सन्दर्भ लुट कान्छा लुट गीतको

हाल नेपालमा भाइरल लुट कान्छा लुट गीत गाउने पशुपती शर्मालाई मैले लोक गायकको रूपमा भन्दा बढ्ता ओमकुमारी दिदीले जत्ति नै मजले चिनेको पनि छैन । मलाई उनको पृष्ठभूमि जान्नु पनि छैन । उनले लोक गायनमा करियर बनाउन भोगेका संघर्ष जान्नु पनि छैन, न त जान्नु नै छ उनले यो गीत गाउनुको भित्री रहस्य नै । म यत्ति जान्दछु उनले जतिपनि गीत गाए, उनका गीत सर्बत्र नेपाली बजारमा रुचाइए । उनी एक उचाईमा पुगेका सर्जक हुन् । उनका हरेक शब्द हरेक व्यक्तिले सुन्छ, मनन् गर्छ । उनका गीतले नेपाली जनजीब्रोको बोली जस्ताको तस्तै बोलेको हुन्छ । उनका हरेक गीत एक किसिमले तहल्का नै मच्चाए र पछिल्लो गीत ले त झन सङगीतको बजारमा मात्रै होइन राजनैतिक क्षेत्रमा पनि तहल्कै मच्चायो ।

अचम्म त यो छ कि निर्मला बलत्कार हत्या काण्ड, सुन काण्ड, वाइडबडी काण्ड जस्ता गनिनसक्नु काण्ड गुमसुम बनाइने देशमा नेताहरूको चारीत्रिक हत्या गरेको आरोपमा एउटा गायकले आफ्ना अभिव्यक्तिलाई कलामार्फत बाहिर ल्याउदा गीत नै हटाउनु पर्ने परिस्थिति आयो । यो गीतमा राजनैति व्यक्तित्व मात्रै यसको पक्ष र विपक्षमा बोलेका छैनन्, विभिन्न विज्ञहरूले आफ्ना तर्कहरू राखेका छन् । यो गीतलाई सरकारमा भएकाहरूले घोर निन्दा गरेका छन् भने सरकार बाहिर बसेकाहरूले पूर्ण सहमति जनाएका छन् । तर सत्य त यो हो कि यस गीतले जनताको आवाज बोलेको छ ।

कतिपय विज्ञहरूले यस गीतले देशको इमेज खराव हुने व्याख्या गरेका छन्, यसमा यमराज, कुकुर जस्ता शब्दले प्रतिष्ठित व्यक्तिको मानमा हानी पुगेको कुरालाई मुद्धाका रूपमा उठाएका छन् । म यस देशको स्वतन्त्र नागरिकको हैसियतले एउटा प्रश्न ती विज्ञहरूलाई सोध्न चाहान्छु – गणतान्त्रिक मुलुकमा जव जनताहरू कुकुरको स्तरबाट पनि गिरेर न्याय खोजिरहदा किन उनीहरूको आवाज दबाइन्छ ? के जनताको कुनै मान हुदैन ? स्थायी सरकारले संवृद्धी ल्याउने र भ्रष्टचारको अन्त्य गराउने चुनाबी प्रतिबद्धत्ता पत्रमा समावेश गराउदा अपराध झन बढ्नु, भ्रष्टचार झन मौलाउनु र बलत्कारका घटना झन बढेर जानु ले के जनताले दिएका भोटका धज्जी उडेको छैन ? यस्ता कुरामा किन वकालत गर्दैनन् ती विज्ञहरू जो शब्दमा मान खोज्दै हिड्छन् ? जनताको आशामाथि पानि खन्याउने, आफुलाई मर्यादित ठान्ने ती संस्थालाई घटिरहेका घटना जस्ताको तस्तै अभिव्यक्त गर्दा कसरी हुन्छ मान हानी ? के जनताले चाहिँ गणतन्त्रमा पनि पञ्चायत शासनको भन्दा बढी ज्यादती सहनुपर्ने ? माथी वस्नेले जे गरेपनि चुप रहदा चाहिँ मुलुकको प्रतिष्ठा बढ्ने ?

कतिपयको राय यो पनि छ, काङ्ग्रेसको पालामा चाहिँ चुप लागेर बस्ने अनि अहिले चाहि यस्तो गीत गाउदै जनतालाई उचाल्ने ? वाइडबडी प्रकरणमा काङग्रेस पनि छ, किन उसलाई केही नभनेको ? मेरो प्रशन वहाहरूलाई – अन्य पाटिले जे ग¥यो त्यही गर्नका लागि पक्कैपनि भोट दिएर पाँचवर्षे स्थायी सरकार जनताले चुनेका त हैनन् होला ? जनताले त्यहि प्रक्रिया नदोहोरियोस भनेर नै भोट दिएका होलान् । जनताको आशालाई विश्वासमा परिणत गर्ने कि दोषारोपण गर्दै समय व्यततीत गर्ने ?

यदी काङ्ग्रेस नै वाइडबडी प्रकरणमा संलग्न छ भने किन सरकारले सरकारमा बसेर पनि कारबाही गर्न सक्दैन ? के अहिलेको सरकारमा भ्रष्टचार गर्नेलाई सजाय दिन सक्ने सामथ्र्य नै छैन ? या यस्ता विषयलाई भित्रभित्रै दबाउन चाहान्छ ? चाहान्छ भने किन चाहान्छ ? त्यस्तै अर्काथरी विद्वानको जमातले भन्छ ःराष्ट्रपतिले डेढ अर्वको हेलिकप्टर चढ्छिन् नै भनेपनि त्यो देशको सम्पत्ति हो उनले निजी बनाउन मिल्दैन देशकै सम्पत्तिमा गनिन्छ । राष्ट्रपति संस्थालाई वद्नाम गराउने उद्देश्यले शर्माले गीत गाएका छन् ।

हो यो सत्य हो त्यो देशको सम्पत्ति हो, राष्ट्रपतिको निजी हेलिकप्टर होइन । तर जुन देशमा जनता भोकमारीको समस्याबाट माथि उठ्न सकेका छैनन्, जुन देशमा बालबालिका कुपोषणको कारणले ज्यान गुमाइरहेका छन्, त्यसै देशका राष्ट्रपतिलाई १८ करोडको गाडि चढ्नुपर्ने ? डेढ अर्वको हेलिकप्टर चाहिने ? उनको निजी सम्पत्ति हुँदा जनतालाई आपत्ति हुन्नथ्यो तर त्यो त जनताले आफु भोकै बसेर कर तिरेको पैसा होइन र ? अनि जनतालाई यस विषयमा चासो हुनु के ब्यर्थको कुरा हो र ?

अर्का विद्वान भन्छन् ः कलाकारले आदर्श विर्सन हुदैन । समय परिवर्तन भएपनि यस्ता गीत रहिरहन्छ जसले समाजमा नकारात्मकता फैलाइरहन्छन् । के हरेक मर्यादा कलाकार र जनताका लागि मात्रै लागु हुन्छन् ? के उच्च पदमा आसन्न मार्यादित वहाहरूले लिनुभएको सपथले कुनै अर्थ राख्दैनन् ? वहाहरूले किन एक वर्ष बितिसक्दा पनि देशमा सकारात्मक सन्देश फैलाउन सक्नुभएन ? को छ वहाहरूलाई रोक्ने ? कतिपयले पशुपति शर्मामा द्रब्यमोह चर्काे भएको र आफ्ना गीत हिट बनाउन यो गीत गाएको तर्क गर्नुभएको छ । गीत सङ्गीत आरधनाको विषय हो, यसलाई हलुका बनाउनु हुदैन भन्ने भनाइ पनि छ ।

यदि शर्मा द्रब्यमोहमै फसेर यो गीत गाएका हुन् भने उनले किन मै पनि एमाले सहि पनि एमाले जस्ता चुनावी गीत गाएनन् ? सङ्गीत आरधनाको विषय हो भने राजनीति के फोहोरी खेल नै हो त ?के राजनीतिमा जे गरेपनि छुट हुन्छ ? यो त्यत्ति हलुका विषयवस्तु हो ? युवासंघका नेता रमेश पौडेलले भ्रष्टचारी र कुकुर भनी आफैलाई सम्बोधन गरेको भनी आफैले मनन् गर्नु र गीतको बिरोध गरी सबैलाई गीतको अवज्ञा गर्न लगाउनुले के जनाउछ भने चोरलाई खुट्टा झिक भन्दा आफै झिकेको भनाई झै सावित भएको देखिन्छ ।

पौडेलले प्रायोजित व्यक्तिहरूले सरकारलाई असफल पार्नकै लागि यो गीतको पछाडि लागेर उफ्रिएको भन्नुभएको छ । हुन सक्छ केहि यस्ता तत्वहरू हुँदा हुन् जो मौका पर्खेर बसेका हुन् सरकार विरुद्ध बोल्न, तर यो झुण्ड स्वार्थको भावनाले ग्रस्त भएर समर्थन गर्नेको ओइरो होइन, स्थायी सरकार बनेपछि पनि देशको समस्या ज्यँु का त्युँ रहेका जनताको आक्रोसको झुण्ड हो भन्ने कुरा सरकारले मनन् गर्नु जरुरी छ ।

सरकारको बिरोध भएर पनि जनताको मुखमुखमा यही गीत घन्किनु, सामाजिक सञ्जाल भरी यसैले प्राथमिकता पाउनु र सरकारले गलत ठह¥याए पनि जनताले पशुपति शर्मालाई सही मान्नुले जनताको मनोभावना सरकारप्रतिको असन्तुष्टि आफै झल्किएको छ । शर्माले सङ्गीतको माध्यमबाट बर्तमान समयको समस्यालाई जस्ताको तस्तै प्रस्तुत गरेका छन् । अझ भनौ जनबोलीलाई प्राथमिकता दिएर ब्यङ्ग्यात्मक रूपमा देशको परिस्थिति र बिकृतिलाई चिरफार गरेका छन् ।

सरकारले गीतमा प्रतिबन्ध होइन आफ्नो असक्षमतालाई स्वीकारेर अबका आउने दिनहरूमा सहि बाटो पक्डन सक्नुपर्छ नत्र यस्तो दिन नआउला भन्न सकिदैन कि हरेक जनताले आफ्नो भोटको दुरपयोगको बदला नलिउन् । त्यसैले सरकार गीतलाई दोष लागाउनु भन्दा आफ्नो ब्यवहार परिवर्तन गर । जनताको आशालाई तुहिन नदेउ । अन्त्यमा देशमा भएका बिकृति बिसङ्गतीमाथी न की कलाकारलाई मात्रै जुनै व्यक्तिलाई पनि बोल्ने अधिकार हुन्छ । र आफुले देखेका विसङ्गती प्रति आवाज उठाउनु कलाकारको अधिकार मात्रै होइन कर्तव्य पनि हो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित