प्राज्ञ उपेन्द्र पागलकाे अवसानले अपूरणीय क्षति

सुन्दरहरैंचा / साहित्यकार तथा प्राज्ञ उपेन्द्र पागल बस्नेतको बुधबार इनरुवा–६ मधेसा स्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा भएको निधनले भाषा ,कला र साहित्यकाे क्षेत्रमा अपूरणीय क्षति भएको छ ।

दम, निमोनिया लगायतका कारण श्वासप्रश्वासको समस्याबाट ग्रसित वस्नेत लामाे समय देखि विरामी हुँदा केही महिना देखि उहाँलाई अक्सिजन दिएर राखिएकाे थियाे । साहित्यकार तथा प्राज्ञ बस्नेतको जन्म १९९९ सालमा सुनसरी जिल्लाको मधेसामा भएको थियाे । कलमवीर बहुआयमिक बस्नेतले कलमलाई कविता,गीत कथा,लेख,निबन्ध र समालोचनमा सफलता पूर्वक अघि बढाउँदै ,मूर्त र अमूर्त धेरै चित्रकलाहरुमा समेत प्रस्तुत गर्नु भएको थियाे । चित्रकला तर्फ सयौंका रचना ,पुस्तक , पत्रिकाहरुकाे आवरणमा सुन्दर चित्रहरु सज्जिएका छन् । उहाँको दश ओटा भन्दा बढी साहित्यिक कृतिहरु प्रकाशित छन् भने पाँच ओटा जति प्रकाशोन्मुख छन् ।

धेरै पुस्तक पत्रपत्रिकाहरुको सम्पादन,शिक्षणपेशा तथा सरकारी जागिरमा समेत समय बिताउँनु भएकाे उहाँ अरुको प्रेरणाको स्रोत तथा आफु ओझलमा परेर अरुलाई उठाउँन चाहने सरल स्वभाव अनि मिलनसारका नमूना समेत हुनुहुथ्याे । उहाँले घरको कोठा–चोटाका भित्ता खाली नहुने गरि सबैतिर समान पत्रले ढाकिने गरि मोफसलमा रहेर जनस्तरका ५ दर्जन भन्दा बढी सङ्घ संस्थाबाट पुरस्कार,सम्मान तथा कदर पत्रहरु प्राप्त गर्नु भएको छ । उहाँ एक विशिष्ट उत्प्रेरकको तथा स्थापित स्रष्टा हुनुहुन्थ्यो । पछिल्लो समयमा उहाँ शरीरले साथ नदिँदा नदिँदै पनि विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा उपस्थित भएर युवा लेखकहरूलाई जगाउने खालका प्रवचन र प्रेरणा दिनुहुन्थ्यो ।

सुकुना बहुमुखी क्याम्पसको पूर्व उपप्राध्यापक समेत रहनु भएका वस्नेतद्धारा रचना भएका केही गीतहरु रेकड समेत भएका छन् । उहाँको योगदानको उच्च मुल्याङ्न गदै इनरुवा नगरपालिकाले विगत बर्षमा भव्य नागरिक अभिनन्दन समेत गरेको थियाे । विभिन्न एक दर्जन भन्दा बढी साहित्यिक सङ्घ संस्थाहरुमा संंलग्न उहाँले पिण्डेश्वर महाविद्यालयबाट शास्त्री तथा नेपाली बिषयमा स्नातकोत्तर गर्नु भएको थियाे । पछिल्लो पटक उहाँको उराँव जातिको सांस्कृतिक अध्ययन नामक पुस्तक प्रकाशनको तयारीमा थियो । पागलका श्रीमती र ६ जना छोरीहरु हुनुहुन्छ । सरल,बहुमुखी प्रतिभाका धनि पूर्वका ज्येष्ठ स्रष्टा बस्नेतकाे निधनले भाषा ,कला र साहित्यकाे क्षेत्रमा अपुरणिय क्षति भएको सामाजिक सञ्जालमा उहाँका शुभचिन्तक तथा साहित्य क्षेत्रका स्रष्टाहरुले व्यक्त गर्नु भएको छ ।

एक विशिष्ट उत्प्रेरकको अवसान : भाषाविद् आचार्य अमृत

उपेन्द्र पागल अब मिति देखि आफ्नो पार्थिव शरीरमा रहनु भएन । उहाँका विभिन्न कालखण्डका सहकर्मीहरूले उहाँको सान्निध्य गुमाए । उहाँका सहपाठीहरू स्तब्ध भए । उहाँको बिछोडबाट ज्यादै शोकमा पर्ने समूहचाहिँ उहाँका विद्यार्थीहरू हुन् । सुकुना बहुमुखी क्याम्पसमा रहेका समयमा उहाँले धेरै युवा विद्यार्थीहरूलाई साहित्यकार बन्ने आधारभूमि तयार गरिदिनुभयो ।

उहाँकै अभिभावकत्वमा क्याम्पसमा सुकुना साहित्यिक विद्यार्थी समाजको स्थापना भयो जसले जमर्काका पाइलाहरू नामक साहित्यिक पत्रिकाका विभिन्न अङ्क प्रकाशन गर्यो । उक्त समाजको निरन्तरता आजसम्म पनि रहिरहेको छ । विद्यार्थीहरूलाई आफ्नै सन्तानजस्तो व्यवहार गर्ने र साह्रै नरम बोलीवचन भएका कारणले उहाँसँग सबै विद्यार्थीहरू झ्याम्मिने गर्दथे । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई मात्र होइन, क्याम्पसबाट निस्किसकेका विद्यार्थीहरूलाई समेत उहाँ फोन गरेर जानकारी लिइरहनुहुन्थ्यो र उनीहरूको अभिरुचि अनुसार प्रेरणा दिइरहनुहुन्थ्यो ।

उहाँ आफैँ एक स्थापित स्रष्टा हुनुहुन्थ्यो । विशेषत: कविता, निबन्ध र कथामा उहाँको लेखनी सक्रिय रहन्थ्यो, अनि समालोचनामा पनि उहाँको अभिरुचि थियो । पछिल्लो समयमा उहाँ शरीरले साथ नदिँदा नदिँदै पनि मुलुकका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा उपस्थित भएर युवा लेखकहरूलाई जगाउने खालका प्रवचन दिनुहुन्थ्यो । उमेरमा कम हुनेहरूले त उहाँलाई मान्थे नै, उहाँभन्दा जेठा विद्वज्जनहरू पनि उहाँलाई विशेष आदर र सम्मान गर्दथे । उहाँको बहिर्गमनले नेपालीको निकै ठूलो हिस्सा मर्माहत भएको छ, हामी भएका छौँ ।

मुलुक लक डाउनमा रहेका बेला उहाँ बित्नुभयो, यो महासङ्कट भएका कारणले कतै निस्कन सक्ने अवस्था रहेन । उहाँको अन्त्येष्टिमा सहभागी हुन नपाएको हुँदा ज्यादै दु:ख लागेको छ । उहाँका सम्पूर्ण हितचिन्तकका तर्फबाट म उहाँमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, साथै उहाँका परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दछु । पागल सरका आत्माले चिरशान्ति पाओस्…।

प्रतिक्रिया

सम्बन्धित