हतुवागढीको साहित्यिक इतिहासबारे अनुसन्धान समेटिएको कृति ‘हतुवागढी साहित्य दर्पण’ सार्वजनिक

सुनसरी । हतुवागढीको साहित्य, सङ्गीत तथा सँस्कृतिको इतिहास र वर्तमानबारे अनुसन्धान समेटिएको कृति ‘हतुवागढी साहित्य दर्पण’ सोमबार सार्वजनिक गरिएको छ । पुस्तक हतुवागढी गाउँपालिका अन्तर्गत हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठानले प्रकाशन गरेको हो । श्रीशीशा राई प्रधानसम्पादक रहनुभएको उक्त कृतिको धरानमा आयोजित कार्यक्रममा भाषाविद प्रा.डा. टङ्क न्यौपानेले विमोचन गर्नुभयो ।

टिप्पणीकार कवि तथा पत्रकार उपप्राध्यापक राजेश विद्रोहीले पुस्तकले हतुवागढीको साहित्य, कला तथा सँस्कृतिको मात्र नभई समग्र इतिहासलाई लिपिवद्ध गर्ने कार्यको शुरुवात गरेको बताउनुभयो । साहित्यले राजनैतिक, आर्थिक, शैक्षिक सबै पक्षलाई उजागर गर्ने बताउँदै उहाँले प्रकाशित कृतिले हतुवागढीको जिवन्त दस्तावेज उतार गरेको देखिने दाबी गर्नुभयो । साहित्य कला प्रति स्थानिय निकायमा यतिसम्मको जागरुकता र लगाव हुनु अनुकरणीय रहेको उहाँको भनाई थियो ।

तीन सय १८ पेजको उक्त पुस्तक हतुवागढी गाउँपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले प्रकाशन गरेको हो । पुस्तकमा हतुवागढीको साहित्य, कला, सँस्कृति, सङ्गीतको इतिहास र वर्तमानका बारे खोज अनुसन्धानमुलक लेख समावेश छन् । हतुवागढी पृष्ठभूमि भई देश वा विदेशमा रहेका सर्जकहरुका कविता, कथा, गजल, गीत, मुक्तक आदी रचनाहरु पनि यसमा समेटिएकाछन् । अतिथि सर्जकका रुपमा प्रा.डा. टङ्क न्यौपाने, कवि मुनाराज शेर्मा, पत्रकार मायामितु न्यौपाने लगायतका लेखरचना प्रकाशित छन् । हतुवागढीका अग्रज स्रष्टाहरु स्व. भूँईदल राई, स्व. घल राई, स्व. प्रसाद राई, स्व. श्यामराज राई लगायतका जीवनी पनि समेटिएका छन् ।

साहित्यकार सहप्राध्यापक शरण राईले पुस्तक अनुसन्धानकर्ताहरुका लागि गतिलो सन्दर्भ पुस्तकको रुपमा उपयोगी देखिएको बताउनुभयो । साहित्यकार तथा पुर्वसाँसद कुन्ता शर्माले पुस्तकको आवरणदेखि भित्रीपेजसम्म अत्यन्तै आकर्षक र गहन विषयवस्तुहरुको सङ्कलन देखिएको बताउँदै आफुले लेख दिन नसकेकोमा पछुतो लागेको बताउनुभयो । साहित्यकार शरण राईले साहित्य र सर्जकहरुको मुल्य बुझेकोमा हतुवागढी गाउँपालिकाबाट प्रभावित भएको बताउनुभयो ।

सोही कार्यक्रममा हतुवागढीका लेखक मानबहादुर खाम्लुङद्धारा लिखित हतुवाली सेमना सिलि गीत सङ्ग्रहको समेत विमोचन गरिएको थियो । कृतिमाथि टिप्पणी गर्दै साहित्यकार बम देवानले कृतिले किरात राई सँस्कृतिको सेमुना सिलि संरक्षण तथा संवद्र्धनमा महत्वपुर्ण योगदान दिएको बताउनुभयो । कृति प्रकाशनबाट हतुवागढी थप धनी बन्न पुगेको उहाँको भनाई थियो । पुस्तकमा सेमुना सिलिको उत्पतिको इतिहास, महत्व र सिलिका सीपहरुका बारे व्याख्या सहित गीत रचना गरिएको छ । उक्त पुस्तक समेत हतुवागढी गाउँपालिकाकै सहयोगमा प्रकाशन गरिएको हो ।

कार्यक्रमको दोस्रो चरणमा सिर्जना वाचन सम्पन्न भयो । योङहाङ प्रदिप लिम्बु, श्रेष्ठ परिक्रमा, सानु सुनिता, सुदिप पाख्रिन, सन्तोष थेबे, मनि राई गोठाले, कुन्ता शर्मा, बम देवान लगायत सर्जकहरुले आफ्नो कविता प्रस्तुत गर्नुभयो । साहित्यकार शरण राईले लघुकथा वाचन गर्नुभयो ।

प्रमुख अतिथि प्रा.डा. न्यौपानेले आफु हतुवागढी प्रतिष्ठान, गाउँपालिका र त्यहाँका वासिन्दाको साहित्यप्रतिको चेतनाबाट यसअघि नै प्रभावित भएको बताउँदै प्रकाशित कृतिहरु सबै स्थानिय निकायमा पु¥याई ती स्थानिय निकायलाई पनि यस्ता पुस्तक प्रकाशनका लागि जागरुक तुल्याउनुपर्ने बताउनुभयो । साहित्य जस्तो जटिल विषयलाई बुझ्ने र समाजको विकासका लागि साहित्यलाई पनि सँगै लिएर हिँडेकोमा हतुवागढी गाउँपालिका र अध्यक्ष प्रेमकुमार राईलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित