दुग्ध उत्पादक कृषकका लागि एनी तामाङकाे यस्ताे टिप्स

कोरोनाको कहर रहेको यो बेला तपाई र मलाई मात्र हैन, विश्वमै असहज भएको अवस्था छ । सबै भन्दा गाह्रो त बिहानबेलुका हात जोर्न ज्यालामा मजदुरी गर्ने परिवारमा भएकोछ । यो अवस्थालाई चिर्न हम्मे–हम्मे परेको बेला किसानहरुले भने आफ्नै दिनरातको मिहिनेतबाट उत्पादित अमृत सरहको दुधको खोलो बगाए । यसरी तपाईंहरुले धेरै पटक सरकारको ध्यान खिच्ने कोशिष गर्नु भयो ।

के तपाईंहरुले दिगो समाधान पाउनु भयो ? बरु भोकाएका–तिर्खाएकाहरुलाई बाँड्नुस् तपाईंको उत्पादन । उनीहरुको आत्माले तपाईंलाई आशिष दिनेछ । कम्तिमा तपाईंलाई आनन्द त हुन्छ , सरकारको ध्यान खिच्ने यो नयाँ तरीकाबाट । भोलि तिनै तपाईंले सहयोग गरेका दाजुभाई–दिदीबहिनी तपाईंको आवाज बन्नेछन् ।

नेपालमा दुग्ध उत्पादक कृषकहरुले बजारीकरणमा झेल्नु परेको यो समस्या अहिलेको मात्र होईन । बेलाबेला झेलिरहनु परेको मिल्क होलिडेबाट आजसम्म कुनै उचित समाधानको टुङ्गो लागेको छैन । भनिन्छ “हरेक समस्याको समाधान हुन्छ” । यही कुरालाई मध्य नजर गर्दा मैले बुझेको, हरेक समस्याको एउटै मात्र भरपर्दो उपाय हो, आफैमा भर पर्नु । यदि तपाईं सचेत हुनुभयो भने कुनै पनि समस्याले तपाईंलाई पछि पार्न सक्दैन । तपाईंले उत्पादन मात्र होइन, त्यसको भण्डारण तथा बजारीकरणमा पनि ध्यान दिनु पर्छ ।

एनी तामाङ

दुग्ध लामो समयसम्म राख्न के गर्ने ?

दुग्ध भण्डारण गर्न यसको वायप्रोडक्टबाट सहज हुन्छ । यहाँ म तपाईंहरुलाई परम्परागत तरीकाबाट लामो समयसम्म दुग्ध भण्डारण गर्ने तरीका सम्झाउन चाहन्छु । यी उपायहरु तपाईंलाई सामान्य लाग्न सक्छन्, तर यसले उत्पादन नाश हुनबाट जोगाउनुको साथै तपाईंको पसिनाको मुल्य पनि उकास्छ ।

घिउ उत्पादन : अझै पनि ६६ प्रतिशत किसान रहेको हाम्रो देशमा परम्परागत रुपमा घिउ उत्पादन गरी वस्तुभाउलाई मोही खुवाएको पाइन्छ । जब बजार बन्द हुन्छ , यो उपाय उत्तम मान्न सकिन्छ । घिउ लामो समयसम्म भण्डारण गर्न मिल्नको साथै यसले राम्रो भाउ पनि पाउछ ।

खुवा उत्पादन : दुध पकाएर यसमा भएको तरल पदार्थ सुकाइ खुवा बनाइन्छ । हाम्रा हजुरबा–हजुरआमाले लामो समयसम्म कुरौनी राखेर प्रयोग गरेको कुरा स्वीकार्नु हुन्छ । तसर्थ खुवा लामो समयसम्म राख्न सकिन्छ । तर तराईमा तापक्रम बढी भएको कारण डिप फ्रिजको आवश्यकता हुन्छ । त्यसको बिकल्पमा खुवाको भाँडोलाई चिसो पानीमा डुबाइ राख्न सकिन्छ ; बेलाबेला पानीको तापक्रम बिचार गरी चिसो पानी फेर्न सकिन्छ । तर खुवाको मात्रा अनुसार यो उपाय लागु हुन सक्छ । यसरी भण्डारण गरी समयानुकुल खुवाबाट राम्रो भाउ लिन सकिन्छ ।

पनिर उत्पादन : पनिर उत्पादनको लागि दुधलाई तताएर भिनेगर वा कागतिको प्रयोग गरी फटाउने । फाटेको दुधबाट ठोस पदार्थ (छेना) लाई तरल पदार्थ (छेनापानी) बाट छुट्याई राम्ररी पानी निचोर्ने । त्यसपछि कटनको कपडामा बेरेर डिप फ्रिजमा स्टोर गर्ने । यसरी पनिरलाई लामो समयसम्म राख्नको साथै राम्रो दाममा बिक्री गर्न सकिन्छ ।

छुर्पी उत्पादन : छुर्पी लामो समयसम्म भण्डारण गर्न सकिने कारण पहाडी भेगमा रहनु भएको कृषकले छुर्पी उत्पादन गरी दुग्ध बजारीकरणको समस्याबाट बच्न सक्नुहुन्छ । नेपालको छुर्पीलाई विदेश निर्यात गरी किसानको मात्र होइन, राष्ट्रकै आर्थिक उन्नति गर्न सकिन्छ । छुर्पी बनाउने प्रक्रियामा पहिले पनिर बनाउने । छुर्पीलाई आकार दिन पनिरलाई ब्लकमा राख्ने । ब्लकबाट निकालेर लामो आकारमा काटी दाउराको ध्वाँमा सुकाउने ।

चिज उत्पादन : चिज उत्पादन गरेर पनि लामो समयसम्म राख्नको साथै राम्रो भाउ लिन सकिन्छ । त्यसको लागि पहिले पनिर बनाउने । रहेको छेना पानीलाई हल्का तताउने र पनिरलाई त्यही पानीमा डुबाउँदै पानी निचोर्दै गर्ने । यो क्रम तबसम्म जारी राख्ने, जबसम्म चिज रबर जस्तो तन्किने बन्दैन । त्यसपछि यसलाई डिप फ्रिजमा लामो समयसम्म स्टोर गर्न सकिन्छ । आवश्यकता अनुसार डेरी मेसिनरी सेट गर्न सकिन्छ ।

यस्ता धेरै उपायहरु छन्, जसले तपाईंलाई सधैं आफ्नो पेशामा टिक्न मात्र नभएर उदाहरणीय बन्न मद्दत गर्छन् । तर त्यसका लागि चासो तपाईंले देखाउनु पर्छ । आफ्नो ज्ञानको दायरा बढाएर लागु गर्नु पर्छ । अब म तपाईंसंग बजारीकरणका केही टिप्स चर्चा गर्न चाहन्छु ।

कसरी गर्ने त बजारीकरण ?

नजिकका डेरी तथा मिठाई पसलहरुलाई टार्गेट गर्नुस् ।
समुह बनाई काम गर्न सहज हुन्छ । तसर्थ ५/७ जनाको समुह बनाई मिनी डेरी सञ्चालन गर्न सक्नुहुन्छ ।
प्रिन्ट मिडिया (पम्प्लेट, होर्डिङ बोर्ड, ब्यानर, ब्रोसर, उत्पादित वस्तु तथा टिसर्टमा लोगो प्रिन्ट) प्रयोग गरी बजारीकरणमा राम्रो प्रभाव पार्न सकिन्छ ।
चाडबाडको बेला डिस्काउन्ट अफर राखेर आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्न सक्नुहुन्छ ।
अहिले सामाजिक सञ्जाल शक्तिशाली प्लेफार्म हो । नेपालको सन्दर्भमा फेसबुक पेजबाट तपाईंले आफ्नो उत्पादनको प्रोमोट गर्न सक्नुहुन्छ । त्यस्तै इन्सटाग्राम तथा युट्युब पनि यसका बिकल्प हुन् । यहाँबाट तपाईंले आफ्ना ग्राहकसंग अडर तथा डेलिभरीको काम अघि बढाउन सक्नुहुन्छ ।

यहाँ चर्चा गरीएका उपायहरु मध्ये कुनै न कुनै त पक्कै पनि तपाईंलाई उपयोगी सावित हुने नै छ । त्यसका लागि तपाईं नै सक्रिय हुन जरुरी छ । आजै यी उपाय लागु गर्नुहोस् र बेलाबेला मिल्क होलीडे र इमर्जेन्सी बन्दको अवस्थाबाट दुग्ध भण्डारण र बजारीकरणको समस्यालाई भगाउनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित