छन्द~शार्दूलविक्रीडित

~ शब्दार्थ /भाव सरिता

माटो पत्थर एक आपस मिले बन्नेछ सिङ्गो घर
मान्छे हो तर बन्छ बाँदर भने त्यो हुन्छ नै जोकर।
चर्का भाषण शब्द जाल रिसले यो राष्ट्र बन्ने भए
ती लाठे किन किन्नु पाल्नु घरमा खेतै नखन्ने भए।

को होला बलवान् पिएर मदिरा होला र के पोषण
के होला सुखशान्ति सम्भव कतै पालेर कुत्ता गण।
गाईको मलमूत्र औसधि बुझे हो शक्तिशाली बुटी
के हुन्थ्यो रमिता मजाक घरमा आसे बिराला कुटी।।

घाँटी छोप्न लगाइँदैन गहना शृङ्गार आभूषण
ठट्टा गर्न र गीत गाउन भनी जाँदैन कोही रण।
पानीमा पनि दीप बल्छ सहजै चाहिन्छ त्यो हिम्मत
धर्तीको यदि बोझ मात्र बनिए के मिल्दथ्यो इज्जत।।

मात्रै जीवन बाँच्छ एक पल यो बाँच्तैन लाखौं जुनी
माया प्रेम सहस्र औषध पिओस् को बाँच्छ गाला चुमी।
जस्तै होस् धन अन्न स्वर्ण ढुकुटी हेरेर को बाँच्तछ
मुर्दाले कपडा चिटिक्क सुकिला फेरेर को बाँच्तछ ?

ज्ञानीले जयकार उच्च पदवी खोज्दैन चर्चा हुन
भन्लान् ती भुसुना घमण्ड बलले आकाश जान्छौं छुन।
हुन्छन् चञ्चल सूक्ष्म जीव खतरा या बैँस उत्तेजना
भोग्दैछन् किन आज विश्वभरमा यी त्रासका वेदना।।

छवि वैरागी घिमिरे
सुन्दरहरैंचा (मोरङ)

प्रतिक्रिया

सम्बन्धित