विज्ञान र प्रविधिको युगमा इतिहास र पौराणिक विषयमात्र अध्ययन गर्दा विद्यार्थीले कसरी विश्वसँग प्रतिष्पर्धा गर्न सक्छ ? शिशिर सिंखडा

शिशिर सिंखडा, शैक्षिक परामर्श क्षेत्रमा आठ वर्षदेखि सक्रिय युवा हुन् । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक सिंखडा झापाबाट सुरु भएको क्याम्ब्रिजलाई अष्ट्रेलियासम्म पुर्याउन जोडतोडले लागेका छन् । पछिल्लो समय उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दो छ । प्राविधिक विषयको उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया विश्वभरका विद्यार्थीको डेस्टिनेसन हो । यसमा नेपाली विद्यार्थी पनि आकर्षित नहुने कुरै भएन । यहि सन्दर्भमा सिंखडासँग गरिएको कुराकानीको संक्षेपः

आजकल के गर्दै हुनुहुन्छ ?

क्याम्ब्रिजलाई अष्ट्रेलियामा व्यवस्थित गर्ने, यहाँबाट गएका विद्यार्थीलाई सहजीकरण गर्ने, नयाँ विद्यार्थीहरुमा स–साना कुराले समस्या निम्ताउने भएकोले उनीहरुलाई काउन्सेलिङ्ग गर्दै आफ्नो शाखा व्यवस्थापन गर्ने कार्यमा लागेको छु ।

पछिल्लो समय अष्ट्रेलिया जाने विद्यार्थीलाई केहि समस्या आयो, खासमा देखिएको समस्या के थियो ?

अष्ट्रेलियाको एआइविटी कलेजमा केहि समस्या आएको थियो । त्यहाँ नर्सिङ कोर्ष अध्ययनरत विद्यार्थीको हकमा देखिएको समस्यालाई अलि बढाइचढाइ गरेर मिडियाबाजी गर्ने काम मात्र भएको मेरो बुझाई छ । शैक्षिक परामर्श व्यवसाय गर्दै जाँदा कहिले काँही यस्ता समस्याहरु आउने गर्छन् । त्यसलाई ग्रहण गर्दै विद्यार्थीको सर्वोत्तम हितमा काम गर्नुपर्छ । एआइविटीको समस्या समाधानका लागि पहल भइरहेको छ र, समस्या हल हुन्छ ।

एआइविटीको जस्तै समस्या अरुबेला पनि देखिन्छन्, शैक्षिक परामर्श क्षेत्र आफ्नो उद्देश्य भन्दा बाहिर गएर काम गर्न थालेको हो ?

त्यसरी भनि हाल्न मिल्दैन, लामो समयदेखि यो ब्यवसायमा आहुती दिएकाहरुको ठूलो योगदान छ । विकशित देशलाई नेपाली बजारमा ल्याउन जुन किसिमको भूमिका निर्वाह गरिएको छ त्यो चानचुने संघर्षबाट भएको छैन । यहाँ एउटा पक्षलाई मात्र दोष दिएर हुँदैन । जुन विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाँदैछ उ सबै विषयमा जानकार हुनुपर्छ । र, शैक्षिक परामर्शदाताले पनि आफ्नो मर्यादा र कर्तब्यमा रहेर शैक्षिक परामर्श गरेको खण्डमा यस्ता समस्या कमै आउँछन् । अभिभावकले पनि छोराछोरीको मात्र कुरा नसुनि आफैं अग्रसर भएर पर्याप्त जानकारी हासिल गर्ने हो भने यस्ता दुर्घटनाबाट बच्न सकिन्छ ।

वैधानिकता नपाएकै कलेजमा विद्यार्थी भर्ना हुँदा भविष्यमा समस्या आईपर्छ भन्ने तपाईहरुलाई थाहा थिएन ?

एआइविटी कलेजले आधिकारिक रुपमै अफर लेटरमा सबै कुरा खुलाएको थियो । एनमेकबाट अनुमति पाउनका लागि कानुनी प्रक्रियामा रहेको जानकारी गराएको थियो । एनमेकले आवेदन स्विकृत नगरेपछि मात्र समस्या आएको हो । एआइविटीको समस्या समाधानका लागि पहल भइरहेकोले पुनः त्यहि कुरालाई कोट्याएर हिँड्नु भन्दा अब यस्ता केसमा सजग भएर काम गर्दा उपर्युक्त हुन्छ ।

अब यस्ता समस्यामा नपर्न विद्यार्थीले के के कुरामा ध्यान दिनुपर्छ ?

एउटा विद्यार्थी १२ क्लास पास गरेपछी विदेश जाने योजना बनाउँदा उसमा अलिकती सहि र गलत छुट्याउने क्षमता हुन्छ । अहिले सामाजिक सञ्जालले विश्वलाई हत्केलामा (इन्टरनेट) ल्याई दिएको छ । शैक्षिक परामर्श दाताले दिने भन्दा बढि ज्ञान विद्यार्थीले इन्टरनेटको माध्यमबाट हासिल गर्न सक्छन् । एक क्लिक गर्ने बित्तिकै जुनसुकै देशको कलेज, विश्वविद्यालयका बारेमा सूचना प्राप्त गर्न सक्छन् । त्यसलाई सदुपयोग गरेर शैक्षिक परामर्श ब्यवसायीले भनेका कुरालाई समेत भेरिफाइ गरेर अघि बढे यस्ता समस्याबाट जोगिन सकिन्छ ।

नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश किन जाने गर्छन् ?

यसका तीन/चार वटा कारण छन् । अरुको देखासिकी, पारिवारिक, आर्थिक अवस्था, अभिभावकको करकापले विद्यार्थीमा विदेशप्रतिको मोह छ । सँगै हाम्रो देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाले पनि प्रभाव पारेको छ । विद्यार्थीले पढ्न चाहेको विषयका कलेज र विश्वविद्यालय नेपालमा कठिन रुपमा प्राप्त हुन्छन् । प्रयोगात्मक शिक्षण विधि एकदमै कम छ । पढिसकेपछि उचित रोजगारी र अवसर पनि नभएकोले केहि समय विदेश गएर उच्च शिक्षा हासिल गरुँ, हातमा सिप र सर्टिफिकेट लिएर भविष्य सुरक्षित गरुँ भन्ने सोचले पनि विद्यार्थी विदेश गएका छन् ।

विज्ञान र प्रविधिको युगमा इतिहास र पौराणिक विषयमात्र अध्ययन गर्दा विद्यार्थीले कसरी विश्वसँग प्रतिष्पर्धा गर्न सक्छ ? तपाईले भन्न खोज्नु भएको नेपालको शिक्षा ठिक भएन, त्यहि भएर विद्यार्थी विदेश अध्ययनका लागि जानुपर्छ ?

नेपालको मात्र नभएर विश्वकै विद्यार्थीहरु विभिन्न देशमा अध्ययनका लागि जान्छन् । नेपालको शैक्षिक अवस्था २० वर्ष अघिको कथा र इतिहासमा सिमित छ । यहाँको शिक्षाले विद्यार्थीलाई भोलिको दैनिक जिवन जिउन सहज हुने सिप दिइरहेको छैन ।

मेरो बाबु, काकाले जुन विषय पढ्नु भयो अहिले हामीले त्यहि परिवेशको विषय पढिरहेका छौं । भन्नुको मतलब, हाम्रो शिक्षा समय अनुसार परिस्कृत भएन । विज्ञान र प्रविधिको युगमा इतिहास र पौराणिक विषयमात्र अध्ययन गर्दा विद्यार्थीले कसरी विश्वसँग प्रतिष्पर्धा गर्न सक्छ ?

यति भनिरहँदा नेपालमा मेडिकल शिक्षाको गुणस्तरीयतालाई भने हामीले स्विकार गरेको अवस्था पनि छ । मेडीकल शिक्षामा ईण्डिया, बंगलादेश, भुटान लगायत देशबाट विद्यार्थी अध्ययनका लागि नेपाल आएका पनि छन् । तर, नेपालको विकासका लागि त मेडिकल शिक्षा मात्र राम्रो भएर पुग्दैन । हरेक विषयमा विदेशी विद्यार्थीलाई नेपालमा पढ्ने वातावरण, पूर्वाधार र पाठ्यक्रम बन्नुपर्छ ।

इण्डियामा २०२५ सम्ममा शैक्षिक क्षेत्रमा विश्वका विद्यार्थी भित्र्याउने रणनीति बनाए जस्तै नेपालमा पनि बनाउनु पर्छ । चाइनाले जस्तै २०३० सम्ममा विश्वका विद्यार्थीहरुलाई आफ्नो देशको शिक्षा प्रणालीमा आकर्षित गर्नको लागि बनाएको योजना जस्तै हाम्रो मुलुकमा बन्नु पर्छ । अनी मात्र, नेपाली विद्यार्थी विदेश जान रोकिन्छन् । हामीले दक्ष जनशक्ति उत्पादनमा राज्यले नगरेको काम गरिरहेका छौं ।

विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने शैक्षिक परामर्श क्षेत्रले कसरी दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याइ रहेको छ ?

प्लस टु गरेको विद्यार्थी कुन चाँही दक्ष जनशक्ति हो ? उसले त फाउण्डेशन खोजी रहेको हुन्छ । त्यो विद्यार्थीलाई उनीहरुको शैक्षिक, आर्थिक अवस्था हेरेर परामर्श दाताले बाटो देखाउने काम गर्दछ । हामीले भोलिको उज्वल भविष्यको सपना देखेका विद्यार्थीलाई सहि गोरेटो प्रदान गरिरहेका छौं ।

नेपालबाट जति विद्यार्थी विदेश गएका छन् तिनीहरुले प्राविधिक सिप सिकिरहेका छन् जुन, नेपाल जस्तो विकासोन्मुख देशका लागि अपरिहार्य छ । भोली त्यो विद्यार्थीले विदेशमा हासिल गरेको ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने वातावरण भयो भने त्यसले देश निर्माणमा ठूलो टेवा पुग्छ । अहिले हामीसँग दक्ष जनशक्ति नहुँदा विदेशबाट महंगोमा जनशक्ति ल्याउनु परिरहेको छ । त्यसलाई रोक्न पनि नेपाली युवाहरु उच्च शिक्षाका लागि विदेश जानु आवश्यक छ ।

पढ्न भनेर विदेशिएका युवाहरु उतै सेटल भएर मातृभूमीलाई विर्सिएको कुरा चै कहाँ गयो नी ?

हो, यो विषय राज्यको दायित्व हो । राज्यले स्वदेशमै गुणस्तरीय शिक्षा, रोजगारीको अवसर र सुरक्षित भविष्यको ग्यारेण्टी गरिदिएको भए लाखौं खर्चेर युवाहरु विदेश जानुपर्ने अवस्था आउँदैनथ्यो ।

विदेशिएका नेपालीलाई पनि स्वदेशमा फर्कने वातावरण त राज्यले बनाउनु पर्ने हैन ? खै लगानीको सुरक्षा ? खै रोजगारीका अवसर ? सरकारसँग त विदेशिएका नेपाली विद्यार्थी कुन देशमा कुन विषय अध्ययन गरिरहेका छन् त्यसको समेत रेकर्ड छैन । आफ्नो परिवार, बाबुआमाबाट विछोडिएर विदेशको संस्कार र संस्कृतिमा घूलमिल हुन कुनैपनि विद्यार्थीलाई रहर छैन ।

नेपालबाट गएका विद्यार्थीहरुले विदेशमा कस्तो प्रकारको दक्षता हासिल गर्न सक्छन् ?

यहाँबाट गएका जति विद्यार्थीहरु छन् उनीहरुले आइटी सेक्टरमा धेरै राम्रो गरिरहेका छन् । मल्टी नेशनल कम्पनीहरुमा विद्यार्थीहरुले धेरै प्रगती गरेका छन् । मेडिकल क्षेत्रमा पनि धेरै राम्रो गरेको पाईन्छ । ट्राभल्स एण्ड टुरिजम पढिरहेकाले राम्रो गरेका छन् । एउटै विषयमा भन्दा पनि विदेशको शिक्षा प्रयोगात्मक र प्राविधिक विषय हुने भएकोले सबै क्षेत्रमा राम्रो छ ।

नेपालमा कस्ता जनशक्ति आवश्यक छन् र, ती विदेशमा पढेका विद्यार्थीले पछी नेपाल आएर रोजगार पाउने अवसर छ की छैन ?

सरकारले विदेश अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरुलाई स्वदेश आउने वातावरण निर्माण गरे तिनीहरुले राष्ट्र निर्माणमा ठूलो टेवा दिन्छन् । र, विदेशमा जुनसुकै विषय अध्ययन गरेपनि स्वदेशमा आएपछि उ बेरोजगार बस्नुपर्ने अवस्था छैन । नेपाल अहिले विकासको पथमा बामे सर्दैगर्दा सबभन्दा पहिले सडक, पुल, भवन निर्माणमा ध्यान दिनुपर्छ । जति पनि सिभिल ईन्जिनियरिङ्ग पढ्न गएका विद्यार्थी छन् तिनलाई नेपालमा ल्याउने वातावरण सरकारले बनाउनु पर्छ । आइटी, म्यानेजमेण्ट, नर्सिङ्ग, इन्जिनियरिङ्ग, एभिएसन हरेक विषय नेपालका लागि आवश्यक छ ।

उच्च शिक्षाका लागि वर्षेनी हज्जारौं विद्यार्थी विदेशिँदा अरबौं नेपाली रुपैंया पनि विदेशिएको छ, त्यसको अनुपातमा कम रेमिट्यान्स भित्रनुको कारण के हो ?

एकदम महत्वपूर्ण प्रश्न हो, विदेशी मुलुकको नितीनियम अनुसार नेपालबाट जति पनि विद्यार्थीलाई पैसा पठाईन्छ त्यो बैंक मार्फत जान्छ । हुण्डीबाट, व्यक्तिको पकेट वा सुटकेसमा हालेर चोर बाटो अपनाएर जाँदैन ।

तर, उताबाट विद्यार्थीले पैसा नेपाल पठाउँदा चोर बाटो अर्थात हुण्डीबाट पैसा पठाउँछन् । कतिले त्यहिँ रहेका आफन्तलाई पैसा दिने अनी नेपालमा तिनका आफन्त मार्फत पैसा लिने गर्छन् । यती हुँदा पनि जति पैँसा बाहिर गएको छ त्यसको तीन गुणा पैसा नेपाल भित्रिएको छ । हुण्डीबाट पैसा आउने बाटो बन्द गर्ने हो भने अहिलेको १० गुणा पैसा नेपाल भित्रिन्छ ।

देशको आर्थिक अवस्था बलियो बनाउन सरकारले एउटा बलियो संयन्त्र र निती नियम बनाउन आवश्यक छ ।

शैक्षिक परामर्शमा व्यवसाय भन्दा धेरै छाता संगठन खुल्नु भएन । पदको लोभले संगठन फुटाउने, अर्को खोल्ने परिपाटी पनि दुर्भाग्य हो ।

शैक्षिक परामर्श क्षेत्रमा देखिएका विक्रिति कम गर्न राज्य र निजी क्षेत्रले के गर्नुपर्छ ?

कुनैपनि पेशा राम्रो नराम्रो हुनुमा व्यक्तिको बिचार र आचरणमा भर पर्छ । यहाँ १५–२० वर्षदेखि जिवन अर्पण गर्ने इमान्दार ब्यक्ति छन् र, गलत नियत राखेर काम गर्नेहरु पनि छन् । पत्रकारिता क्षेत्रमा पनि यो समस्या छ नी ! डाक्टरलाई भगवानको दोस्रो रुप भनिन्छ । तर, त्यहि भगवानले विरामीको पेटमा कैची, कपास छोडेको, गलत उपचार गरेको उदाहरण पनि छन !

हरेक क्षेत्रमा समस्या छ । त्यसलाई मर्यादित, जिम्मेवार बनाउने काम राज्यको हो ।

राज्यले कानुन मात्र बनाएर भएन, त्यसलाई इमान्दारपूर्वक पालना गराउनु पर्यो । सानो ठूलो सबै तहको व्यक्तिलाई सम्मान व्यवहार गर्नुपर्यो । शैक्षिक परामर्श क्षेत्रमा काम गर्नेले दुई/चार पैंसाको लोभमा नफसी ईमान्दार भएर सहि ढंगको परामर्श दिए यस्ता विकृती आफैं निवारण भएर जान्छन् । शैक्षिक परामर्शमा व्यवसाय भन्दा धेरै छाता संगठन खुल्नु भएन । पदको लोभले संगठन फुटाउने, अर्को खोल्ने परिपाटी पनि दुर्भाग्य हो ।

पछिल्लो समय क्याम्ब्रिजले के गरीरहेको छ ?

अहिले क्याब्रिजको नेपालमा काठमाडौंको बागबजारमा प्रमुख कार्यालय छ । शाखा कार्यालय नयाँ बानेश्वर, बनेपा पनि छ । ललितपुरमा पनि शाखा कार्यालयको व्यवस्थापनहरु भईरहेको छ । चितवन, पूर्वमा ईलाम, बिर्तामोड, दमक, ईटहरी, विराटनगर, धरान यी नेपालको प्रमुख सहरहरुबाट हामीले विद्यार्थी अभिभावकलाई दक्ष तथा मान्यता प्राप्त काउन्सलरबाट सेवा प्रदान गरिरहेका छौं ।

आगामी दिनहरुमा एउटा नेपालीले विदेशमा गएर पनि काम गर्न सक्छ भन्ने उदाहरण पेश गर्नका लागि अष्ट्रेलियाको सिड्नीको ससेक्स स्ट्रिटमा कार्यालय स्थापना गरेका छौं । केहि महिना पछी अष्ट्रेलियाको मेलवर्न, क्यावेरा, डार्विन, पर्थ, एडिलेडमा पनि शाखा बिस्तार गर्दैछौं । यसका अलावा क्याम्ब्रिजलाई विश्व बजारमा लाने उद्देश्यको साथ कलेजको रुपमा रुपान्तरण गर्ने विषयमा समेत गृहकार्य भइरहेको छ ।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…