कविता : पानी र जीवन

 

पानी र जीवन

पानी जीवन हो र जीवन सधैँ पानी बनी बग्दछ
पानीका लहरीसँगै लहरिँदै यो जिन्दगी चल्दछ
कैले पङ्कजतुल्य जीवन सदा देखिन्छ पानीनिर
मानौँ चुम्बकले फलाम सहजै तान्दै छ आफूतिर ।

कुण्ठा हृत्पटमा जमेर रहँदा खुल्दैन मान्छे जब
पानी आँसु भएर नेत्रपुटमा बर्सन्छ आई तब
पानीले मन-कल्मषादि पनि ता धोई सफा गर्छ रे
पानीबाट वियुक्त जीवन त्यसै वैलाउँदै मर्छ रे ।

गोली लाग्दछ ढल्छ वीर सहसा त्यो युद्ध-मैदानमा
” पानी !” फुट्दछ शब्द क्षीण स्वरमा बाँच्ने नयाँ आसमा
पानी जीवन साथसाथ रहँदा फक्रन्छ रे सिर्जना
वासन्ती नवपालुवा सँगसँगै जन्मन्छ रे कल्पना ।

पानी ब्रह्मस्वरूपमा रहिदिँदा थिग्रन्छ रे जिन्दगी
पानी अद्भुत प्राणतत्त्व नभए सिद्धिन्छ रे जिन्दगी
जिस्क्याए विषरूपमा बदलिई पानी स्वयं हिंस्रक
बन्दै जीवन हर्छ रे सकलको मान्दै नमानी धक ।

पानी दूध बनेर मातृउरमा प्रच्छन्नतापूर्वक
ख्यालैमा नवजात चारु शिशुको त्यो गर्छ रे स्वागत
पानी बग्छ शरीरमा रगत भै आजन्म उस्तै गरी
पानीभित्र रहेछ अद्भुत कला भन्नै नसक्ने गरी ।

पानी बीज भएर सृष्टिपथमा यात्री बनी हिँड्छ रे
पानी प्रेम र कर्ममा हरपला संयोजना गर्छ रे
पानीभित्र असीम शक्ति नभए के जिन्दगी चल्दथ्यो !
मातामा यदि दुग्धकुण्ड नभए यो सृष्टि के गर्दथ्यो ?

जिब्रो शुष्क भएर बोल्न नहुँदा पानी छ बोलाउने
प्रीति-प्लावन वक्षमा भइदिँदा पानी छ लोलाउने
पानीमा हिउँ हाँस्छ रे अनि उता उल्लासमा निर्झर
गर्छन् स्वागत रे अजस्र दिलले फर्केर हामीतिर ।

पानीका कणबाट शुभ्र रङमा विद्युच्छटा बल्दछ
त्यै विद्युन्मय ज्योतिमा चहकिँदै यो जिन्दगी चल्दछ
पानीले तनका शिरा र धमनी छन् सर्वदा सिञ्चित
पानी प्राण रहेछ भूमितलको भन्ने छ एकै मत ।

भन्छन् पण्डितवर्ग वीर्य-रजको संयोग हो जीवन
पानीकै त रहेछ युग्म-सुखको संहेतु वा कारण
पानी बादल रूपमा गगनको शोभा बढाईकन
फर्की झर्दछ फेरि भूमितलमै रक्षार्थ यो जीवन ।

पानी प्रेम बनेर बग्छ दिलमा आनन्द बर्साउँदै
पानीले सिँचिई चराचर जगत् बन्दो छ चोखो सधैँ
पानीको जब हुन्छ आगमन ता हच्किन्छ आगो पनि
पानी नै नित वन्दनीय छ भनी हुङ्कार्छ यो लेखनी ।

अमृतप्रसाद आचार्य
सुन्दरहरैंचा -१२ विराटचाेक (माेरङ )

प्रतिक्रिया

सम्बन्धित