतिको संरक्षण हुन नसके नेपालीपन विलाएर जाने बताए । कार्यक्रममा नेपाली भाषाको प्रयोग गर्नेको संख्या ३० प्रतिशत घटेको बताउँदै सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाली भाषा संकट अवस्थामा रहेको प्रस्टाए । अहिलेको अवस्थामा भाषा, साहित्यको संरक्षण र विकास नगरे भावि सन्ततिमा नेपाली भाषाको प्रयोग अझै कम हुने मन्त्री घिमिरेको भनाइ छ । कार्यक्रममा प्रा.डा. टंक न्यौपाने, प्रा.डा. भीम खतिवडा, प्राज्ञ खेम नेपाली, साहित्यकार मुनाराम शेर्मा लगायतले आदिकवि भानुभक्त आचार्यको स्मरण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित