लम्सालको धार्मिक तथा सांस्कृतिक सद्भाव बोकेको कृति प्रकाशन, कुम्भ नगरी चतराधाममा पुस्तक परिचर्चा कार्यक्रम

सुन्दरहरैंचा / बराहक्षेत्र नगरपालिकाको कुम्भ नगरी चतराधाममा इटहरी निवासी अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनोद लम्सालको नयाँ पुस्तक. “सप्तकोसी किनाराबाट” कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुस्तक परिचर्चा कार्यक्रममा डा.कृष्णदास जी महाराजले कृतिकार कृष्णविनोद लम्सालले अनुसन्धान गर्ने बिषय छानेको सप्तकोसीको यो किनार सामान्य किनार नभएको बताए । उनले यो किनारा विश्वामित्र बशिष्ठ लगायतका महान ऋषि मुनीहरुको तपोस्थल भएकाले महत्वपूर्ण प्राचीन कुरा समेटेर ऐतिहासिक अन्वेषण गर्नु चानचुने कुरा नभएको बताउंदै पौराणिक ऐतिहासिक झल्को दिने यो जीवन्त पुस्तक भएको भनी उल्लेख गरे ।

कार्यक्रममा परिचर्चाकार प्रा.डा. टङ्कप्रसाद न्यौपानेले पुस्तकलाई सांस्कृतिक महत्ता वोकेको आख्यान भनि नामकरण गरि दिए । उनले सप्तकोसीले ढाकेको यो भुमि आर्य र किरातको संगमस्थल भएकोले धार्मिक र सामाजिक सद्भाव बोकेका यस्तो भुगोलमा यस प्रकारका पुस्तकले सहकार्य गर्ने भावना अरु बिकसित गर्ने बताउंदै सुम्निमा, माधवी र राहुल सांस्कृत्यायनका बिचारका हाराहारिमा राख्न सकिने धारणा राखेका थिए ।

कृति माथिको परिचर्चाकार डा.रमेश घिमिरेले “सप्तकोसीको ऐतिहासिक महत्व बोकेको यो कृति कोरा कल्पनाको उपज होइन भन्ने अध्ययन गर्दा पाइएको भनि प्रष्ट्याए । उनले “फरक ढङ्गले लेखिएको यो पुस्तकले प्रसस्त वैचारिक खुराक प्रदान गरेको उल्लेख गदै प्राच्य विधाका धरोहरहरुको योगदानको चर्चा गरेको बताए । उनले पाश्चात्य ज्ञानतर्फ अधिकांश मान्छे लागेर प्राच्य बिद्या हराउँदै गएको पीडा लेखकले यस पुस्तकमा प्रसस्त उठाएकोले पुस्तकका लेखक स्वयं पत्रकार भएका कारण पाटी पत्रकारिता मौलाउने क्रम नरोकिएकोमा पनि उनले गुनासो गरेकोले पार्टी पत्रकारिता हावि भएका कारण देशका पर्यटकीय क्षेत्र, ऊर्जा प्रदान गर्ने नदीनाला र गुफा कन्दरा धेरै चिजवस्तु प्रकाशमा आउन नसकेका गुनासा पनि पुस्तक भरि छरिएर रहेको कुरा पढन पाहिने बताए । उनले कृतिमा भाषा शैलीको सीमा भएर पनि लेखनी सशक्त रहेकाले जीवन्त चित्रण रहेको हुंदा आञ्चलिकताको वर्णन भएकाले माटाको सुगन्धलाई जुरुक्क उठाएको छ भनि ”डा.रमेशले बताए ।

पुस्तक परिचर्चा कार्यक्रमा प्रसिद्ध छन्दोबादी कवि प्रल्हाद पहरेदारले बृहत्तर बराहक्षेत्रको अवधारणालाई समातेर चतराको वर्णन भएकोमा हामी चतराबासी खुसी हुन’ स्वभाविक छ भन्दै पुस्तक र लेखक बारे लेखिएका कविता प्रस्तुत गरेका थिए । उनले

पढ्नोस् पाठक एकपल्ट नभए होला सधैँ थक्थक

ज्ञाता कृष्णविनोदको पढिरहुँ जस्तो छ यो पुस्तक

छन् सामाजिक ऐतिहासिक कुरा चर्चा कतै धार्मिक

कैयौँ च्वास्स छुने प्रसङ्गहरु ती अत्यन्त छन् मार्मिक ..

कैैले जान्छन् तल इटहरी माथिको भोजपुर

कैले जान्छन् उदयपुरको ठोक्शीला रामपुर

चोरेका छन् मृद’ प्रकृतिको लोभलाग्दो जवानी

कोरेका छन् निज प्रकृतिकै टिठलाग्दो कहानी ..

भनेर कविता मार्फत आफ्ना विचार व्याक्त गरेका थिए ।

पुस्तक परिचर्चा कार्यक्रममा उच्च अदालतका न्यायाधीश अनन्तराज डुम्रेले सप्तकोसी किनाराबाट नामक यो कृतिले नदी सभ्यता उजागर गरेको पाइएकोेले खासगरी कोकाहा सभ्यता विकसित गर्नमा यो पुस्तकले बिशेष भुमिका निर्वाह गरेको बताए । पुस्तकका लेखक कृष्णविनोद लम्सालले पुस्तक लेख्न प्रारम्भ देखि परिचर्चा सम्मका बृत्तान्त सुनाएका थिए ।

पुस्तक परिचर्चा कार्यक्रम श्रीराम तारक ब्रह्मपीठका अध्यक्ष गणेश सुब्बा बिरहीको अध्यक्षतामा भएको थियो । सो कृतिको नेपालका प्रथम ऐतिहासिक जगद्गुरु वालसन्त मोहन शरण देवाचार्य र बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले दोश्रो पिण्डेश्वर अद्र्धकुम्भ महोत्सवको अवसरमा संयुक्त रुपमा विमोचन गरेका थिए । “सप्तकोसी किनाराबाट” नाम दिइएको सो कृति अनुसन्धानात्मक आख्यान भनिएको छ तर विज्ञहरुले उपन्यास मानेका छन् । कुम्भ सञ्चालन भैरहेको स्थल चतरा र सप्तकोसीलाई आधार मानेर लेखिएको यो कृतिले साँच्चैनै सप्तकोसी किनाराको सजीव चित्रण गरेको छ । कृतिमा कोसी सभ्यता र संस्कार संस्कृति तथा सप्तकोसीले उत्पन्न गर्ने ऊर्जा वातावरणीय प्रभावको समेत विशद ब्याख्या गरिएको पाठकहरुको प्रतिक्रीया रहेको छ । २ सय ७५ पृष्ठ भएको सो सप्तकोसी किनारबाट पुस्तकको भुंडी प्रकाशन बागबजार काठमाडौंले प्रकाशन गरेको हो । २०३३ साल देखी साहित्य र पत्रकारितामा संलग्न कृतिकार लम्सालका कविता,कथा,उपन्यास लगायका एक दर्जन जति कृतिहरु प्रकाशिन भै सकेका छन् ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित