हतुवागढी कला साहित्य महोत्सव :कवि तथा पत्रकार श्रीशीशा राईलाई हतुवागढी साहित्य सम्मान

हतुवागढी कला साहित्य महोत्सव ०७६ शनिबार हतुवागढी गाउँपालिका वडा नं. ४ फलामढुंगामा सम्पन्न भएको छ । हतुवागढी गाउँपालिकाको आर्थिक सहयोग र हतुवागढी कला साहित्य तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा सम्पन्न महोत्सव जेठ ३१ गते शुक्रबार शुरु भएको थियो । महोत्सवको प्रमुख अतिथी भाषाविद प्राडा टङ्क न्यौपानेले उद्घाटन गरेका थिए ।

कार्यक्रमको पहिलो दिन खुल्ला कविता प्रतियोगीता आयोजना गरिएको थियो । देश विदेशबाट प्राप्त दुई सय पाँच कविताहरु मध्ये उत्कृष्ट १० लाई कार्यक्रममा बाचन गरिएको थियो । कवि तथा पत्रकार श्रीशीशा राईको संयोजकत्वमा गठित उपप्राध्यापक राजेश विद्रोही, कवि तथा पत्रकार मायामितु न्यौपाने रहेको निर्णायक मण्डलले उत्कृष्ट चार कविहरुको छनौट गरेको थियो । सुर्खेतका कवि विज्ञानराज कार्की प्रथम, तेह्रथुमका इन्दु केसी द्धितिय, हतुवागढीका यादव समीर राई तृतीय र इटहरीका किरण शिवा शान्त्वना घोषित भएका थिए ।

विजेता कविहरुलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा भारतको दार्जिलिङदेखि पश्चिम नेपालको सुर्खेतसम्मका कविहरु छनौट भई हतुवागढी पुगेका थिए । कार्यक्रममा बाबुराम प्रधान, हिरण राई, लीला राई लगायत कलाकारले गीत प्रस्तुत गरेका थिए भने स्थानिय कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

महोत्सवको दोस्रो तथा अन्तिम दिन समुह लोकनृत्य प्रतियोगीता आयोजना गरिएको थियो । प्रतियोगीतामा स्थानिय १० लोकनृत्य समुहको सहभागीता रहेको थियो । बरिष्ठ नृत्य निर्देशक नगेन्द्र राई संयोजकत्वको निर्णायक मण्डलले प्रतियोगीताको मुल्याङ्कन गरेको थियो । विजेताहरुलाई कविता प्रतियोगीताकै राशी बराबर पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा कवि तथा पत्रकार श्रीशीशा राईलाई हतुवागढी साहित्य सम्मान ०७६ र कलाकार राम थुलुङलाई हतुवागढी संगीत सम्मान ०७६ अर्पण गरिएको थियो । कार्यक्रममा चर्चित कलाकार उमेश राई (फुलन्देको आमा)को प्रस्तुति स्थानिय दर्शकले रुचाएका थिए ।

कार्यक्रमका लागि प्राडा टङ्क न्यौपाने सहित साहित्यकार कुन्ता शर्मा लगायत १० जनाको टिमलाई हतुवागढी आमन्त्रण गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष कृपालसिं राईले साहित्यकार तथा कलाकारको जमघट र कार्यक्रमको सफलताले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिन हौसला मिलेको बताए । हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले विकास भनेको सडक बन्नु वा विजुली बल्नुमात्र नभई साहित्य, कला र संस्कृतिको उत्थान पनि हो भन्ने सोँचले कार्यक्रम आयोजना गरिएको बताए । प्रमुख अतिथीको मन्तव्य राख्दै प्राडा टङ्क न्यौपानेले कार्यक्रमको आयोजना गरेर हतुवागढी गाउँपालिकाले आफु साहित्य र कलाप्रति जिम्मेवार रहेको सन्देश दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित