कविता : विरोधको व्यापार

विरोधको बजारमा
मैले पनि एउटा सानो पोको विरोधको
ल्याएको छु ।
खै कुन्नी थाहा छैन
बिक्छ कि बिक्दैन मेरो विरोध !

यहाँ किसानको सब्जी नबिकेर डोजर लगाइए पनि
मिडियाको विरोध फल्न फूल्न थालेको छ,
भ्युजको मूल्यमा
मौका पाउँदा पनि माखो नमार्ने गफाडीहरुको
चर्को भाउमा राजनीतिक विरोध बिक्ने गरेको छ ।
दाउको मूल्यमा ।

न त मैले मौका पाएको छु
विरोध बिक्नलाई ठुलो नाम पनि त चाहियो ।
एउटा ठुलै ब्यानर चाहियो ।
अनि विरोधसँग मोलमोलाइ हुन्छ स्वार्थको
तर मेरो ठुलो नाम छैन ।
एक हुल मान्छे झुक्याउने ठुलो ब्यानर पनि छैन ।
त्यसैले त मेरो बिक्ने कुरा केही छैन ।

विरोधको बजारमा
मैले पनि एउटा सानो पोको विरोधको
ल्याएको छु ।
कुन्नी थाहा छैन
बिक्छ कि बिक्दैन मेरो विरोध !

सोच्छु मनमनै मेरो विरोध बिक्दैन होला
किनकि मेरो स्वार्थ देशसँग छैन
मेरो स्वार्थ राजनीतिसँग छैन ।
किनभने म सधैँ सकारात्मक सोच लिएर बाँचेँ
गल्ती गर्नेलाई
एक पैसामा पनि नबिक्ने सुझाव दिएँ ।
अल्छेहरुको देशमा काम नबिके पनि
कृषिप्रधान देशमा सब्जी नबिके पनि
बिरोध चाहिँ तात्तातै बिक्ने गरेको छ ।

दुर्गाप्रसाद खरेल ‘दीपज्वाला

माफियाहरुको घुर्की बिक्ने गरेको छ
सत्तास्वार्थीहरुको धम्की बिकेको छ
स्वार्थ बिक्ने गरेको छ
विरोधको तौल अनुसार ।

सोच्छु, मेरो विरोधको तौल कतिनै होला र
म माफिया वा दलाल पनि होइन
स्वार्थी समूहको लाममा पनि लागेको छुइन
धम्की पनि दिन सक्दिनँ ।
त्यसैले खै थाहा छैन
मेरो विरोध बिक्छ कि बिक्दैन !

यहाँ श्रम नबिकेर युवाहरु
देश छोडेपछि
नयाँ खालको खेती फस्टाएको छ ।
व्यवहारिकता नबिकेर
खोक्रो आदर्श बिकेको छ ।
त्यसैको आडमा विरोध बिकेको छ ।

भन्छन् बुर्जुवा पुँजीवादमा
जे पनि किन–बेच हुन्छ ।
फाइदा हुने भए जातिले इमान बेच्छ
स्वाभिमान र संस्कृति बेचिन्छ
अनि बेचिन्छ अग्र्यानिक मूल्य मान्यता
साम्यवादीले सर्वहाराको लेबल टाँसेर
सपनाका पोका बेच्छ ।

बेचुवाहरुको खालखालको मोल मोलाइ गर्दै
विरोध र स्वार्थको मूल्य तिर्न
तौलदा तौलँदै
फतक्क गलेको
अभागी वृद्ध मेरो देश
बेचुवाहरुलाई मूल्य तिर्दा तिर्दै
सशंकित हुन्छु
कतै टाट पल्टने त होइन !

विरोधको बजारमा
मैले पनि एउटा सानो पोको विरोधको
ल्याएको छु ।
खै कुन्नी थाहा छैन
बिक्छ कि बिक्दैन मेरो विरोध !

–दुर्गाप्रसाद खरेल ‘दीपज्वाला
सुन्दरहरैचा विराटचाेक माेरङ

प्रतिक्रिया

सम्बन्धित