‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ सार्वजनिक

काठमाडौँ / विमला तुम्खेवाको चौथो कविता सङ्ग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले आज आयोजित कार्यक्रममा सो कविता सङ्ग्रह लोकार्पण गर्नुभयो ।

सो अवसरमा कवि काइँलाले समाज र कविताको दूरी विस्तारै घट्दै गएको औँल्याउनुभयो । पहिले कविता भन्नासाथ जून, तारा, आकाशलगायत विषय समावेश भए पनि अहिले समाजका जल्दाबल्दा विषयमा कविता सिर्जना भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तुम्खेवाका यी सङ्ग्रहमा समाजमा नै विद्यमान उँचनीच, धनीगरीब, स्वदेश र विदेशमा बस्ने नेपालीका कुरा समेटिएका छन् ।”

साहित्यकार तोया गुरुङले तुम्खेवालाई अहिले आफूले खारिएको कविका रुपमा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई दशक पहिले भेट्दा कविता लेख्न सिक्दै गरेकी उहाँलाई अहिले परिपक्व कविका रुपमा पाएको छु ।” साहित्यकार आहुतिले समाजमा शोषणको अन्त्य नभएकाले त्यो साहित्यको विषय बनिरहेको उल्लेख गर्नुभयो । कवि तुम्खेवाले पहिले मायाप्रेमलगायत भावनात्मक कुरामा कविता लेख्ने गरेकामा पछिल्लो कृतिमा सामाजिक विषयको उठान गरेको उहाँले औँल्याउनुभयो ।

“मूलधार बाहिर रहेका जाति वा वर्गले जब म पछाडि परेको रहेछु भनेर लेख्छ त्यो कृति सुन्दर बन्छ”, उहाँले भन्नुभयो, “तर आफूले उठान गरेको विषयको समाधान खोज्ने जिम्मेवारी पनि कविको नै हो ।” कवि तुम्खेवाले यस कृतिमा आफूले कवि हुनुको जिम्मेवारी निर्वाह गर्न भरपूर प्रयास गरेको बताउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित