सफा मनले दिएका राहातमा नुनको अधिक प्रयोग र झण्डाको उपयोग नगरौँ

सहयोगी तथा समाजसेवी व्यक्ति र संघ संस्थाहरू जोखिममा परेका मानिसलाई सहयोग गर्न जुटिरहेको देखिन्छ । यहाँका सहयोगी भावना प्रशंसनीय छन् । भुकम्पले मानिस जोखिममा परेका बेला र बाढीमा मानिस अभर परेका बेलामा पनि तपाईँबाट सहयोग भएकै हो । यस्ता सहयोगी हातसँग हात मिलाउदै बैदेशिक रोजगारीमा रहने धेरै नेपालीहरू र विदेशीहरूबाट समेत सहयोग थप्ने क्रम जारी नै रहेको छ । यो समयमा यहाँले दिइरहेको सहयोग भनेको साँझमा आफूले खानका लागि राखिएको गाँसको अंश पनि हुन सक्छ । कठिन समयमा गर्नु भएको सहयोगका लागि तपाइलाई हार्दिक नमन गर्नै पर्छ । जे जति भइरहेको छ निकै राम्रो भइरहेको जस्तो लाग्छ तर जस्तो तरिकाले भइरहेको छ त्यसलाई अलिकति परिस्कृत बनाउ, सङ्क्रमण नफैलाउ, अलिकति शुद्धता बढाउ अनि समाजसेवाका कार्यमा गुणस्तर थपौँ भन्ने लागेर केहि सुझाव राख्न मन लागेको छ ।

समाचारहरूमा कहिँ राहतमा कुहेको चामल परेको भनेर आइरहेको छ । यो समाचार झुटा जस्तो लागेन केवल दुःखद । खास समाजसेवी मनबाट कुहेको चामल पक्कै बाडिएको छैन होला । तर कतै भूलबस तेस्तो भएको भए चाडैँ नै सुधार गर्नुहोला भन्ने मेरो पहिलो सुझाव छ । समाचारमा दाल चामलको तुलनामा नुन धेरै बाँडेको भन्ने पनि आएको छ । नुनको कुराले त मलाई निकै झस्काएको छ । तपाईँले कतै नुन धेरै तरकारी थोरै बाँड्नु भएको त छैन ? नियत खराव नहोला तर नुन धेरै हालेर तरकारीको बास्तविक मिठासलाई चर्को नबनाउन अनुरोध छ । नुनका गुण भन्दा पनि अवगुण बढ्ता छन् । तेसैले यो सबै पुन्य कर्ममा चल्दैन र चलाइदैन । मेडिकल साइन्सले पनि नुनको प्रयोगबाट ब्लड प्रेसर बढाउछ भन्दोरहेछ । नुन बढ्ता भएका कारण निकै मानिसको व्लड प्रेसर बढिसकेको भन्ने पनि सुन्नमा आएका छन् । नुनको असरले व्लड प्रेसरका विरामी थपिनु हुदैन भन्ने मेरो अनुरोध छ । साँस्कृतिक रूपमा पनि नुन दिनुलाई राम्रो मानिदैन किनकी नुन खाएपछि नुनको सोझो गर्नुपर्ने अपेक्षा लुकेको हुन्छ । जोखिममा परेका मानिसले नुनको सोझो गर्नु नपरोस भन्ने अर्को सुझाव छ । लकडाउन थपियो, झनै मानिस असजिलोमा परेका छन् , यसपटक नुन बाँडेर सकिएको भए अर्को पटकबाट नुन अलिक घटाउनु नै राम्रो देख्छु । त्यसैले दोस्रो चरणको राहात बाड्नु पर्यो भने सकेसम्म नुनको सट्टा दाल चामल नै थपेर दिनु भए राम्रो हुन्थ्यो भन्ने सुझाव छ ।

चन्दा सङ्कलन गरेर गाउघरका मानिसबाट पनि पैसा उठाउनु भएको छ भन्ने सुनिएको छ । ठीकै छ । तर बिनम्र अनुरोध छ अरुको चन्दालाई मेरो सहयोग भनेर नभनिदिनुहोला । मानिसबाट पैसा उठाएर लैजाने अनि म भन्ने भावना अभिव्यक्त भएको कुरा स्रोता र दर्शकमाझ अलिक सुहाउदो र संगतिपूर्ण देखिदोरहेनछ । अरुले सहयोग गरेको रकम उठाएर मैले गरेको सहयोग भन्ने कार्य त झनै नीच भैहाल्यो नि होइन ? शिक्षकहरूको पैसा उठाइएको हो भने शिक्षकका तर्फबाट हो भनिदिनु पर्यो, जनताको हो भने जनताको तर्फबाट, प्राध्यापकको भए प्राध्यापकका तर्फबाट, विद्यार्थीको पैसा हो भने विद्यार्थीहरूको तर्फबाट र टोलबासीको हो भने टोलबासीका तर्फबाट भनेर भन्नु भएमा राम्रो हुन्छ भन्ने लागेको छ । साथै यति धेरै प्रचारका बाबजुद पनि तपाईँले भौतिक दुरी नबढाउने गरेको भनेर थुप्रै टिप्पणीहरू छन । यतातर्फ पनि ध्यान दिन जरूरी देखिन्छ ।

एन.पी. भण्डारी

अर्को महत्वपूर्ण सुझाव यहाँका फेसबुक साथीहरूका टिप्पणीबाट नै प्राप्त भएका छन् । उक्त टिप्पणीका आधारमा कर्म गर्न नभुल्नु तर फल तत्काल आशा नगर्नु होला भन्ने छ । यो सुझाव कर्म गर्नु, फलको आशा नगर्नु भन्ने कथन सँग मेल खाने खालको छ । व्यवाहारिक अभ्यासका हिसावले यो सुझाव अघिल्ला सुझावहरू भन्दा अलिकति कठिन पनि छ । तपाईँले सहयोग गर्दै गर्दा फलको आशा अलि गरिरहनु भएको छ कि भन्ने आभाष चै भएकै छ । अर्थात समाजसेवामा मनको शुद्धता देखिएन भन्ने सुनिँदै छ । कतै तपाईँको मनले फलको आशा गरिरहेको त छैन ? यहाँलाई कस्तो लागिरहेको छ थाहा छैन तर राहात वितरणका क्रममा तपाईँहरूले खिच्नु भएका फोटाहरूलाई मानिसले रुचाएका छैनन् । त्यसैको आधारमा मनको शुद्धतामा प्रश्न र फलको आशामा आशंका गरिँदै छ । तपाईँले निकै नै वजनदार बस्तु दिएको जस्तो गरेर हस्तान्तरण गरेका हलुका बस्तु, चामल, दाल र नुनका पोका देखिने फोटालाई अलि अलि टिप्पणी गर्न सक्नेले पनि नराम्रोसँग खिल्ली उडाइरहेका छन् । त्यस्ता कटु टिप्पणी प्रहार गरेको देखेर मेरो मनले थामेन । तेसैले यो सुझाव बेलैमा तपाईँलाई दिन मन लागेको हो । होसियारी अपनाउन अनुरोध छ ।

थाहा छ कि छैन तपाईँले राहात भनेर दिँदाका तस्बिरमा आफू अगाडि हुनुहुन्छ होला र राहत लिने मानिस अलिकति पछाडी छ। राहत लिनेले राहात दिनेलाई नमस्कार गरेको र दिनेको शीर ठाडो अनि लिनेको शीर केहि न केहि झुकेको देखिन्छ । तपाईँको मन खाराब छैन होला तर थाहै नपाई अरुको स्वाभिमानी शीर झुकाउने अवस्था सृजना गर्नु भएको कुरा राम्रो अवस्य होइन। तस्बिर आफै बोल्छ भन्छन् । शारीरिक हाउभाउ अध्ययनका विधामा नै पर्छन् र हाउभाउ विश्लेषण गर्न पनि सकिन्छ । याद गर्नुभएको छ कि छैन यस्ता समाचार र तस्विरलाई मानिसले निकै तिखो आलोचना गरेका छन् । यस्ता सवाल तपाईँजस्तो समाजसेवामा लागेका मानिसले नियालेर हेर्न फुर्सद नमिलेको पनि हुन सक्छ ।

यति धेरै सहयोग गर्दा फोटापनि खिच्न नपाइने ? भन्ने तपाईँको प्रश्न छ भने त्यसलाई पनि असाध्यै नराम्रो चै मान्न सकिदैन । यो सामान्य चलन जस्तो पनि बनिरहेकै छ । तर मेरो सल्लाहा केवल अलिक फरक तरिकाले सेवा गर्ने हो कि भन्ने मात्र हो । यहाँको सफा मनदेखि दिएको सहयोगमा प्रमाण आवश्यक पर्दैन भन्ने हो । के का लागि प्रमाण ? फेरी राहात लिने मानिसले फोटो खिचिदिनु पर्यो भनेर खासै भन्दैनन् पनि । तपाईँले त्यो फोटो घरमा राख्न मात्र खिचेको अवस्य हैन होला ? दिएको सहयोग आखिर रिन पनि त हैन होला । यस्ता तस्विर देखेर र राजनीतिको गन्ध समेतले होला कतिपय मानिसले राहातलाई अस्विकार गरेका समाचार पनि छन् । मनबाटै सेवा गर्नुभएको हो भने तपाई स्वयम् फोटो अगाडी नदेखिदा खासै फरक नपर्ला । प्रचार नगरिकन सेवा गर्दा मानिसले यहाँलाई नमान्ने भन्ने पनि नहोला । यस्तो प्रचारले त कतै जबरजस्त समाजसेवी हुन खोजेको पो हो कि भन्ने खराव नियत झल्काउन सक्छ ।

