गर्भपतनको नाममा छोरीको भ्रुण हत्या बढ्दो

राजविराज / छोरा र छोरी सामान सन्तानको रुपमा समाजले दर्जा नदिएको कारण छोरीको भ्रुण हत्या बढ्दै गएको छ । छोराको आशमा अनिइच्छित गर्भ रहेको भन्दै छोरीलाई गर्भमै निमोठने कार्य भइरहेको छ । भारतमा गर्भ जाँच गर्ने र नेपालमा आएर लुकिछुपी गर्भपतन गराउने चलन बढेको छ ।

भारतको बिहार, उत्तर प्रदेशसहितको काठमाण्डौ सहरमा गर्भ जाँच गराउने र छोरी देखिएपछि गर्भपतन गराउने संख्या बढ्दै गएको छ । अनिइच्छुक गर्भको नाममा छोरीलाई भू्रण अवस्थामा मार्न सुरक्षित गर्भपतन गराउनेमा दम्पति नै रहेको छ । अविवाहित, तथा परपुरुषसँगको गर्भमा नीजि क्लिनीकमा गर्भपतन गर्नेको संख्या निकै भएपनि त्यस्ता क्लिनिकमा अभिलेख नै गोप्य राखिन्छ ।

यसरी नीजि क्लिनिकमा गरिने गर्भपतनका शिशुलाई सुरक्षित व्यवस्थापन गर्न नसक्दा बाहिर फालिएको अवस्थामा भेटिने गर्दा घटना बाहिर आउने गरेको छ । पछिल्लो पटक गत २४ गते सप्तरीको राजगढ गाउँपालिका ३ स्थित झौरा बजारबाट १ किलो मिटर पुर्वमा खोल्सिको छेउमा दिउँसो १ः४५ बजेको समयमा साडीमा बेरिएको अवस्थामा नवजात शिशु मृत फेला परेको थियो । घटनाको प्रकृतिले पेटमा भएको छोरीलाई गर्भमै मारेर फालिएको देखिन्छ ।

धिरेन्द्र साह

गर्भको १२ सातापछि बच्चाको शारीरिक आकार प्रकार ठूलो भएपछिको अवस्थामा व्यथा लाग्ने औषधि खुवाएर गर्भपन गराउने गरिएको एक नीजि क्लिनिकका सञ्चालकले नाम नछाप्ने शर्तमा भन्नुभयो, हामी कहाँ दैनिक दुई÷तीन जनाले छोरीको गर्भपतन गराउन आउँछ । जिल्लामा म जस्तै एक दर्जन बढी अबैद्य रुपमा नीजि क्लिनिकमा गर्भपतन हुन्छ ।

मेडिकल र सर्जिकल गरी दुई किसिमबाट गर्भपतन गराउन सकिने भएपनि अबैद्य नीजि क्लिनिकले औषधि राखेर गर्भपन गराउदै आएको छ । औषधिबाट गर्भपतन हुन सकेपछि सर्जिकल माध्यमबाट गर्भपन गर्न सकिने बताइएको छ । सामाजिक लाज, अशिक्षित, चेतना अभावले नीजि क्लिनिकमा गर्भपतन गराउन जाने गरेको गर्भपन गराएको सुनिता यादवले बताउनुभयो । राजविराज नगरमा मात्र आधा दर्जन सहित जिल्लाको अन्य सहरमा अबैद्य रुपमा नीजि क्लिनिकहरुमा गर्भपतन भइरहेको छ ।

नीजि क्लिनिकमा एक व्यक्तिबाट सात हजारदेखि २५ हजार रुपियाँ गर्भपतन गराए वापत लिने गरेको सेवाग्राही राधा साहले बताइन । गर्भपतनका बेला कुनै अप्ठयारो नभएमा पच्चिने गरेको छ, उहाँले भन्नुभयो, संक्रमण, तथा जोखिम भएमा बिराटनगर, धरानका नीजि अस्पतालमा पठाएर बेच्ने गरेको छ । त्यसबाट पनि उनीहरु कमिशन खान्छन ।

यस्तै गत फागुन छ गते सोमबार दिउँसो करिब १ः१५ बजेको समयमा सालनालसहित नवजात शिशु बालिका मृत फेला परेको हो । राजविराज नगरपालिका ९ बिहारपुर स्थित राजेन्द्र वर्माको बासघारीमा उक्त शिशु मृत फेला परेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । सालनालसहित रातो साडीमा बेरिएर प्लास्टिकको झोला भित्र राखिएको अवस्थामा मृत बालिका बासघारिमा फालेको अबस्थामा भेटिएको प्रहरीको कथन छ ।

अनिइच्छुक गर्भ रहेको अवस्थामा निश्चित सामान्य ८–१२ तथा १८ हप्तासम्ममा गर्भपतन गराउन सकिने कानूनी व्यवस्था गरेको छ । तर, ती व्यवस्थाको आडमा गर्भमा छोरी भएको अवस्थामा गर्भ हटाउने प्रबृति नै बढेको छ । यसै कारणले उक्त बालिकाको भ्रूण हत्या गरी बासघारीमा फालेको हुन घटनाको प्रकृतिले भनिरहेको छ । विभिन्न कम्प्युटर प्रविधि (भिडियो एक्स रे) बाट भ्रूण पत्ता लगाएर छोरी भएको थाहा पाउनेबित्तिकै गर्भपतन गराउनेतिर लाग्ने गरिन्छ ।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुरक्षित गर्भपन शाखाका अनुसार आर्थिक वर्ष २०७४÷०७५ को १२ महिनामा ७१ जनाले गर्भपतन गराएका थिए भने चालु आवको १० महिनामै ७८ जनाले गर्भपतन गराइसेकको मेडिलक सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । भ्रुणको पहिचान गर्न र भन्न नमिल्ने भन्दै अस्पतालका सूचना अधिकारी रामकुमार दियालीले गर्भपतन गराउन आउने अधिकाँश दम्पति नै रहने गरेको बताउनुभयो । गर्भमा छोरी वा आमाको शारीरिक अवस्था कमजोर वा बच्चाको अवस्था खराब कारण गर्भपतन गराउन आउने गरेको उहाँको कथन छ । उहाँले भन्नुभयो, धेरैले घरबाटै औषधि खान्छन, रगत बग्न थालेपछि यहाँ सफाइ गराउन आउने गरेको छ ।

यता प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा बेटी पढाउ, बेटी बचाउ अभियान सुरु गरेको छ तर, यसलाई सुरक्षित गर्भपतनले चुनौति दिदै गरेको छ । पहिलो सन्तान अथवा एक मात्र छोरी पाएसम्म छोरीको भ्रूण हत्या नहुने गरेको भएतापनि दुई वा बढी छोरी पाइएका दम्पतिले भ्रूणमै निमोठ्दै आएको छ । आधिकारिक तथा अनुमति लिइएका स्वास्थ्य संस्थाबाहेक दर्जन जति नीजि क्लिनिकमा गर्भ हटाउने कार्य भइरहेको छ । महिलाको परपुरुष तथा अविवाहितको अन्यसँगको यौन सम्पर्कमा गर्भ रहन गएमा यस्ता नीजि क्लिनिकले चर्को शुल्क लिएर गर्भ हटाउने (एबोर्सन) गरिन्छ ।

खुला संसारमा आँखा खोल्न नपाउँदै भ्रूणमै छोरी मार्ने कार्य तीब्र रुपमा बढेको छ । छोरीप्रतिको परम्परागत सोच, दाइँजो दिनु पर्ने जस्ता कारण छोरीको भ्रूण हत्या भइरहेको छ । यस्तो कार्य नियन्त्रण नभएमा निकट भविष्यमा छोरीको संख्यामा कमि आउने र छोराले नै दाइजो दिनु पर्ने अवस्था आउन सकिन्छ भने अर्कोतिर छोरी अभावले छोराहरुको विवाहमा कमि आउने हुदाँ यौन प्यासा मिटाउन बलात्कार घटनामा बृद्धि हुन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित