सशस्त्र संघर्षको तयारीमा विप्लव माओवादी !

माेरङ/ लामो समयदेखि एक जनाले सापटी लगेको पैसा फिर्ता नगरेको भन्दै सुनसरीको इटहरीका केही व्यक्ति प्रहरी कार्यालयमा पुगे । लेनदेनको विषय नहेर्ने भन्दै पन्छिएको प्रहरीले यस विषयमा अदालतमा मुद्दा हाल्न सकिने सुझायो । त्यसैबीचमा एक जनाले सुझाव दिए, ‘विप्लव माओवादी लाइदिउँ ।’ ‘विप्लव’ माओवादी लाइदिउँ भन्ने एउटा घटनाको उदाहरणका रुपमा यसैलाई लिन सकिन्छ । कानुनअनुसार काम नभएपछि पछिल्लो समय पूर्वमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई गुहार्ने चलन बढेको छ । पूर्वमा केही समय अघिसम्म यस्ता काम टोले दादा र गुण्डाहरुले गर्थे । त्यस्ता टोले दादालाई व्यापारीले चुपचाप नजराना बुझाउँथे । पछिल्लो समय प्रहरी आक्रामक बनेपछि अहिले दादा र गुण्डाहरु निस्किृय त बनेका छन् । तर कानुनअनुसार नहुने काम गर्ने र मुद्दा मामिला मिलाउने भूमिकामा ‘विप्लव’ माओवादी देखा परेको छ ।

‘विप्लव’को गतिविधि पछिल्लो समय आक्रामक बन्दै गएको केही घटनाले पुष्टि पनि गरेको छ । पश्चिम नेपालका स्थानीय तहमा दुई प्रतिशत चन्दा आतंक मच्चाएको ‘विप्लव’ले राजधानीका मुख्य ठाउँहरुमासमेत बम विष्फोट गराएर राज्य र व्यवसाय क्षेत्रलाई तर्साउन खोजेको छ । राजनैतिक विश्लेषकका अनुसार एनसेलले कर नतिरेकोले बम पड्काएको बताउँदै ‘विप्लव’ माओवादीले सर्वसाधारणको ‘सेन्टिमेन्ट क्यास’ गर्न खोजेको देखिन्छ ।

‘विप्लव’ माओवादीको कोसी ब्युरो सदस्य मोरङको बेलवारी नगरपालिका– १० घर भएका देवकुमार लिम्बू अत्याधुनिक हतियारसहित धरानको पानवारी क्षेत्रबाट केही समय अघि पक्राउ परे । उनको साथबाट नेपाली सेनाले प्रयोग गर्ने एलएमजी र एम १६ हतियार बरामद भएको छ । पूर्व माओवादी जनसेनाका कम्पनी कमाण्ड एवं पूर्व छापामार रहेका उनी अहिले ‘विप्लव’ माओवादीको राम्रै मोर्चा सम्हालेर बसिरहेको अनुसन्धानका क्रममा खुलेको एक प्रहरी अधिकारीले बताए । एम १६ हतियार नेपाली सेनाले मात्र प्रयोग गर्ने हतियार हो भने एलएमजी सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष कार्यदलले प्रयोग गर्छ ।

‘हतियारसहित पक्राउ परेका ‘विप्लव’का कार्यकर्तामाथि गम्भीर ढंगबाट अनुसन्धान अघि बढाइएको छ,’ प्रहरीका एक अनुसन्धान अघिकृतले भने ,‘एक ठाउँमा भएको हतियार स्थानान्तरण गरेर अर्को ठाउँमा संकलन गर्ने योजना रहेको खुलेको छ ।’ केही समय देखि धरान क्षेत्रमै राखिएको अत्याधुनिक हतियार बोकेर मोरङको बेलबारी नगरपालिकास्थित बाहुनीतर्फ लग्दै गरेका बेला लिम्बू पक्राउ परेको उनले बताए । प्रहरीका अनुसन्धान अधिकृतले लिम्बूबाट ‘विप्लव’ माओवादीको पछिल्लो गतिविधी र उनीहरुको रणनीतिका बारेमा धेरै कुरा खुल्दै गरेको बताउँदै भने, ‘राम्रै तयारीका साथ ‘विप्लव’ असामान्य ढंगबाट अघि बढेको पुष्टि हुन्छ । सरकारले प्रतिबन्ध लगाएपछि झन् आक्रामक भएको पाइयो ।’

नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले समेत लिम्बूबाट बरामद हतियार नेपाली सेनाकै भएको पुष्टि गरे । उक्त हतियार द्वन्दकालमा नेपाली सेनाबाट लुटिएको बताए पनि ढकालले कुन ठाउँबाट लुटिएको हो भन्ने बारेमा स्पष्ट हुन बाँकी रहेको जानकारी दिए । ‘सिंगो माओवादी शान्ती प्रक्रियामा गएर हतियार थन्काइसक्दा अहिलेसम्म नबुझाई लुकाइएका हतियारहरु यतिबेला ‘विप्लव’ माओवादीले एकत्रित गर्न लागेको पुष्टि हुन्छ,’ स्रोतले भन्यो, ‘ शान्ती प्रक्रियासँग असन्तुष्ट केही माओवादी नेता तथा कार्यकर्ताहरुले भविष्यको लागि हतियार लुकाएर राखेको देखिन्छ ।’

विप्लवका अवैध गतिविधीमा प्रतिबन्ध लगाउँदै सरकारले हतियार बुझाउन अल्टिमेटम समेत दिइसकेको छ । नेपाल र सशस्त्र प्रहरीले ठाउँठाउँमा सर्च अभियान पनि सञ्चालन गरेका छन् ।

स्थानीय जनतामाझ ‘विप्लव’ समूहले बनाउँदै गरेको छवी अनि सरकारको लामो अलमलका बीचमा माओवादीले आफूलाई चाहिने पैसादेखि हतियारसम्मको जोहो गरिरहेको बुझाई सुरक्षा अधिकारीको छ । युद्धका लागि आवश्यक चन्दा संकलनलाई ‘विप्लव’ माओवादीले यस अघि तीब्र बनाएको सुरक्षा स्रोतको दावी छ । विभिन्न घटनाक्रमले ‘विप्लव’ माओवादी अर्को युद्धको तयारीमा जुटेको पुष्टि गर्ने एक सुरक्षा अधिकारीले बताए । हतियारसहित अर्थभूमिगत रुपमा सरकार विरोधी गतिविधिमा ‘विप्लव’का कार्यकर्ताहरु सक्रिय रहेको सूचना पहिल्यै सुरक्षा निकायलाई प्राप्त भइसकेको छ ।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी केदार रिजाल सबै किसिमका उसृङखल गतिविधीमाथि निगरानी बढाइएको बताउँछन् । ‘ ‘विप्लव’ को पछिल्लो गतिविधी र उनीहरुको तयारीका बारेमा सबैतिरबाट सूचना संकलन गरिरहेका छौं । त्यही हिसावमा प्रहरी परिचालन गरेर अनुसन्धान पनि गरिरहेका छौं,’ रिजालले भने, ‘शान्ति सुरक्षाका लागि असर पु¥याउने खालका केही गतिविधी भइरहेको देखिन्छ । अनुसन्धानका क्रममा रहेका कारण उनीहरुका बारेमा प्राप्त सबै सूचना सार्वजनिक गर्न मिल्दैन ।’ उनले त्यस्ता कुनै गतिविधी हुन सक्ने सम्भावित ठाउँलाई भने उच्च निगरानीमा राखिएको र विप्लवका नेता कार्यकर्ताको खोजीमा प्रहरी परिचालन गरिसकिएको बताए । विभिन्न घटनाक्रम पछि ‘विप्लव’ का धेरै नेता कार्यकर्ता अर्धभूमिगत अवस्थामा रहेको र उनीहरुको खोजी तीब्र पारिएको सुरक्षा स्रोतको भनाइ छ ।

‘सैन्य क्रान्ति नजिक’

घटनाक्रमले मात्र होइन, ‘विप्लव’ माओवादीका स्थानीय नेता, कार्यकर्ताहरुले समेत सशस्त्र युद्धको तयारीमा रहेको स्वीकार गरेका छन् । पार्टीका झापा जिल्ला सचिव सुमनसिंह पौडेलका अनुसार अब क्रान्ति नजिक रहेको निष्कर्षमा संगठन पुगेको छ । ‘युवाहरुले आफूलाई सैन्यकृत गरेर उभ्याउनु पर्ने स्थिती आएको छ,’ उनले भने, ‘त्यसको निम्ति तयार रहन आब्हान गर्छौं ।’ उनका अनुसार ‘विप्लव’ माओवादीले पूर्वका स्थानीय तहमा भएको भ्रष्टाचारको भण्डाफोर गरेर विद्रोह थाल्ने तयारी गरेको छ । सो क्रममा भ्रष्ट जनप्रतिनिधिहरु, लागुऔषध दुब्र्यसन र यौन व्यवसायलाई बढावा दिने व्यक्तिहरु, मेनपावर व्यवसायीहरु समेत आफ्नो निशानामा रहेको उनले जनाएका छन् ।

राज्यको गैरजिम्मेवारीपनका कारण युवाहरुको हालत तहसनहस भएको बताउँदै ती युवाहरुलाई क्रान्तिमा सहभागि गराउन आफूहरु लागिपरेको उनले खुलाए । उनले विभिन्न माग राखेर आन्दोलन चलिरहँदा माग पूरा गर्नको साटो प्रतिबन्ध लगाएर सरकार आक्रामक रुपमा अघि बढेका कारण त्यसको जवाफ दिन पनि सशस्त्र संघर्ष सुरु गर्ने निस्कर्षमा पार्टी पुगिसकेको जानकारी दिए ।

माओवादीको युवा संगठन मेची अञ्चल संयोजक निमाले योजना अनुसार शसक्त भएर लाग्न आफूहरुलाई निर्देशन भइसकेको बताएका छन् । उनका अनुसार केहीदिन अघि मात्र पार्टीअन्तर्गतको युवा संगठन नेपालको तेस्रो जिल्ला सम्मेलन र प्रथम बैठक समेत गरिएको थियो । बैठकको निर्णय खुलाउन नचाहेका उनले भने, ‘हामीलाई सशक्त भएर लाग्न भनिएको छ । त्यसका लागि तयारीमा जुटेका छौं । अहिलेलाई यति भनौं ।’

निमाका अनुसार प्रहरीप्रति आक्रामक हुने नीति लिइएको छ । दमन नगर्न प्रहरीलाई सचेत गराएको र जवरजस्ती गरे आफूहरु पनि प्रतिकारको तयारीमा रहेको उनले बताए । प्रहरीले ‘विप्लव’ माओवादीलाई धरपकड गर्ने र परिवारलाई पनि थाहा नदिइ थुनेर राख्ने गरेको उनको आरोप छ । यो विषयमा विप्लव माओवादी मानवाधिकारको वकालत गर्ने विभिन्न संघसंस्थामासमेत पुगिसकेका छन् ।

‘हामी राज्यका विकृति विरुद्ध राजनैतिक माग लिएर उभिएका छौं,’ निमाले भने, ‘त्यहींमाथि दमन गरिन्छ भने त्यसको जवाफ सही तरिकाले दिन तयारी अवस्थामा छौं ।’ उनले विक्रीति र विसंगतिका विरुद्ध युद्ध गर्नकै लागि आफूहरु मोर्चाबन्दीमा रहेको जनाए ।

अन्योलमा सरकार

यता माओवादीको यस्तो तयारीका बीच सरकार भने लामै समय मुकदर्शक बनेर बसेको आरोप पनि लाग्यो । पछिल्लो समय सरकारले विप्लवमाथि प्रतिबन्ध पनि लगायो । सरकारी प्रतिबन्धले झन् अवस्था खतरापूर्ण बनाएर लगेको विश्लेषकहरुको बुझाई छ । विराटनगरमा दुई दिन अघि मात्रै आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूह लुटेरा र कहीं पनि दर्ता नभएको अनाकृति समूह भएको बताएका थिए । उनले तत्काल सरकारलाई हतियार बुझाउन चेतनावी दिंदै हतियार नबुझाए सरकार आफैले नियन्त्रणमा लिने पनि बताए । प्रधानमन्त्री ओलीको यो कुराले विप्लवप्रति सरकार कडा रुपमा प्रस्तुत भइरहेको छ भन्ने प्रष्ट पारेको छ ।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा राजनैतिक विश्लेषक पदम अधिकारी सरकारको सुरुको अन्योलतालाई लिएर ‘विप्लव’ माओवादीले राम्रै तयारी गरेको बताउँछन् । ‘सुरुमा हामीले बम पड्कायौं र मान्छे मा¥यौं भन्दा सरकार चुप लाग्यो । अहिले आएर उसका गतिविधीमा प्रतिबन्ध लगायो,’ अधिकारीले भने, ‘प्रतिबन्ध सबै कुराको समाधान हैन । वार्तामा बोलाएर समस्याको समाधान निकाल्न सकेको भए राम्रो हुने थियो ।’ उनले सरकार विप्लव र विप्लव सरकारप्रति आक्रामक हुँदै जाने हो भने मुलुकमा अर्के संकट निम्तन सक्ने खतरा रहेको अधिकारीको भनाइ छ ।

राजनीतिक माग बोकेकोले अपराधीसरह व्यवहार गर्न राज्यले नमिल्ने उनको तर्क छ । हुन त ‘विप्लव’ समूहले राखेका मागहरु जायज होइनन् र ति पूरा पनि हुँदैनन् भनेर विश्लेषकहरुले विश्लेषण गरिरहेका छन् । तर त्यसो भन्दैमा उसलाई केही होइन भनेर कम आँक्न नहुनेसमेत विश्लेषकहरुको ठहर छ । लामो समय लिम्बूवानी राजनीति गरेका अधिकारी भन्छन्, ‘उतिबेला माओवादीलाई पनि केही होइन भनिन्थ्यो । अहिले ‘विप्लव’ माओवादीलाई पनि सानो सम्झनु हुन्न । यसले भोलीका दिनमा संकट ननिम्त्याउला भन्न सकिंदैन ।’

शक्तिशाली होइन, तर दुःख दिने समूह

सशस्त्र तथा भूमीगत समूहहरुसँग बार्ता गर्नका लागि सरकारले केही समयअघि एउटा वार्ता समिति बनाएको थियो । उक्त समितिले २९ वटा समूह अस्तित्वमा रहेको निक्र्यौल निकालेर वार्ता गरेको थियो । राज्य विरुद्धको अभियान मुलुक टुक्राउने हिसावमा अघि बढिरहेको भन्दै सिके राउत समूहसँग बार्ता नगर्ने निस्कर्षमा समिति पुग्यो ।

बार्तामा एउटै मात्र समूह आएन, त्यो हो ‘विप्लव’ माओवादी । त्यतिमै टोलीले नेपालमा सशस्त्र द्वन्द सकियो भनेर घोषणा गर्दै सरकारलाई प्रतिवेदन बुझायो । तर त्यसरी घोषणा गरेको तीन महिना नबित्दै राजधानीमा श्रृंखलाबद्ध बम विष्फोटमा परी एक जनाको ज्यान नै गयो ।

सरकारले गठन गरेको राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेका अनुसार वार्ता गर्न खोजेपनि नेत्र विक्रम चन्द ‘विप्लव’ ले कुनै चासो देखाएनन् । भेट्न नचाहेको र कुनै औपचारिक बार्ता टोली पनि नबनाएको उनले बताए । ‘विप्लव’ समूह हतियारबाट शासन सत्ता कब्जा गर्ने भ्रममा रहेको र वार्तामा नआएर गल्ती गरेको पाण्डेको भनाइ छ । ‘१० वर्षको जनयुद्ध पनि अन्ततः बार्ताबाटै टुंगोमा पुग्यो,’ उनले भने, ‘हतियार चलाएर अब युद्ध जितिँदैन । तर उहाँहरुले यो कुरा स्वीकार गर्नुभएको छैन ।’

विश्लेषकहरु ‘विप्लव’ माओवादी शक्तिशाली त नहुने तर सरकारको टाउको दुःखाइ बनिरहने बताउँछन् । नेकपाका तर्फबाट पूर्व सांसद तथा कानुनविद् रेवतीरमण भण्डारी भन्छन्, ‘केही बेरोजगार युवाहरुको समूह र माओवादीबाट असन्तुष्ट समूह त्यहाँ समाहित हुन्छ र गतिविधि गरिरहन्छ ।’

तर ‘विप्लव’को विषयमा स्पष्ट भएर सरकारले प्रतिबन्ध फुकुवा गर्दै वार्तामा बोलाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘वार्तामा आएर समझदारी बन्दैन भने सोच्नु पर्ने हुन सक्छ ।’ अधिकारीका अनुसार जनचासोका मुद्धा उठाएर ‘विप्लव’ले ‘सेन्टिमेन्ट’ क्यास गर्न खोजिरहेको छ । जसमा विदेश पनि जान नसकेका बेरोजगार युवाहरु लहैलहैमा लाग्नसक्ने सम्भावना छ । ‘माओवादी शान्ति प्रक्रियामा आउँदा अयोग्य घोषित गरिएपछि क्रुद्ध बनेका पूर्व जनमुक्ती सेनाहरु पनि ‘विप्लव’मा छन्,’ उनी भन्छन्, ‘औद्योगिकरण नहुँदा साउदीको भीसासमेत नलाग्नेहरुले बन्दुक बोक्दैछन् ।’

स्वतन्त्र टिप्पणीकार मोहन तिम्सिना पनि केही बेरोजगार युवाहरु त्यसमा लाग्न सक्ने बताउँछन् । राजनीतिलाई आवरण मात्र बनाएर माओवादीले आपराधिक गतिविधिलाई जोड दिएको उनको आरोप छ ।

‘सरकारकै कारण विप्लव बढ्दैछ’