त्यसैगरी राहात वितरण गर्न जाँदा नजानिदो पाराले कतै पार्टीको झण्डा, प्याड र सदस्यता रसिद बोकेर पो जानु हुँदै छ कि ? अवश्य नहोला । मन हो भोली उम्मेद्वार हुन्छु भन्ने सङ्केत पनि पो छ की ? पार्टीको छाप, प्याड जस्ता चिज पनि प्रयोग भएको भए राहतसँग राजनीति र चुनाउ, राहतसँग स्वार्थ र खराव नियत मिसिन पुग्छ । फलाना पार्टीका फलाना कमिटिका फलाना दानवीरबाट राहात दिएको भनेपछि त्याहाँ राजनीति छ र नियत अर्कै छ भन्ने बुझ्न कठिन हुदै हुदैन । लकडाउन खुलेको भोलिपल्ट नै चुनावको भोट हाल्ने दिनजस्तो गरेर राहातमा राजनीतिकरण भएका छन् भन्ने तिखा टिप्पणी बाहिरिएको छन् । यस्ता टिप्पणीबाट तपाईँ जोगिनु पर्छ भन्ने मात्र सुझाव छ । फलाना पार्टीका फलाना सदस्यले फलाना ठाउका फलाना मानिसलाई राहात बाडेको भनेर फोटा खिचेर हालेका पोष्ट देख्न र पढ्न पाइन्छन् । त्यसैले पार्टीको झण्डा र गन्धबाट विमुख भएका मानिसले तपाईँको बास्मती चामल अस्विकार गर्छन किनकी बास्मती चामल भन्दा स्वाभिमान निकै महङ्गो पर्छ ।

राजनीतिक कर्मीले राजनीतिक अभिप्राय मिसाएर राहत बाँड्न खोजे भनेर राहत नै लिन नमानेका अपुष्ट समाचार पनि आएका छन् । पुष्ट्याई मेरो क्षेत्र बाहिर परेको छ तर राहत नै लिन नमानेको विषय समेत राजनीतिक मुद्धा बनाउने कार्यकर्ता पनि तपाईँका पछाडि छन जस्तो देखिदैछन् । तिनीहरूले यहाँलाई सजिलो भन्दा असजिलो पार्लान जस्तो देखिएको छ । मेरा निजि विचार केहि छैनन । यति भनौँ नमिठा टिप्पणी छन । ति तिता टिप्पणी यहाँ उल्लेख गर्न मन छैन । राहात लिन नमान्नेलाई सक्नु हुन्छ बधाइ दिनुहोला नत्र नझम्टिनु राम्रो हुन्छ । त्यो मेरो सहयोग नलिएर ठूलो पल्टियो भनेर समाजसेवीले आरोप लागाउदा कद आफ्नै घट्छ । तपाईँलाई विनाबुझ कार्यकर्ताले उकास्लान भन्ने डर पनि उत्तिकै छ । राहत नलिने ? भनेर निमुखालाई झम्टिदा लफडाबाज अगि सरेर ताली पड्काउने र हात लम्काउने पनि डरै छ । फेसबुकका पर्दामा त्यस प्रकारका पोष्टले छ्याप्पै ढाकेको मैलेपनि देखिसकेँ । त्यसैले तपाईँले जोगिएर समाजसेवामा लाग्नुपर्छ भन्ने सुझाव छ ।

अन्त्यमा, अघिल्ला सुझाव सरल र सजिला छन, सजिलै अपनाउन सकिन्छ । पछिल्ला सुझाव अलिकति कठिन छन, अपनाउन सक्नेले अपनाउ, नसक्नेले पनि मनन मात्र गर्दा आजको समाजले सोझै औँला ठड्याइहालेको छैन् । मनन मात्रले पनि भविश्यलाई रामै हुन्छ । कोरोना प्रकोप बढ्दै छ । समय कठिन छ, मानिस अभरमा छन् सहयोग गर्न नछोड्नुहोला । धन्यवाद ।

एन.पी. भण्डारी
सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङ

प्रतिक्रिया

सम्बन्धित