बोकाको हालखबर !

खै के,
बताऊँ म
जखमले र झ्याप्ले
ती बोकाहरुको
ताजा हाल खबर
बारम्बार
झम्टी रहन्छन्
अनि हानी रहन्छन्
धर्तीका भित्ताभित्तामा
तिनका सिङहरुले
तैपनि मान्छेहरु
बजार बजारमा
बोका खोजी रहन्छन्
अनि घर घरमा
पाल्न खोजी रहन्छन्
झ्याप्ले बोकाहरु

ती बिछट्टका,
झ्याप्ले बोकोहरु
हामीले पाल्ने हो भने
टाट्नामा घाँस खुवाएर
खोरमा हाल्नु पर्छ
नत्र खसी पार्नु पर्छ
तर सक्दैनन्
हुतिहारा मान्छेहरू
सायद हुन सक्छ
देवीदेउराली र
कुलायन भगवानको
राम्रो भरोसा छ ।

लक्ष्मीप्रसाद कोइराला

खै के का लागि
पाल्ने हो बोकाहरु ?
बिउको लागि हो भने
मौसम फेरबदलको
यो जमानामा
बीउ राख्न
त्यति सहजै पाइन्न
मौसम हेर्नुपर्छ
ब्याड बनाउन
जुनसुकै खेतमा
जताततै जोत्न पाइन्न
धर्ती छान्नु पर्छ
बीउ सस्तो छैन
ह्वात्तै पोखीहाल्न हुँदैन
भँगेरा भँगेरीको पनि
ख्याल गर्नु पर्छ
नत्र बिताइ दिन्छन्
अनि बेकम्मा हुन्छ जमिन
अनि कसरी बाच्ने ?

त्यसैले
खै के,
बताऊँ म
जखमले र झ्याप्ले
ती बोकाहरुको
ताजा हाल खबर
बारम्बार
झम्टी रहन्छन्
अनि हानी रहन्छन्
धर्तीका भित्ताभित्तामा
तिनका सिङहरुले
तैपनि मान्छेहरु
बजार बजारमा
बोका खोजी रहन्छन्
अनि घर घरमा
पाल्न खोजी रहन्छन्
झ्याप्ले बोकाहरु

प्रतिक्रिया

सम्बन्धित