सरकारकै असक्षमताका कारण विप्लव माओवादीको शक्ति बढिरहेको विश्लेषण गरिएको छ । सत्तारुढसँगै विभिन्न पार्टीमा सक्रिय विश्लेषकहरुले यस्तो टिप्पणी गरेका छन् । अधिकारीका अनुसार जनताका समस्या र चासोका विषयमा समयमै सरकारले सही निर्णय लिन नसक्दा कम्युनिष्ट संगठनले त्यसैलाई विषय बनाउने गर्छन् । उदाहरण दिँदै उनले एनसेलबाट ७२ अर्ब उठाउन सरकारले नलाग्दा ‘विप्लव’ले त्यो मुद्धा बोकेर बम विष्फोट गराएको बताए । ‘यसरी हेर्दा ‘विप्लव’ सही हो कि भन्ने लाग्छ र एक हुल मानिस त्यता जान्छन्,’ उनी भन्छन् ।

संविधान निर्माणका क्रममा छुटेका साना–साना विषयहरुमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ । मुख्यतः भ्रष्टाचारको अन्त्य गर्न बाँकी नै रहेको बताउँदै अधिकारी भन्छन्, ‘सरकारले यी कामहरुमा ध्यान दिने हो भने ‘विप्लव’का मुद्धा आफै फितला हुन्छन् ।’ भण्डारीसमेत देशको भ्रष्टाचार र बेथितीबाट उत्पन्न असन्तुष्टीले अर्को शक्ति उत्पन्न हुन सक्ने बताउँछन् । नेपालमा नेताहरु नै भ्रष्ट र भ्रष्टहरु नै नेता भएको बताउँदै उनी भन्छन्, ‘सुशासन कमजोर छ । शासकीय प्रक्रियामा सुधार भएको छैन । विद्रोह गर्न चाहनेले खेल्ने ठाउँ यही हो ।’

स्वतन्त्र विश्लेषक तिम्सिनाले पनि सुशासन र जवाफदेहिताको अभावमा विप्लव उदाएको र कतिपय युवाहरु रोजगार र कमाउ धन्दाको लागिसमेत एकत्रित भएको बताए । ‘हुन त राजनीतिक दलहरु पनि पावर देखाएर कमाउँछन्,’ राजनीतिक दल र विप्लवको चरित्र एउटै भएको बताउँदै उनी भन्छन्, ‘विप्लव माओवादीहरु तर्साएर कमाउँछन् । तर पैसा उठाउने तिनै तस्कर, कालोबजारी, भ्रष्टाचारीसँगै हो ।’ उनका अनुसार यी संस्कार राजनीतिक दलहरुले नै सिकाएका हुन् ।

धरानमा ‘विप्लव’का जिम्मेवार कार्यकर्ता खुलेआम हतियार बोकेर हिंड्दै गर्दा पक्राउ परे । खुल्लेआम रुपमा हतियार बोकेर हिंड्न थालेका कारण सशस्त्र गतिविधिको तयारी ‘विप्लव’ले गरेको हुन सक्नेमा सुरक्षा अधिकारी सहमत छन् । एक सुरक्षा अधिकारीले ‘विप्लव’का कार्यकर्ताहरु हतियारसहित अर्थभूमिगत रुपमा सरकार विरोधी गतिविधिमा संलग्न भएको पाइएको बताए ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले कुनै पनि घटनामा संलग्न ‘विप्लव’ का नेता कार्यकर्तालाई अपराधका आधारमा कारवाही अघि बढाउने गरिएको बताए । ‘जुन खाले अपराधमा संलग्न हुन्छन् त्यही अनुसार पक्राउ गरेर कानुनको दायरामा ल्याउने गरिएको छ,’ उनले भने, ‘कुनै पार्टी वा संस्थाका नाममा अपराध गर्न पाइँदैन । अहिले विप्लवका कार्यकर्तामाथि प्रहरीले निगरानी पनि बढाएको छ ।’ गृह मन्त्रालयका सहसचिव एवं गृह प्रवक्ता रामकृष्ण सुवेदीले विप्लवमाथि सरकारले प्रतिबन्ध नै लगाइसकेको बताउँछन् । सरकारी योजना अनुसार नै ‘विप्लव’का विभिन्न गतिविधी र अपराधिक घटनालाई नियन्त्रण गर्दै लगिने उनको भनाइ छ । त्यस बाहेक अन्य कुनै त्यस्तो ‘स्पेशल’ निर्णय नभएको र वार्ताको तयारी समेत नरहेको अधिकारीले स्पष्ट पारे ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित